एथलेटिक्सको चार स्वर्ण छिनोफानो दीपक र जयनारीले बनाए राष्ट्रिय कीर्तिमान

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष १० हजार मिटरमा आर्मीका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित  स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा आइतबार भएको दौडमा दीपकले गोपीचन्द्र पार्कीको कीर्तिमानलाई उछिन्दै स्वणर् पदक जितेका हुन् । उनले निर्धारित दूरी ३० मिनेट १० दशमलव ३० सेकेण्डमा पार गर्दै स्वर्ण जितेका हुन् । यसअघि गोपीको नाममा ३० मिनेट ३० दशमलव ९९ सेकेण्डको कीर्तिमान रहेको थियो । सोही प्रतिष्पर्धामा गोपीचन्द पार्कीले रजत पदकमा चित्त बुझाए । उनले निर्धारित दूरी ३० मिनेट ३८ दशमलव ३० सेकेण्डमा पूरा गरे । तेस्रो आर्मीकै गजेन्द्र राईले कास्य पदक हात पारे । उनले निर्धारित दूरी ३० मिनेट ४९ दशमलव ५० सेकेण्डमा पूरा गरेका थिए ।

एथलेटिक्सको ४ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लवकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । जयरानीले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेण्डमा पूरा गर्दै कीर्तिमानसहित स्वणर् जितेकी हुन् । जयरानीले आफ्नै नामको कीर्तिमान सुधार गरेकी हुन् । जयरानीले यसअघि ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७ दशमलव २ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् । यस प्रतिष्पर्धामा एपीएफकी भागीरथीकुमारी थारुले १ मिनेट ०६.०६ सेकेण्डमा पूरा गर्दै रजत पदक निकाल्दा एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेण्डको समय निकाल्दै कास्य पदकमा चित्त बुझाइन् ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको पुरुष हाइजम्पमा त्रिभूवन आर्मी क्लबका सूर्यबहादुर खत्रीले स्वर्ण पदक जिते । सूर्यले १.९० मिटरको उचाई नाघेर स्वर्ण जितेका हुन् । यस्तै, वागमती प्रदेशका निकेश महतोले १.७५ मिटर उचाई नाघ्दै रजत तथा नेपाल पुलिसका रोशन दनुवारले १.७५ मिटर नै उचाई नाघेर कास्य जितेका छन् ।

यही इभेन्टमा आर्मीकी खगिता सिन्जाली मगरले आईतवार बिहानै स्वर्णपदक जितेकी थिइन् । पोखरा रंगशालामा आईतवार  भएको खेलमा १.५२  मिटर उचाई नाघेर स्वणर् पदक जितेकी हुन् । यसै इभेन्टमा आर्मीकै बिन्दु थनेटले रजत र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कास्य पदक जिते । बिन्दुले १.५० तथा सीमाले १.४१ को उचाई नाघेका थिए ।