टोकियो ओलम्पिक सन् २०२१ को जुलाईमा

जापानको टोकियोमा यसै वर्ष हुने भनिएको ओलम्पिक खेलकुद प्रतियोगिता एक वर्ष पछि सरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र जापानले अब सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म ओलम्पिक खेलकुद सञ्चालन गर्ने निर्णय गरेका जापानी समाचार संस्था क्योदोले जनाएको छ । यसै वर्ष तय भएको ओलम्पिक विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको थियो । ओलम्पिकको एक सय २४ वर्षको इतिहासमा पहिलो पटक ओलम्पिक खेलकुद तोकिएको मितिभन्दा पछि सारिएको हो ।

आयोजक जापानले तय गरेको नयाँ मितिलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले सहमति दिएको हो । महामारीको रुपमा विश्वभर फैलिएको कोरोनाका कारण ओलम्पिक रोक्न अधिकांश देशले माग गरेपछि जापान सरकार र आईओसी ओलम्पिक एक बर्ष पछि सार्न सहमत भएका थिए । ओलम्पिक टच टोकियो शहर पुगिसकेका कारण ओलम्पिक सरेपनि नाम भने टोकियो ओलम्पिक  २०२० नै रहने छ ।ओलम्पिक कमिटीलाई स्थगित गर्न निर्णय गर्न चार साता लागेको थियो।