माछापुच्छ्रेमुनि मर्दी हिमाल:रमाईलो पदयात्रा

सन् २०१२ बाट औपचारिक रूपमा शुरू भएको मर्दी हिमालको आधार शिविरसम्मको पदयात्रा पछिल्ला वर्षमा छोटो पदयात्रा गर्न खोज्नेमाझ निकै चर्चित बनेको छ। आफ्नो प्राकृतिक सुन्दरता र लोभलाग्दो मनमोहकताका कारण  वाहवाही बटुल्न सफल पदमार्ग हो-मार्दी हिमाल । यहाँबाट हिउँले सजिएको हिमालका दृश्यहरु निकै मनमोहक देख्न सकिन्छ । पर्यटकीय नगरी पोखराबाट यात्रा गरेको दुई दिनमै पुगिने मर्दी पदमार्ग छोटो दूरीको यात्रा गर्न खोज्नेहरूका लागि सही छनोट हुनसक्छ।

चैत वैशाखमा लालीगुराँसले ढपक्कै हुने यो भेगमा विभिन्न नौ रङ्गका गुराँस फुल्ने स्थानीय होटल व्यवसायीहरू बताउँछन्। पदयात्रा शुरू गरिने ठाउँदेखि नै यो मार्गमा वसन्त ऋतुमा गुराँसलगायत विभिन्न थरीका फूलहरू फूलेको देख्न पाइन्छ। ढकमक्क फुलेका फूलको सौन्दर्य र चराचुरूङ्गीको कलरवले वातारण अति मोदक हुन्छ। यात्रा शुरू गर्दा खासगरी यो समयमा पहिला गुलाबी गुराँस देखिए पनि उकालो चढ्दै जाँदा गाढा रङ्गको लालीगुराँस पाइन्छ।

अचेल यस पदमार्गमा भ्रमण गर्न जाने आन्तरिक तथा वाह्य पर्यटकको संख्या बढ्दो क्रममा छ । कास्कीको मााछापुच्छ्रे गाउपालिका ९ मा रहेको मर्दी हिमाल सबैका लागि सहज हिमाली संसार हो । यो ट्रेकिङ रुटबाट अन्नपूर्ण , धौलागिरी, माछापुच्छ्रे, मनास्लु लगायत हिमाल देखिन्छन् । यहाँको बास्तविक मज्जा भनेको नजिकै हिमालसँग मित लगाउन पाईन्छ । सजिलै सेतो हिउँलाई चुम्न पाईन्छ । यात्राको क्रममा देखिने हिमाली तथा पहाडी दृश्यहरुले सबैको मन खिच्छ । साथै, हरियाली जंगल तथा सुन्दर स्थानीय बस्तीहरु समेत अवलोकन गर्न पाइन्छ ।

यो  छोटो एवम् स्वीट ट्रेकिङ रुट हो । कास्कीको काँडेबाट यो ट्रेकिङ रुट सुरु हुन्छ । काँडेबाट अष्ट्रेलियन क्याम्प, पोथाना हुँदै पितम देउराली पुगिन्छ र त्यसपछि फरेष्ट क्याम्प । फरेष्ट क्याम्पबाट लो क्याम्पतर्फ लागिन्छ। बतासे डाँडा हुँदै त्यसैदिन हाइक्याम्प पुगिन्छ । ४५,०० मिटरमा रहेको मर्दी आधार शिविरमा पुग्न यो मौसममा कठिन हुने हुँदा अनुभवी यात्रुबाहेक अरूलाई ४२,०० मिटरमा रहेको भ्यूपोइन्ट अथवा हाईपोइन्ट (३५५० मिटर) सम्मको यात्रा उपयुक्त हुन्छ।

साँघुरो र भिरालो बाटो हुँदै मर्दी आधार शिविरसम्म पुग्न बाटो निकै अप्ठेरो र गाह्रो भए पनि त्यहाँ पुगेपछि आँखैअगाडि ठोक्किन आइपुग्ने हिमालहरूले भने थकाइ मेटाइदिन्छन्। यात्रामा निस्किएको तेस्रो बिहान नै हिमालनजिकै पुग्न चाहने यात्रुका लागि यो पदयात्रा एउटा ‘सचेत छनोट’ हुनसक्छ। कास्कीको धम्पुस वा काँडे हुँदै यो यात्रा गर्नेहरूका लागि फर्कँदा भने कास्कीको अन्तिम गाउँका रूपमा चिनिने सिदिङबाट पदयात्रा टुङ्ग्याउँदा छोटो र सहज हुन्छ। सिदिङबाट दुई घन्टामा जीपले पोखरा पुर्‍याइदिन्छ।

