विभागीय टोली त्रिभुवन आर्मी क्लबका सोम कुमालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एथ्लेटिक्सको ४०० मिटर दौडमा कीर्तिमानी स्वर्ण पदक जितेका छन् । मंगलबार पोखरा रंगशालामा भएको खेलमा उनले ४७.९५ सेकेन्डमा समय निकाल्दै स्वर्ण जितेका हुन् । सोमले यसअघि आफ्नै नाममा रहेको ह्यान्ड टाइमिङको ४८.२ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् । महिलातर्फको ४ सय मिटर दौडमा एपीएफकी रमिता कुमारी थारुले कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
रमिताले निर्धारित दुरी ५८.१० सेकेन्डमा पूरा गरिन् । उनको यो राष्ट्रिय प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेकी हुन् । रमिताले दिलमाया कार्कीको नाममा रहेको कीर्तिमान तोडेकी हुन् । महिलातर्फ आर्मीकी निर्मला थापाले १ मिनेट ००.१४ सेकेन्डमा पूरा गर्दै रजत जितिन् ।