एपीएफले आर्मीलाई हरायो वालिङसँग पुलिस बराबरीमा रोकियो

महिला राष्ट्रिय लिग फुटबल अन्तर्गत  एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफले आर्मीलाई २-० ले पराजित गर्दै लिगमा लगातार तेस्रो जित हात पारेको हो । एपीएफको लागि अञ्जली योञ्जन र सरु लिम्बुले एक एक गोल गरिन् । दुवै गोलका लागि सावित्रा भण्डारी साम्बाले असिस्ट गरेकी थिइन् । यसअघि दुई खेलमा ह्याट्रिक गरेकी सावित्राले आर्मी विरुद्ध भने गोल गर्न सकिनन् । आर्मीका डिफेन्सले सावित्रालाई गोल गर्न नदिए पनि अन्य खेलाडीले त्यसको फाइदा उठाउँदै गोल गरे ।

एपीएफले यसअघि चन्द्रपुर नगरपालिकालाई ६-० र विराटनगर महानगरपालिकालाई ७-० ले पराजित गरेको थियो । खेलको २७औं मिनेटमा अन्जली योन्जनले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । सावित्रा भण्डारीले पेनाल्टी बक्स बाहिरबाट उपलब्ध गराएको पासमा अञ्जलीले आर्मीका डिफेण्डरलाई छक्काउँदै प्रहार गरेरको बल गोल भएको हो । उनको प्रहार आर्मीकी गोलकिपर अञ्जली राना मगरले रोक्ने अवसर नै पाइनन् ।

पहिलो हाफको इन्जुरी टाइममा सावित्राकै पासमा सरु लिम्बुले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारिन् । सावित्राको क्रसमा अन्जली योन्जलले नभेटेको बलललाई सरुले पेनाल्टी बक्सभित्रबाट गोल गरेकी हुन् । दोस्रो हाफमा दुवै टोलीलले गोलका लागि केही मुभ बनाएपनि सदुपयोग गर्न सकेनन् । ७४औं मिनेटमा  रश्मी घिसिङले सिक्स यार्डबाट गरेको प्रहार एपीएफकी गोलकिपर एन्जिल तुम्बापो सुब्बाले बचाइन् ।

लगातार तेस्रो जितपछि ३ खेलबाट ९ अंक जोड्दै एपीएफले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । लगातार तेस्रो खेलमा क्लिनसिट राखेको एपीएफले १५ गोल गरिसकेको छ । ३ खेलबाट नेपाल पुलिस ५ अंकसहित दोस्रो स्थानमा छ । लिगमा पहिलो हार बेहोरेको आर्मी ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ । उद्घाटन खेलमा पुलिससंग अंक बाँडेको आर्मीले दोस्रो खेलमा वालिङ नगरपालिकालाई ७-० ले पराजित गरेको थियो ।

विभागीय टोली नेपाल पुलिस क्लबले महिला राष्ट्रिय लिगमा वालिङ नगरपालिका स्याङ्जासँग बराबरीमा रोकिएको छ । विदेशी खेलाडीको प्रभावमा वालिङले विभागीय टोलीलाई बराबरीमा रोकेको हो । खेलमा वालिङले पहिले अग्रता लिएको थियो भने पुलिसले पुनरागमन गर्दै बराबरी गोल फर्काएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा क्यामरुनी खेलाडी मेथो एलुउडी रुथले ५३औं मिनेटमा गोल गर्दै वालिङलाई अग्रता दिलाएका थिए ।

उनले क्यामरुनकै टाउटा ओरानेला एभानिकको पासमा मैदानको मध्यभाग नजिकैबाट बल अगाडि बढाउँदै गोल गरेकी थिइन् । तर त्यो अग्रता लामो समय भने टिकेन । ६५औं मिनेटमा रेखा पौडेलले पुलिसका लागि बराबरी गोल फर्काइन् । वालिङको गोलकिपर र डिफेण्डरबीच तालमेल नमिल्दा पौडेलले गोल गरेकी हुन् । खेलको २९औं मिनेटमा पुलिसकी रेखा पोडेलले वालिङको गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न सकिनन् । यस्तै ३१औं मिनेटमा वालिङकी मेथोले पुलिसको गोलकिपर बिट गर्दै गरेको प्रहार पूजा रानाले क्लियर गरेकी थिइन् ।

जारी लिगमा पुलिसको यो दोस्रो बराबरी हो । ३ खेलबाट ५ अंक जोडेको पुलिस अंक तालिका दोस्रो स्थानमा छ । दुई खेलबाट ६ अंक रहेको एपीएफ शीर्ष स्थानमा छ । लिगमा दोस्रो बराबरी पछि पुलिसका प्रशिक्षक सन्जिव जोशीले खेलाडीहरुले राम्रो खेल्न नसकेको बताए । उता वालिङका प्रशिक्षक दीलिप थापा मगरले पुलिस विरुद्ध अंक जोड्ने लक्ष्यका साथ खेलेको र बराबरी गर्न सफल भएको बताए । उनले विदेशी खेलाडीले राम्रो प्रदर्शन गरेको बताए । वालिङले तीन खेल खेल्दा यो दोस्रो बराबरी हो । पहिलो खेलमा विराटनगरसंग १-१ को बराबरी खेलेको वालिङ दोस्रो खेलमा आर्मीसंग ७-० ले पराजित भएको थियो ।