देश नघुमी देश बुझिन्न। देश घुम्दा आन्तरिक पर्यटन पनि बढ्छ। अझ प्रकृतिको नजिक जाने हो भने त तन, मन र शरीर पनि ‘रिचार्ज’ हुन्छ।माछापुच्छ्रे सामु रहिरहने यो पदयात्रालाई किन मर्दी हिमाल ट्रेक भनिँदाे रहेछ भन्ने कुराकाे रोचक तथ्य माछापुच्छ्रे हिमालको फेदमा पुगेपछि बल्ल थाहा पाइन्छ–पोखराबाट देखिने माछापुच्छ्रे हिमाल त खासमा दुई भिन्न हिमाल रहेछ। नजिक पुगेपछि थाहा हुन्छ–माछापुच्छ्रेको ठीक अगाडि मार्दी हिमाल पनि रहेछ। टाढाबाट हेर्दा मर्दी हिमाल देखिन्न, माछापुच्छ्रे मात्र देखिन्छ। विशेष गरी नेपाली यात्रुका लागि यो प्रकृतिसँग नजिक हुँदै घुमघाम गर्ने मनै रमाउने सुरूवात हुनसक्छ।

मर्दीलाई हेर्दा सजिलो तर बेमौसममा अत्यन्तै जोखिमपूर्ण पदयात्रा पनि मानिन्छ। तर, उपयुक्त समय छान्ने हो भने र केही अनुशासन पालना गर्ने हो भने मार्दी पारिवारिक पदयात्राका लागि पनि उपयुक्त हुनसक्छ। हिउँ परेको बेला र वर्षा यामबाहेक वसन्त र शरदमा यो बालबच्चाका लागि पनि उपयुक्त हुनसक्छ।  यस यात्रामा  एक नेपाली यात्रुले दैनिक दुई हजार रूपैयाँ आवास, बिहानको खाजा, दिउँसो र  रातिको खाना खर्च जोहो गरे राम्ररी पुग्न सक्छ।

पहिलो दिनःकाठमाडौं देखि पोखराहुँदै काँडेबाट हिँडेर पोथानासम्म 

मर्दी जान काठमाडौबाट बिहान सात बजे नयॉ बसपार्क अथबा कलंकीबाट पोखरा , बेनी र बाग्लुंग जाने बस चढ्नु पर्छ । पोखराको बस चढियो भने पृथ्वीचोकबाटअर्को  बस चढेर काँडे पुग्नुपर्छ । बेनी बाग्लुंगको बस चढियो भने सिधै काँडे झर्नु पर्छ । बाग्लुङ  बेनी जाने बाटोमा पर्ने काँडे पुग्न  काठमाडौबाट ८ घन्टा लाग्छ भने पोखराबाट १ घन्टा । कॉडेबाट पैदल यात्रा सुरु हुन्छ ।

काँडेदेखि  बिस्तारै अस्ट्रेलियन क्याम्प रहेको पहाडतर्फ उकालो हिड्नुपर्छ।  उकालो जाँदै गर्दा, फेवा ताल र ‘लेकसाइड’ देखिन्छ। पोखरा क्षेत्रका हिमाल र ताल हाम्रो कति नजिक छन् भन्ने यहाँ अनुभव हुन्छ । करिब डेढ घण्टा हिँडेपछि अष्ट्रेलियन क्याम्प पुगिन्छ। त्यहाँ जंगलको बीचमा चार-पाँचवटा सुन्दर लजहरू भेटिन्छ । त्यहाँबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्य मज्जाले देखिन्छ ।

