(नेपाली सांगीतिक क्षेत्रमा विशुद्ध गीतिकारिता मात्रै गर्ने गीतकार अत्यन्त कम छन् । ति मध्ये एक थिए रत्न शम्शेर थापा । उनको पनि हिजो मिति जेठ १५ गते असामयिक निधन हुन पुग्यो । वि.सं. २०१८ सालदेखि अबिराम गीत लेख्दै आएका थापाले कहिल्यै जागिर र व्यवसायमा लाग्ने जमर्को गरेनन । गीत र कबितालाई अत्यन्त माया गरेर यसमै रमाई रहे । यो संस्मरण उनले तिन वर्ष अधि हामीलाई सुनाएका थिए । त्यसैको सारसंक्षेप यहॉ प्रस्तुत गरिएको छ ।-संपादक)
२०१२ सालको वरिपरि नेपाली साहित्य तथा गीत संगीतको क्षेत्र अत्यन्तै साँघुरो थियो । गीतको अभावले गर्दा नेपालका कतिपय गायकले हिन्दी गीत गाउँथे । नेपालमा गीतकारको संख्या कम थियो । यही कुरालाई बुझेर मैले आफ्नो देशका लागि कुनै न कुनै माध्यमबाट देशको सहयोग गर्नुपर्छ भनेर साहित्य तथा गीती लेखनको यात्रा शुरु गरेको थिएँ । पञ्चायत कालमा नेपालमा गीत लेख्न, गाउन तथा साहित्य रचना प्रकाशन गर्न त्यति सहज थिएन । काठमाडौंका केही युवाले नेपाली गीतको उत्थानमा भूमिका खेल्न त्यति सहज थिएन । त्यस समयमा गीत लेखेर एक पैसा पनि कमाउन सकिने स्थिति थिएन । साहित्यिक पत्रिका बिक्री हुँदैनथे । गीत लेखिसकेपछि गीत सेन्सर हुन्थ्यो । सेन्सरकै कारणले कति गीत त रेकर्ड पनि हुन पाएनन् । रेकर्ड भएका पनि बजेनन् होला । नारायणगोपालले एक दिन मलाई तन्नेरी रमझममा भुलेकोे गीत लेख्न आग्रह ग–यो । मैले एउटा गीत लेखेर उसलाई दिएँ ।
हाँस्छौं, गाउँछौं, वसन्त ल्याउँछौं प्रेमको अनुरोधमा
धन्न लिन्नौं हामी केही उनको विरोधमा
पञ्चायतले यो गीतमा लेखिएको शब्द माथिल्लो निकायलाई प्रहार गर्न खोजेको भनेर गीत नै बन्देज गरिदियो । यसरी धेरै गीत शहीद भएका छन् त्यो जमानामा । त्यसबेलाका आफ्ना समकालीन साथी नारायणगोपाल, प्रेमध्वज प्रधान, माणिकरत्न, भूपि शेरचन लगायतका साथी चर्चामा थिए । तर कुनै पनि गायकलाई मैले ‘गीत गाइदिनुस् न’ भन्नुपरेन ।
त्यो खोलाको सङ्लो पानी खाइजाऊँ खाइजाऊँ लाग्छ
मोहनी लाउने कान्छीलाई लैजाऊँ लैजाऊँ लाग्छ ।
माणिकरत्नले गाएको मेरो यो गीत धेरैपटक रेडियोमा बज्यो । उसले मलाई एकदिन भनेको थियो, ‘तिम्रा दुई गीतले मलाई कहाँबाट कहाँ ल्याइदियो ।’ उसले दिल खोलेर भनेको थियो यो कुरा । रेडियो नेपालले बन्देज लगाएका कतिपय गीतहरू यसैखेर गए । त्यसबेलामा सञ्चारको माध्यम भनेको रेडियो नेपाल मात्रै थियो । रेडियो नेपालका पूर्णकालीन र आंशिक कर्मचारीले गाएका, रचना गरेका गीतहरूले आफ्ना सृजना राख्ने मौका पाउँथे । हाम्रा कविता तथा गीतले कमै मौका पाउँथे रेडियो नेपालमा ।
तत्कालीन राजा महेन्द्र मलाई एकदमै दूरदर्शी राजा लाग्छन् । उनले नेपाली साहित्य र संगीतको क्षेत्रमा ठूलो योगदान पु–याएका छन् । एकपटक केही कविहरूलाई जम्मा गरेर उनले चितवनको रामपुरमा नेपालभरिको कवि सम्मेलन गराए । ६ वटा डुंगा जोडेर नारायणी नदीमा कवि सम्मेलन गराएका थिए । तर त्यस सम्मेलनमा मलगायत केही कवि जान पाएनौं । सम्मेलनमा सहभागी हुन नपाएका कविहरूलाई महेन्द्रले भेट्ने कार्यक्रम राखे । हामी उनलाई भेट्नलाई लाइनमा बसेका थियौं । छेउमा थिए, तत्कालीन यातायातमन्त्री खड्ग बहादुर सिंह । महेन्द्रलाई चिनाउनका लागि अर्का पात्र पनि थिए, कवि केदारमान व्यथित । मभन्दा अगाडि गणेश भण्डारी थिए । कोशी अञ्चलका कवि । मेरो पालो आयो । केदारमान व्यथितले मलाई कवि रत्न शमशेर थापा भन्दै चिनाए ।
