ह्याण्डबलमा गण्डकी र सेनालाई स्वर्ण पदक

नवौं राष्ट्रिय खेलकुदको ह्याण्डबलमा घरेलु टोली गण्डकी प्रदेशको पुरुषतर्फ स्वर्ण पदक जितेको छ । शनिबार औपचारिक उदघाटन भएको प्रतियोगितामा आयोजक टिमले जितेको यो पहिलो स्वर्ण हो । गण्डकीले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४३-३६ ले पराजित गर्दै स्वर्ण जित्यो । खेलको अन्तिम तिर कडा प्रतिस्पर्धा हुँदा गण्डकीले लगातार अंक स्कोर गर्दै जित हात पारेको हो ।खेलपछि गण्डकी प्रदेशले घरेलु समर्थकमाझ सेलेब्रेट गरेको थियो । मेडल वितरण समारोहपछि पनि नाचगान र रमाइलो चलेको थियो । अन्य खेलमा विभागीय टोलीको दबदबा कायम रहँदा पुरुष ह्याण्डबलमा भने गण्डकी प्रदेशले नै दबदबा कायम राख्दै आएको छ । घरेलु कोर्ट र अनी घरेलु समर्थकको साथ पाएको गण्डकीलाई पहिलो स्वणर् दिलाएपछि कप्तान विशाल बस्नेत निकै हर्षित र खुशी देखिए ।

‘एकदमै खुशी लागिरहेको छ । पोखरामा ह्याण्डबलको ठूलो क्रेज छ । स्कुल लेभलमा पनि प्रतियोगिता हुन्छ । उनीहरु हामीसँग ट्रेनिङ गर्छन् । नवौंमा पहिलो स्वर्ण जिताउँदा खुशी लागेको छ,’ बस्नेतले भने, ‘हामीले यसका लागि विगत दुई महिनादेखि तयारी गरेका थियौँ । त्यसैको उपलब्धी अहिले पाएका छौं ।’ हुनत पाँचौं राष्ट्रियदेखि खेल्न थालेको गण्डकीले सातौंमा तेस्रो हुनु बाहेक सबैमा स्वर्ण जित्दै आएको छ । तैपनि यस पटक स्वर्णको खाता खोल्दाको रोमाञ्चकता पनि उत्तिकै छ । उनले पुरुष ह्याण्डबलमा विभागीय टोली विभागीय टोलीद्वय आर्मी र एपीएफसँगै गण्डकी पनि बलियो टोली रहेको बताए । भने, ‘यही तीन टोलीबीच नै प्रतिस्पर्धा हुने हो । चुनौती भनेकी यही टिम नै हो । हामीले स्वणर् जित्ने गरी नै तयारी गरेका थियौं र आज सफल भएका छौं । हाम्रो सामुहिक सहकार्य उत्कृष्ट थियो ।’ गण्डकीले अपराजित रहँदै स्वर्ण जितेको हो । समूह चरणमा मधेश प्रदेश, कणर्ाली प्रदेश र बागमती प्रदेशलाई हराएको गण्डकीले आर्मीसँग बराबरी खेलेको थियो । सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको गण्डकीले फाइनलमा भने आर्मीलाई नै हरायो ।

गण्डकीलाई समर्थन गर्न दर्शकको राम्रो उपस्थिति थियो । दर्शक र कोर्टको राम्रो साथ पाएको विशालले बताए । ‘हामीलाई होम कोर्ट र समर्थकको राम्रो समर्थन थियो । उनीहरुको अगाडी खेल्दा छुट्टै उर्जा हुन्छ’, कप्तान विशालले टिममा रहेका १४ जना बाहेक अरुको पनि समर्थन र मिहिनेत रहेको बताए । गण्डकीको ह्याण्डबल टिममा कप्तान विशालसहित राष्ट्रिय टिमका ६ खेलाडी छन् । उनले टिमका साथसाथै ट्रेनिङमा हुने सबैलाई र केही दिनअघि जन्मेकी आफ्नो छोरीलाई विशेष रुपमा पदक डेडिकेट गरे । कप्तान विशालले गत घटस्थापनाको दिन छोरी जन्मेको र छोरी आफ्नो लक्की चार्म भएको बताए । २४ असोजबाट पोखरा रंगशालाको कभर्ड हलमा सुरु भएको ह्याण्ड बलमा महिलातर्फ भने आर्मीले एपीएफलाई १७-१६ ले हराएर स्वर्ण जित्यो ।