सुरु भयो नेपाली फुटबलको महाकुम्भ

सहिद स्मारक ए डिभिजन लिग शुक्रबारबाट सुरु भएको छ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले एक समारोहबीच लिगको उद्घाटन गरेका हुन् । पहिलो खेलमा नवप्रवेशी एफसी खुमलटारले लिगमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेण्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै खुमलटारले सुखद् सुरुवात गरेको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गरेका थिए । उनले ८९ औँ मिनेटमा आएर गोल गरेका थिए । जितसँगै खुमलटारले पहिलो खेलमा ३ अंक जोडेको छ ।

तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउनेछन् ।  मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।  प्रत्येक खेलको विजेता क्लबले म्याच मनीबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।