ओलम्पिक : अलेक्जेन्डरले राष्ट्रिय कीर्तिमान सुधार गरे

नेपाली पौडी खेलाडी एलेक्सजान्डर (एलेक्स) शाहले टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाए । पुरुष १०० मिटर फ्रिस्टाइलमा आफ्नो हिटमा पहिलो भएका उनले आफ्नै कीर्तिमान सुधार गरे । तर अर्को चरणमा पुग्न भने सकेनन् । टोकियो एक्वाटिक सेन्टरमा पहिलो हिटमै प्रतिस्पर्धा गरेका एलेक्स ५३.४१ सेकेण्ड समयसहित आफ्नो हिटमा पहिलो भए । यस हिटमा एलेक्ससहित ७ खेलाडी थिए । यसअघि एलेक्सकै नाममा ५४.१३ सेकेण्डको कीर्तिमान थियो । जुन उनले १३औं सागमा बनाएका थिए ।

यस स्पर्धामा उत्कृष्ट समयम हुने १६ खेलाडी मात्र सेमिफाइनल पुग्नेछन् । एलेक्स आफ्नो हिटमा पहिलो हुँदै कीर्तिमान बनाएपनि अन्य खेलाडीको समय राम्रो भएकोले उनी अर्को चरणमा पुग्न भने असफल रहे ।टोकियो ओलम्पिकको उद्घाटनमा अर्का पौडी खेलाडी गौरिका सिंह संगै एलेक्सले नेपालको झण्डा बोकेका थिए । गौरिकाले बुधबार मिहला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।