एथ्लेटिक्समा पहिलो दिन आर्मी हावी, महिला सय मिटरमा दुई पटक कीर्तिमान

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबार सुरु भएको एथ्लेटिक्सको पहिलो दिनमै ७ स्वर्णको छिनोफानो भयो । महिला सय मिटरमा दुई पटक राष्ट्रिय कीर्तिमान बन्यो । विभागीय टोलीको दबदबा हुँदा पनि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा बागमती प्रदेशलाई स्वर्ण दिलाउन सफल भइन् । पहिलो दिन आर्मीले सर्वाधिक ३ स्वर्णसहित ३ रजत र ३ कास्य गरी कूल ९ पदक जित्यो । यस्तै एपीएफले २ स्वर्ण १ रजत र १ कास्य गरी ४ पदक जित्यो । नेपाल पुलिस क्लबले १ स्वर्ण १ रजत र २ कास्य गरी ४ पदक नै जित्यो । बागमती प्रदेशले १ स्वर्ण र १ कास्य तथा लुम्बिनी प्रदेशले २ रजत जित्यो ।

एथ्लेटिक्सको पहिलो स्वर्ण बागमतीलाई

एथ्लेटिक्स खेलको पहिलो स्वर्ण पनि बागमतीले जित्यो । पब्लिक टिममा रहेर पनि सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा विभागीय खेलाडीलाई पछि पार्दै बागमतीलाई स्वर्ण दिलाइन् । सन्तोषी र नेपाल पुलिस क्लबकी राजपुरा पछाई सुरुदेखि सँगसँगै दौडिरहेका थिए । अन्तिम ल्याप अघिसम्म राजपुराले अग्रता कायम राखेकी थिइन् । तर करिब ५०० मिटर बाँकी छँदादेखि सन्तोषीले रफ्तार बढाइन् र स्वर्ण जितिन् । यसअघि आठौं राष्ट्रिय खेलकुद ५ हजार मिटरमा स्वर्ण जितेकी सन्तोषीले राष्ट्रिय खेलकुदमा १० हजार मिटरमा पहिलो पटक स्वर्ण जितेकी हुन् । चोटसँग संघर्ष गर्दै आएकी सन्तोषीले टाइमिङ भन्दा पनि स्वर्ण जित्ने लक्ष्य राखेको भन्दै त्यसमा सफल हुँदा खुसी रहेको बताइन् ।

महिला सय मिटरमा दुई पटक कीर्तिमान

महिला सय मिटर दौडमा शनिवार दुई कीर्तिमान बने । हिट चरणमा लुम्बिनीकी निशा चौधरीले १२।१५ सेकेण्डमा दौड पूरा गर्दै आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी त्रिभुवन आर्मीकी सरस्वती चौधरीको कीर्तिमान तोडेकी थिइन् । तर फाइनल चरणमा उनै सरस्वतीले निशालाई पछि पार्दै नयाँ कीर्तिमानसहित स्वर्ण जितिन् । फाइनल राउण्ड सरस्वतीले १२।१३ सेकेण्डमा दौड पूरा गरिन् । हिटमा कीर्तिमान बनाइकी निशा भने फाइनल राउण्डमा १२।२२ सेकेण्डको समय निकाल्दै दोस्रो भइन् ।

सुरुमा आफ्नै कीर्तिमान तोडिएको हेरेकी सरस्वतीले त्यसमा सुधार गर्दै राष्ट्रिय खेलकुदमा एकै विधामा लगातार दुई पटक स्वर्ण जितिन् । १०० मिटरमा दौडमा यो ह्यान्ड टाइमिङ कीर्तिमान हो । राष्ट्रिय खेलकुदमा पनि यो कीर्तिमान हो । तर इलेक्ट्रोनिङ टाइमिङमको कीर्तिमान भने सन् १९९९ को आठौं सागमा देवी माया पनेरुले बनाएकी थिइन् । उनले १२।१९ सेकेण्डको इलेक्ट्रोनिक टाइमिङ बनाएकी थिइन् ।

