गीतकार देवदत्त भट्ट र गायक आर.सि.रिमालको राष्ट्रिय गीत- “नेपाली हामी” सार्वजनिक

आफ्नो देशको माया कस्लाई पो हुँदैन र ! आफु जन्मेको माटो सबैलाई प्यारो लाग्दछ (जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी)। आमाको रुपमा देशलाई चिन्ने गरिन्छ । जसरी आफ्नो आमालाई कसैले नराम्रो व्यबहार गरेमा सन्तानको दिल दुख्छ अनि उ प्रतिकारमा उत्रिन्छ, ठिक त्यस्तै प्रकारले आफु जन्मेर हुर्किएको देश प्रति कुनै पनि बाहिरी तत्वले या वैरीहरुले कूदृष्टी लगाएमा,आक्रमण गरेमा जो कोही नागरिक पनि आक्रोशित हुन पुग्दछ । युगौँदेखि स्वतन्त्र हाम्रो देश नेपाल वीरहरुको मुलुक भनेर संसारले चिन्दछ ।

वीर गोर्खाली फौजको नामले प्रख्यात नेपाली सेनाको वीरतापूर्ण उच्च साहसिक कार्यकुशलताका कारण यो देशको सार्वभौमिकतामाथी आँच आउन सकेको छैन । तर इतिहासको बिभिन्न कालखण्डलाई हेर्ने हो भने हाम्रा वीर पुर्खाहरुले विस्तार गरेको पूर्वमा टिष्टा अनि पश्चिममा काँगडा सम्मको विशाल नेपालमाथी वैरीहरुले बेला बेलामा आक्रमण गर्दै नेपाली जमीनमाथी कब्जा गरि खोसेका कारण आजको मेची देखी महाकालीको सिमानामा नेपाल आइपुगेको हो ।

विशाल नेपाल (Greater Nepal) बाट खोसिएको तिनै भू-भागहरु नेपालले फिर्ता पाउनुपर्छ भन्ने आवाज नेपालीहरु माझ उठिरहेका छन् यद्दपी यसको लागि राष्ट्रिय अन्तराष्ट्रिय बहस, छलफल तथा कानूनका कुरा आफ्ना ठाउँमा होलान् । मातृभूमि प्रतिको अगाध स्नेह‌ भएरै त हो नि आफ्नो जमीन पाउनुपर्छ भनिएको । यही माटो प्रतिको अथाह भावनात्मक सम्बन्धलाई लिएर नेपाली संगीतमा कैयौँ राष्ट्रिय गीतहरु बनाईएका छन्, यसै सिलसिलामा पछिल्लो पटक “नेपाली हामी…” शिर्षकमा रगत उम्लिने खालको एउटा राष्ट्रिय गीत सार्वजनिक गरिएको छ ।

“नेपाल रहे नेपालीको अस्तित्व रहन्छ, हामी सबको एकतामा देश बलियो बन्छ, नेपाली हामी स्वाभिमानी झुक्न र लुक्न जान्दैनौँ, यो देश दमन् गर्नेलाई मार्छौँ, देशको खातिर् बरु मर्छौँ, आफुलाई कमजोर ठान्दैनौँ,”

गीतकार देवदत्त भट्टको ज्यादै जोडदार शब्द एवं गायक/संगीतकार आर.सी.रिमालको संगीत तथा स्वरमा रेकर्ड भएको यस गीतको भिडियो ऐतिहासिक दस्तावेजहरुको संग्रह जस्तै लाग्ने मार्मिक खालको देखिन्छ । हाम्रा वीर पुर्खाहरुले दुश्मनहरुसंग युद्ध गर्दाका बखतका दृश्यहरुलाई स्मरणिय तवरले भिडियोमा देखाईएको छ । भिडियोमा समावेश गीतलाई संसारका सबै मान्छेले बुझ्न सकुन् भनेर English Subtitle समेत राखिएको गीतकार भट्ट बताउँछन् ।

देशको भूगोल जोगाउने कर्तव्य हरेक नागरिकको हो, यस बिषयमा राज्य हाँक्ने सरकार अग्रपङ्तिमा उभिनुपर्छ, जनताले आफ्नो ठाउँबाट सक्ने योगदान गर्ने हो भन्छन् गायक संगीतकार रिमाल पनि । रिमाल आफैँले अभिनय मार्फत सबै नेपालीलाई देशको रक्षा खातिर एकताबद्ध हुन आव्हान गरेका छन् । सुजन अधिकारीको निर्माणको यस गीतमा साहस शाक्यको संगीत संयोजन, प्रकाश मिश्रको अडियो मिक्सिङ् रहेको छ । देवेन्द्र पाण्डेको निर्देशन, उत्सव दहालको छायाङ्कन र विकास दाहालको सम्पादनको‌ यो गीतले सबै नेपालीलाई देशप्रेमको भावना जागृत गराउन सफल होस् , यस गीतमा भनिएझैँ हाम्रो पनि स्वदेशप्रतिको माया छातीभरी फुलिरहेको सत्यलाई सबै माझ राख्दै सफलताको शुभकामना व्यक्त गर्दछौँ ।