पोखराबाट एक रातको लागि भए नि आउन मिल्ने मनोरम ठाउँ हो यो । आस्ट्रेलियन क्याम्पबाट हिडेको १ घन्टामा पोथाना  पुगिन्छ । चिटिक्क परेका आरामदायी सुविधा सम्पन्न होटल लज त्यहॉ रहेका छन् । तातो चिसो पानी लगायत सबै प्रकारका खाने परिकार पाईन्छ । काठमाडौ लगायत पोखरा बाहिरबाट यात्रा तय गर्नेहरुले यहि  पहिलोदिनको बास बसेर बिहान सबेरै आर्को दिनको पदयात्रा सुरु गर्नु राम्रो हुन्छ ।

दोश्रो दिन:  पोथानादेखि देउराली,दुधखर्क,फरेस्ट क्याम्प हुँदै लो क्याम्प

पोथानाबाट बिहानको आकर्षक दृश्यावली हेरेर हिमालको चमकमा रमाएर बिहान ६.३० मा पदयात्रा तय गर्ने हो भने देउरालीमा बिहानी खाजाखान ८.३० मा पुगिन्छ । त्यहॉबाट पनि हिमाल र प्रकृतिका बिबिध छटा देख्न सकिन्छ । हरियो बन , हिमाल , फ़ुल र चरा बाक्लो हेर्न पाईन्छ । सुर्य डाडामा केहि बेर बिश्राम गरेपछि कोकर अर्थात् फरेष्ट क्याम्प पुगिन्छ । गलेको र भोकाएको शरिर त्यहॉ पुगे पछि गज्जबसंग सुस्ताउन पाईन्छ । घना जंगल पार गरेर त्यहॉ आईपुग्दा जो कोहि छक्क पर्छ ।

जंगलको छेउमा भव्य आकर्षक सुविधा सम्पन्न होटल लज देख्दा जो कोहि अचम्मित हुन्छन् । त्यहॉ  टन्न दालभात खाएर आफ्नो गन्तव्य लाग्न फेरि धना जंगल नै पसेर हिड्नु पर्छ । घुमाउरो कठिन उकालो सानो गोरेटो बाँटो  करिव ४ घन्टा हिडेपछि दोस्रो बास बस्ने गन्तव्य लो क्याम्प पुगिन्छ । मौसमले साथ दिएमा त्यहॉ रहेका हरेक होटलको आँगन बाँट हिमाल गज्जबले देखिन्छ । पूरै जङ्गल रातो, सेतो र गुलाबी गुराँसले ढकमक्क थियो।। हुस्सुले छोपेको जंगल बाटोभन्दा पर गईयो भने हराउने डर । “लर्ड अफ द रिङ्स”फ़िल्मको जस्तै बाटा देखिन्छन् त्यहॉ ।

तेश्रो दिनलो क्याम्पदेखि,मिडल क्याम्प र बादल डाँडाहुँदै हाइ क्याम्प

लो क्याम्पमा मिठो निद्रामा सुतेर बिहान छ बजे उठेर सुर्योदय हेर्दै चिया पिउनुको असिम आनन्द लिन सकिन्छ । अबको गन्तव्य केवल ४ घन्टा मात्रै भएकाले हिड्न हतार गर्नु पर्दैन । बिस्तारै गए पनि सजिलै हाईक्याम्प पुगिन्छ । तर दिउसै बेशक्याम्प नै पुग्छु भन्नेहरुले भने हिड्न अवेला नगरेकै राम्रो । झण्डै ४५ मिनेट हिँडेपछि  ‘मिडल क्याम्प’ पुगिन्छ । त्यहॉ बिहानी खाजा खाएर हिड्दा करिव २ घन्टामा बादल डाडा  पुगिन्छ ।डाँडाको टुप्पोमा दुवैतिरबाट कुहिरा आउने र जाने गर्ने भएकाले शायद यसलाई बादल डाडा भनिएको हो।

बादलडाँडाबाट प्राकृतिक परिदृश्य पनि मज्जाले परिवर्तन हुन्छ । जङ्गल छुट्दै जान्छ। झाडीका पोथ्रापोथ्री र याकहरुको चरन गर्ने खालको “एलपाईन” घाँसहरु भेटिन्छ। सबेरैदेखि माछापुच्छ्रे हिमालदेखि   अन्नपूर्ण हिमश्रृंखलाको ‘प्यानोरामिक भिऊ’ देखिन्छ। त्यसको ठ्याक्कै अघिल्तिर मार्दी अलिअलि छुट्टिन्छ। त्यहाँबाट  माछापुच्छ्रे हिमाल प्रष्ट र एकदमै नजिक देखिन्छ। जंगल बीचबाट दुई घण्टा हिँडेपछि ‘हाईक्याम्प’ पुगिन्छ।‘हाइ क्याम्प’ जाने बाटो वरपर याक चरिरहेको देखिन्छ।  ‘हाइ क्याम्प’ गुराँसले घेरिएको छ।