व्यथितले नाम उच्चारण गर्नासाथ महेन्द्र बोले, ‘नाउँ त धेरै सुनेको हुँ । चिनें, खुशी लाग्यो ।’ त्यसबेलाका हामी साहित्यकारहरूको जोडी खुबै जम्थ्यो । हामी टुँडिखेलमा जम्मा हुन्थ्यौं । न्युरोडको बीच बाटोमै आरामले हिँड्न मिल्थ्यो । फाट्टफुट्ट मात्र सवारी साधनहरू चल्थे नारायणगोपाल, भूपि शेरचन, गोपाल योञ्जन, द्वारिका श्रेष्ठ लगायतका साथीहरू हामी कसरी साहित्य सृजनामा लाग्न सकिन्छ भन्ने विषयमा छलफल गर्थ्यौं । काठमाडौंबाहिर नेपाली साहित्य तथा संगीतको माहौल त्यति फैलिन पाएको थिएन किनकि सबैलाई काठमाडौं आएर रेडियो नेपालमा स्वर परीक्षण गराउन सम्भव हुन्थेन । गीत रेकर्ड गर्न महिनौं लाग्थ्यो । फेल भयो भने गुनासो गर्ने कुनै निकाय थिएन । वर्षौं कुर्नुपर्थ्यो ।
रेडियो नेपालले गीत संगीतका लागि राम्रो स्थान दिएको हो । हामीलाई समेत रेडियो नेपालमा गीत प्रवेश गराउन सकस थियो । साहित्यमा सबैभन्दा ठूलो भूमिका कल्पनाले खेल्छ । मैले समालोचनाबाहेक साहित्यका सबै विधामा कलम चलाएँ । समालोचना लेख्न नसकेर नलेखेको होइन । नेपाली कवि तथा साहित्यकारहरू नकारात्मक टिप्पणी पचाउन सक्दैनन् । अहिलेका साहित्यकारमा पनि यो समस्या छ । कसैले राम्रो लेखेको छ भन्नुभयो भने चिया खुवाउँछन् । प्रवृत्ति ठम्याउन नसकेको फुच्चेले समीक्षा ग–यो भन्ने आरोप समेत पाइन्थ्यो । त्यसैले पनि मैले समीक्षा लेख्न आँट गरिनँ । हामीले विदेशीको दाँजोमा कसरी नेपाली साहित्यलाई स्तरीय बनाउन सकिन्छ भन्नेबारेमा नै छलफल गर्थ्यौं । हामीले त्यतिखेर पत्रिका पनि चलाउने योजना बनायौं ।
पञ्चायतले नेपाली साहित्यलाई माथि उठ्न दिएको थिएन । अञ्चलाधीशले स्वीकृत गरेका साहित्यले मात्र प्रकाशन हुने मौका पाउँथे । हामीले पञ्चायतको थिचोमिचोबाट मुक्ति पाउने आशाले पत्रिका चलाउने योजना बनायौं । ‘अम्लेख’ नामक पत्रिका प्रकाशनको स्वीकृति माग्यौं । तर नेपालीले यो नाम नबुझ्ने भन्दै हामीलाई यो नाम दिइएन । त्यसपछि हामीले पाँच अंकसम्म ‘सिउँडी’ प्रकाशन ग–यौं । पाँच अंकपछि पैसा नभएर यो पत्रिकाले पनि निरन्तरता पाउन सकेन । साहित्यिक पत्रिका बेचेर पैसा कमाउन सक्ने स्थिति थिएन नेपालमा ।
यहीबेला मलाई नेपाली साहित्यका अर्का हस्ती विश्वेश्वर प्र्रसाद कोइरालाको सम्झना आउँछ । उनले नेपाली साहित्यको क्षेत्रमा जुन योगदान पु–याएका छन्, त्यो योगदानको हामीले जति चर्चा गरेपनि कमै हुन्छ । उनीसँग त्यति धेरै लामो संगत त हुन पाएन । त्यस्तै दुईपटक जति भएको थियो होला । हामी त्यसबेलामा कवि तथा गीतकारका रूपमा उदाएका थियौं । विश्वेश्वर प्रसाद कोइरालाले एकपटकको भेटघाटमा भनेका थिए, ‘म धेरै वर्ष जेल बसेकाले नेपाली साहित्य कुन धारमा जाँदैछ, थाहा छैन । म भारतमा उपचार गरेर आउँछु, त्यसपछि हामी भेटेर छलफल गर्नुपर्छ ।’ तर त्यसपछि उनीसँग मेरो भेट भएन । क्यान्सरले उनलाई जित्दै गएको थियो । पहिलो भेटमा उनले भनेको कुराले अझै पनि मेरो चेतनालाई जोडले हिर्काउँछ । उनले भनेका थिए, ‘म राजनीतिज्ञ हुँ । साहित्यकार पनि हुँ । तर राजनीतिभन्दा साहित्य धेरै माथि छ । राजनीतिले समाजको एउटा पाटो समेट्छ भने साहित्यले सबथोक समेट्छ ।’त्यसबेलाको समाज हाम्रा लागि मात्र होइन । पछिल्लो पुस्ताका लागि पनि स्मरणीय हुनेछ । ऊबेलामा गाएका कतिपय गीत हामीसँग छैनन् । मैले लेखेका अन्य कृति कता छन् भन्ने कुराको त म आफैंलाई हेक्का छैन । कुनै गीत रेकर्ड भएर पनि हराए । कुनै गीत रेकर्ड हुन नपाएर हराए । तपाईंलाई म एउटा सम्झना सुनाउँछु । मेरो गीत ‘स्वर्गकी रानी’ श्रोताको फर्माइसमा दशौंहजारपटक रेडियो नेपालबाट बजेको थियो रे ! तर मैले त्यो गीतबाट समेत एक पैसा पाइनँ । जे भएपनि मलाई आफ्ना कालजयी गीतले चिनाएका छन् । भात र दाल खान पुगेकै छ ।
(कवि तथा गीतकार रत्नशमशेर थापासँगको कुराकानीमा आधारित )