सौन्दर्यका लागि घरेलु विधी : किन चाहियो कस्मेटिक उत्पादन ?

                                                                                    प्रस्तुती:  जुली प्याकुरेल

             (लेखिका बिराटनगरकी वरिष्ठ ब्युटिसियन तथा अल्पस व्युटिपार्लर एन्ड ट्रेनिंग सेन्टरकी संचालिका हुनुहुन्छ )         

संसार अहिले संत्रासमय छ । पुरै विश्व लकडाउनमा छ । यसरी घरमा नै बस्दा पनि हामीले सौन्दर्य कर्मलाई भने थोरै भए पनि समय दिन भुल्नु हुदैन । बाहिर जान नपाए पनि घरमै बसेर छाला सम्बन्धि रेखदेख गर्न सकिन्छ । पार्लरहरु सबै बन्द भएको अवस्थामा यो नै सहि उपाय हुन्छ ।यसका लागि घरमै, भान्सामै उपलब्ध हुने चीजबाट दैनिक स्याहार गर्न सकिन्छ ।

छालाको हेरचाह गर्ने विधि

छाला सामान्य छ भने गाईको दूधमा एक चिम्टी बेसार हालेर कटनको सहायताले सर्कल मसाज गरी अनुहार क्लिन्जिङ गर्ने । त्यसपछि बदाम मिक्स भएको क्रिम लगाउने । पाउरोटीको बीचको भाग, अण्डाको पहेंलो भाग, पाउडर दूध तथा एक चिम्टी बेसार मिसाएर पेस्ट बनाउने । यो पेस्ट आरामदायक कुर्सीमा बसेर लगाउनुपर्छ, अनुहार झुकाउनु हुँदैन । यो प्याक हप्ताको एकपटक लगाउन सकिन्छ । सामान्य छालामा फेसियल गर्नु जरुरी हुँदैन ।

यो तरिका मनपर्दैन भने यसो पनि गर्न सकिन्छ ।

पिठोको चोकरमा एक चम्चा मह र एक चम्चा दूध मिलाउने । यो मिश्रणलाई अनुहारमा लगाउने र केही समयपछि हल्का हातले रगड्दै हटाउने । तीन चम्चा पिनेको बदाममा तीन चम्चा ओटमिल, तीन चम्चा पाउडर दूध, दुई चम्चा सुखेको गुलाबको पात र बदामको तेल मिलाएर मिश्रण तयार गर्ने । यो मिश्रणलाई काँचको बट्टामा हावा नछिर्ने गरी राख्ने । यो मिश्रणलाई हप्ताको दुई पटक प्रयोग गर्न सकिन्छ ।

सुख्खा छाला छ भने ओखर र आलमन्डलाई दूधमा भिजाएर पेस्ट बनाई त्यसको आइसक्युब तयार गर्ने । कटन भित्र आइस्क्युव हालेर दिनहुँ सर्कल मसाज गर्ने । यो उपाय दिनहुँ अवलम्बन गर्नुपर्छ । हप्ताको एकपटक अण्डाको पहेंलो भागमा मह मिसाएर प्याक लगाउने । १० मिनेटपछि चिसो पानीले अनुहार धोएर सर्कल मुडमा मोस्चराइजर लगाउने ।

यसको अलबा अर्को तरिका पनि छ ।

भिटामिन-ई युक्त भएको तेलमा एक थोपा कागतीको रस र एक थोपा ग्लिसरीन मिलाउने । यसले केही समय अनुहारलाई मसाज गर्ने र चिसो पानीले अनुहार पखाल्ने । एक दुई चम्चा बदामको धुलोमा एक चम्चा मह र एक चम्चा गुलाबजल मिलाएर अनुहारमा लगाउने र चिसो कपासको सहायताले अनुहार सफा गर्ने ।

तैलीय छाला छ भने कटनको सहायताले दिनहुँ तीनपटक टोनरले अनुहार पुछ्ने । फ्रेस एलोबेरा जेल वा सुन्तलाको रस लगाउने । अंगुर, मसरुमको रस, गोलभेंडाको रसामध्ये कुनै पनि फलफूलको रस अनुहारमा लगाउन सकिन्छ । चन्दन र गुलाब जल मिसाएर पेस्ट लगाउने ।

मिश्रति छाला छ भने राति सुत्ने बेलामा चिसो पानीले अनुहार धोएर सुत्ने र बिहान उठ्नेबित्तिकै कुन ठाउँ तैलीय र कुन ठाउँ सुख्खा छ ऐना हेरेर प्याक र क्रिम लगाउन सकिन्छ ।

स्क्रबका लागि भिजेको चना र दही आवश्यक हुन्छ । एक अथवा दुई कप भिजेको चनालाई पिस्ने । पिसेको चनामा एक ठूलो चम्चा दही र अथवा पानी मिसाएर पेस्ट बनाउने । यो पेस्टलाई हल्का हातले अनुहारमा स्क्रब गर्ने, केही क्षणपछि चिसो पानीले अनुहार पखाल्ने । यसो गर्दा तपाईंको तैलीय छाला सुन्दर हुन्छ। तर, अनुहारमा साबुनको प्रयोग गर्नुहुँदैन ।