कर्णालीले जित्यो पहिलो स्वर्ण

स्टिबल चेस ३ हजार मिटरमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्णपदक जितेका छन् । दुर्गाले जितेकाे स्वर्ण नवाैँ राष्ट्रियमा कर्णालीकाे पहिलाे हाे । बुढाले ८ मिनेट ५५ः१९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन् । एपीएफका अजित यादवले ९ मिनेट २१ः१० सेकेण्डसहित रजत र त्रिभुवन आर्मी क्लबका सुबास कार्कीले ९ मिनेट २२ः१५ सेकेण्डसहित कास्य जिते ।

विजेता बनेपछि प्रतिक्रिया दिंदै उनले स्वर्ण पदक जित्छु भन्नेमा पहिल्यै विश्वस्त रहेको बताए । ‘मलाई स्वर्ण जित्छु भन्ने पहिलै थाहा थियो । पोखराको ट्रयाक राम्रो छ । यहाँको फास्ट ट्रयाक छ । जित्छु भन्ने लागेको थियो,’ दुर्गाले भने । दुर्गाविरुद्ध तीन विभाग सहित चार टिमले प्रोटेस्ट दर्ता गराएका थिए । उनले भारतबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै आएको भन्दै प्रोटेस्ट दर्ता गरेका थिए ।

उनले आफू नेपाली भएको र नेपाली नागरिकता भएकाले नेपालको राष्ट्रिय खेलकुद खेल्न पाउने बताए । ‘म रोजीरोटीका लागि भारत गएको थिएँ । मसँग नेपाली नागरिकता नै छ । मैले भारतको लागि पनि खेलेको थिएँ । उताबाट एनओेसी ल्याएँ भने मैले नेपालका लागि पनि खेल्न पाउँछु ।’