लङ डिस्ट्यान्स छाडेर स्प्रिन्टमा शिवराजको शान

१३औं सागका स्वर्ण विजेता गोपीचन्द्र पार्कीका भाई हुन् शिवराज पार्की । दाजुसँगै उनी पनि विभागीय टोली एपीएफमै छन् । यसअघि लामो दूरी दौडदैँ आएएका शिवराज अहिले छोटो दूरी अर्थात स्प्रिन्टमा दौडन थालेका छन् । उनले ४४औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा पनि १०० मिटरमा स्वर्ण जितेका थिए । नवौंमा पनि उनले त्यही लय कायम राख्दै १०.५६ सेकेण्डको टाइमिङसहित स्वर्ण जिते ।

स्वर्ण जितेपछि शिवाराजले आफ्नो दाजु गोपीचन्द्रसँगै प्रशिक्षक प्रमिला रिजालको पाउ छोए । दौडअघि नै स्वर्ण जित्ने विश्वासका साथ दौडिएको बताउने शिवराजले दाजु गोपीचन्द्रले नै आफूलाई स्प्रिन्टमा ल्याएको बताए । ‘म स्वर्ण जित्नेमा विश्वस्त थिएँ । सुरुमा पछि परे पनि मेरो फिनिसिङ राम्रो भएकोले जित्न सफल भएँ’, शिवारजले भने । उनले राष्ट्रिय खेलकुद नेपालको सबैभन्दा ठूलो खेलमेला भएकोले यसमा स्वर्ण जित्दाको छुट्टै अनुभव हुने बताए । उनले अबको दुई वर्ष भित्र राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य सुनाए । उनले रामकृष्ण चौधरीको नाममा रहेको १०.७१ सेकेण्डको इलेक्ट्रोनिक टाइमिङ भन्दा राम्रो टाइमिङ बनाए पनि ह्याण्ड टाइमिङको कीर्तिमान याम साजन सुनारको नाममा छ । यामसाजनको नाममा ह्यान्ड टाइममा १०.३ सेकेण्डको कीर्तिमान छ ।

१५०० मिटरमा आर्मी र एपीएफलाई स्वर्ण

१५०० मिटरमा आर्मी र एपीएफले एक एक स्वर्ण जिते । पुरुषतर्फ आर्मीका मुकेश पालले ३ मिनेट ५२।२१ सेकेन्डमा दूरी पूरा गरेर स्वर्ण पदक जिते । एपीएफका अजित यादवले ३ मिनेट ५३।११ सेकेन्ड समयसहित रजत तथा पुलिसका नागेश्वर अहिरले ३ मिनेट ५६।५ सेकेन्ड समयसहित कास्य जिते । महिला १५०० मिटर दौडमा एपीएफकी फुलमती रानाले ४ मिनेट ३८।१९ सेकेन्ड समय सहित स्वर्ण जिते ।

यस्तै आर्मीकी सरस्वती भट्टराईले ४ मिनेट ४१।०० सेकेन्डसहित रजत र आर्मीकै रेखा लिम्बुले ५ मिनेट ०३।८० सेकेन्डसहित कास्य जितिन् ।सटपुटको पुरुषतर्फ आर्मीका तिलक बिकले १२।८५ मिटर फाल्दै स्वर्ण जिते । आर्मीकै चित्रबहादुर वलीले १२।६४ मिटर फालेर रजत तथा बागमती प्रदेशका ललित रावतले ११।९५ मिटर फालेर कास्य जिते ।

सटपुट महिलामा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले १२।४० मिटर फालेर स्वर्ण जितिन् । चन्द्रकलाले यसअघि आठौं राष्ट्रियमा पनि सटपुटमा स्वर्ण जितेकी थिइन् । उनी छोरीलाई लिएर प्रतिस्पर्धाका आएकी थिइन् । लुम्बिनी प्रदेशी संगिता अधिकारीले १०।८३ मिटर फालेर रजत तथा नेपाल पुलिसकी वसन्ती चौधरीले ९।८६ मिटर पर फालेर कास्य जितिन् ।