अन्जु पन्त फाउण्डेसनद्वारा खाना वितरण

करिव डेढ महिना लामो लकडाउनको कारणले समस्यामा परेका विभिन्न समुदायका एक हजार मानिसहरुलाई अन्जु पन्त फाउन्डेसनद्वारा खाना वितरण गरिएको छ । काठमाडौँ उपत्यकाभित्र बौद्ध, जोरपाटी, बीर अस्पताल, नख्खु दोबाटो, फर्सीडोल ललितपुर लगायतका विभिन्न १२ स्थानमा विहिवार र शुक्रबार फाउण्डेसनद्वारा खाना वितरण गरिएको थियो । फाउण्डेसनका अध्यक्ष लोकप्रिय गायिका अन्जु पन्तले समस्यामा परेका मानिसहरुकोमाझ आफै उपस्थित खाना वितरण गरेकी थिइन् ।

बौद्ध जोरपाटीबाट सुरु गरिको वितरण कार्यक्रम बीर अस्पताल नख्खु हुँदै फर्सीडोल ललितपुरको एक इटाभट्टामा रहेका मजदुरहरुलाइ वितरण गरिएको छ । यो कठिन परिस्थितीमा गायिका अन्जु पन्तको हातबाट खाना पाउँदा समुदायका मानिसहरु ज्यादै खुशी भएका थिए । गायिका पन्तले यो खानामात्र होइन खानाको साथमा माया मिसाएर लिएर आएकी छु भन्दा धेरैका आँखा रसाएका थिए ।

यो लकडाउनको बेलामा घरबाट बाहिर ननिस्की बस्नु पर्ने हो तर बिभिन्न ठाउँमा मानिसहरु भोक भोकै हुनुहुन्छ भन्ने खबर सुनेपछि आफु चुप लागेर बस्न नसकेको र आफै खाना वितरणमा निस्कनु परेको गायिका पन्तले बताइन् । साथै उनले भनिन अहिलेको अवस्था सहज छैन सम्पूर्ण विश्व नै कोरोनाको कहरमा छ तरपनि हामी सबैले नआत्तिकन धैर्य गर्नुपर्छ, सँधै यस्तै हुदैन, रातपछि दिन आउँछ अवश्य विस्तारै सबकुरा ठिक हुनेछ संयम रहनुहोस् । यसैक्रममा आफ्ना दर्शक श्रोताको अनुरोधमा गायिका अन्जु पन्तले केहि गीतहरु पनि गाएर सुनाएकी थिइन ।

अन्जु पन्त फाउन्डेसनले गत तीन बर्षेदेखि नेपालमा बिभिन्न क्षेत्रमा सामाजिक सेवाका कामहरु गर्दै आइरहेको छ । फाउण्डेसनका अध्यक्ष गायिका पन्तका अनुसार आगामी दिनमा पनि यसरी नै दुखेको घाउमा मलहम लगाउने काममा आफुहरु लागिरहने कुरा प्रष्ट पारेकी छिन् ।