‘प्रेमालय’ र ‘रुमानी’ घोषणा

काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै एकसाथ २ चलचित्रको घोषणा गरिएको छ । दरबारमार्गस्थित क्यूज चलचित्र भवनमा आयोजित कार्यक्रममा कुमार शाहले निर्देशन गर्ने चलचित्र ‘प्रेमालय’ र मनोज अधिकारीको निर्देशन रहने चलचत्रि ‘रुमानी’ को घोषणा भयो । ‘प्रेमालय’ मा निराजन प्रधान, मरिष्का पोखरेल, सन्नी ढकाल, डाक्टर सूर्या थापा, रविन्द्र झा, दालमान पुन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । यस्तै, मनोज अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘रुमानी’का लागि सन्नी ढकाल मात्र फाइनल गरिएको छ ।

घोषणा भएका दुवै चलचित्रमध्ये ‘प्रेमालय’को नेपाल छायांकन आगामी सातादेखि सुरु हुनेछ भने अस्ट्रेलिया छायांकनको लागि असार पहिलो सातादेखिको सेड्युल राखिएको कार्यक्रममा जानकारी दिइयो । दुवै चलचित्रको छायांकन दशैं अगाडी सक्ने निर्माण युनिटले योजना बनाएका छन् ।

प्रेमकथामा बन्ने ‘प्रेमालय’मा विदेशमा बस्ने छोरा बुहारीको बच्चा स्याहार्न बाबुआमालाई घुम्ने बहानामा बोलाउने कथा देखाउन खोजिएको कार्यक्रममा जानकारी गराइयो ।

त्यस्तै ‘रुमानी’ मा विदेश गएकी पत्नीले आफ्नो पति अर्कैसँग प्रेममा पर्दा पाएको पिडा र पति फर्काउन गरेको संघर्षका कथा छन् ।

एसके स्क्वाएर प्रोडक्सन र एप्लस इन्टरटेनमेन्टको ब्यानरमा बन्ने ‘प्रेमालय’मा कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी, किरण माइकल र ऋषिकेश गिरी छन् ।

त्यस्तै निर्मातामा सुभाष श्रेष्ठ, सहनिर्मातामा सुक बहादुर कामी, थुम प्रसाद छन्त्याल र शेरबहादुर रोका क्षेत्री रहेका छन् । किरण माइकलको लेखन रहेको ‘प्रेमालय’मा राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत रहनेछ ।

चकलेटी मोडलको रुपमा चर्चा कमाइसकेका मोडल निराजन प्रधान अब फिल्मी पर्दामा देखिने पक्का भएको छ । फिल्म ‘प्रेमालय’ मार्फत उनी ठुलो पर्दामा देखिन लागेका हुन ।यसअघी फाट्टफुट्ट केही फिल्ममा देखिए पनी मुख्य भूमिकामा उनी कुनै फिल्ममा देखिएका थिएनन । फिल्ममा उनले नायिका मरिस्का पोखरेलसँग रोमान्स गर्दैछन । निराजनको म्युजिक भिडियो अभिनयमा निकै तारिफ हुने गरेको छ । फिल्मको लागि निर्देशक भन्दा पनि राम्रो स्क्रिप्टको पर्खाइमा थिएँ बल्ल त्यो स्क्रिप्ट मेरो हातमा आयो र फिल्म गर्न राजी भएँ’ निराजनले भने । उनी भन्छन ‘म्युजिक भिडियोमा दर्शकको जुन साथ र माया पाएको छु त्यो फिल्ममा पनि अवश्य पाउनेछु ।’