दोस्रो विश्वयुद्धपछि पहिलो पटक विम्बल्डन स्थगित

कोरोना भाइरसको महामारीका कारण ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन  सरेको छ। अर्को ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपन भने यसअघि नै स्थगित भइसकेको छ। दोस्रो विश्वयुद्धपछि विम्बल्डन प्रतियोगिता स्थगित भएको यो पहिलो पटक हो। यस वर्षको विम्बल्डन आगामी जुन २९ देखि जुलाई १२ तारिखसम्म आयोजना हुने कार्यक्रम थियो।

विश्व चर्चित विम्बल्डन टेनिस ग्रास कोर्टमा खेलाइन्छ। कोरोना भाइरसको त्रासका कारण अहिले विश्व खेलकुदका सम्पूर्ण गतिविधि अवरुद्ध बनेका छन्। विश्वव्यापी रूपमा कोरोना भाइरसको महामारी फैलिएपछि यसै वर्ष आयोजना हुने भनिएको ओलम्पिक खेलकुद, युरो कप फुटबल, कोपा—अमेरिका फुटबललगायतका प्रतियोगिता यसअघि नै स्थगित भइसकेका छन्।

‘हामी सकेसम्म विम्बल्डन स्थगित नहोस् भन्ने चाहन्थ्यौं। तर, विपत्तिको अगाडि कसैको केही चल्दैन। अहिलेको अवस्थामा विम्बल्डन आयोजना हुन नसक्ने निष्कर्ष निकाल्न हामी बाध्य भयौं’, प्रतियोगिता स्थगित भएको जानकारी दिँदै अल इङ्ल्यान्ड लन टेनिस क्लबका अध्यक्ष इयान हेविटले भनेका छन्।

यसअघि दोस्रो विश्वयुद्धको समयमा मात्र विम्बल्डन प्रतियोगिता स्थगित भएको थियो। ‘हामी अप्रिल अन्तिमसम्म प्रतीक्षा गर्ने सोचमा थियौं। तर, अहिलेको अवस्था हेर्दा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउने कुनै छाँट नदेखिएकाले यस्तो अप्रिय निर्णय लिन बाध्य भयौं’, अध्यक्ष हेविटले भनेका छन्।

यसअघि विश्वचर्चित चार ग्रान्डस्लाम प्रतियोगितामध्येको एक फ्रेन्च ओपन गत महिना स्थगित भएको थियो। फ्रेन्च ओपन आगामी मे २४ देखि जुन ७ तारिखसम्म पेरिसमा आयोजना हुने कार्यक्रम थियो। नयाँ घोषित मितिअनुसार अब फ्रेन्च ओपन आगामी सेप्टेम्बर २० देखि अक्टोबर ४ तारिखसम्म आयोजना हुनेछ।

अर्को ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपन सकिएको एक सातापछि नै फ्रेन्च ओपन सुरु हुनेछ। यूएस ओपन आगामी अगस्त २४ देखि सेप्टेम्बर १३ तारिखसम्म आयोजना हुने कार्यक्रम छ। प्रत्येक वर्ष टेनिसको चारवटा ग्रान्डस्लाम प्रतियोगिता हुन्छ। वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन जनवरीमा आयोजना हुन्छ।

त्यसपछि दोस्रो ग्रान्डस्लाम फ्रेन्च ओपन मेमा आयोजना हुन्छ। तेस्रो ग्रान्डस्लामका रूपमा विम्बल्डन जुनमा सुरु हुन्छ भने वर्षको अन्तिम ग्रान्डस्लाम यूएस ओपन अगस्तमा सुरु हुन्छ। तर, कोरोना भाइरसको त्रासका कारण यस पटक फ्रेन्च ओपन वर्षको अन्तिम ग्रान्डस्लाम बन्नेछ। यद्यपि, विम्बल्डनको नयाँ मिति घोषणा हुन भने बाँकी नै छ।