हाईक्याम्प नबसि भ्यु प्वाईन्टमा आफ्नै टेन्ट या त्यहॉ रहेका टि सपमा बस्ने हो भने २ घन्टाको यात्रामा पुग्न सकिन्छ । वेसक्याम्प नै जाने भए फेरि दुइ धन्टा थप हिड्नु पर्छ । सजिलोको लागि हाई क्याम्पमा बसेर बिहान सबेरै हेडलाईटको सहायताले भ्यु पाईन्ट या वेसक्याम्प पुगेर फर्किन सकिन्छ । त्यहॉबाट देखिने अद्भुत दृश्य र पाईने आनन्द व्यक्त गर्ने शब्द नै छैन । १६ वटा हिमाल आरामले अबलोकन गर्न सकिन्छ । अग्ला चट्टान, चिप्लो र भिरालो बाटो काट्दै मर्दी- माछापुच्छ्रेमा सूर्योदय हेर्दै ‘, जहाँ हिउँले लटरमम्म भरिएको थियो ।

अल्टिच्युटको कारणले निद्रा परेन भने पनि रातमा तारा र हिमाल हेर्न सकिन्छ । रातमा बाहिर जादा हिमाल र तारा निलो आकाशमा चम्किरहेको देखिन्छ । शायद राति तारा गनेर बस्ने ‘स्टारगेजर’का लागि आकाशगंगाको प्रष्ट चित्र हेर्ने यो सुवर्ण ठाउँ हो । बाटोमा केही लोखर्के र चराहरु पनि देखिन्छ। यो ठाउँतिरको विशेषता डाँफे हो।

चौथो दिन: हाई क्याम्पबाट बादल डाडा,लो क्याम्प,सिदिंग हुदै पोखरा

भ्यु प्वाइंट या वेसक्याम्पमा बस्ने या पुगेर आउनेहरु पुन हाईक्याम्पमै फर्किएर आराम गर्न सक्छन् । त्यहॉ बस्न मन नगर्नेहरु दाल भात त्यहि खाएर तल झर्दै बादल डाडा , लो क्याम्प हुदै सिदिंग या लान्द्रुक तिर पनि झर्न सक्छन् । मिडल क्याम्प पुगेर मीठो चियाको चुस्की लिँदै पहाडका टाकुरामा कुहिरो लागेको र एक आपसमा ठोक्किएको आनन्द मानेर हेर्न पाईन्छ ।

हतार हुनेहरु सुदिंगबाट महंगो जिप चढेर दुई घन्टामा पोखरा आउन सक्छन् भने हतार नहुने हरु सिदिंगमै एकरात बसेर भोलीपल्ट आरामले लोकल बस चढेर अथबा पुन पदयात्रा गरेरै पोखरा फर्किन सक्छन् । सिदिंगको बाटो राम्रो छैन तैपनि छोटो भएकाले उपयोगी छ ।

आवश्यक सामाग्री र बजेट

मर्दी पदयात्रा गर्न त्यति खर्चिलो छैन । खर्च यति नै गर्ने भन्ने हुदैन । त्यो आफ्नो आवश्यकतानुसार हुन्छ । सामान्य खाजा , खाना, लज शुल्क त्यति खर्चिलो छैन । बढिमा ८- देखि १२ हज़ारमा आरामदायी यात्रा गर्न सकिन्छ । अझ मितव्ययिता अप्नाउने पदयात्रीले त यो भन्दा पनि कम रकममा यात्रा सक्छन् । आबश्यक सामाग्रीमा चाहि सजिलो झोला, दुइ ज़ोर लुगा, एउटा न्यानो डाउन ज्याकेट , पन्जा, टर्चलाईट, केहि ड्राई फुड, चकलेट बोके पुग्छ ।