सर्बाधिक धनराशी पुरस्कार रहेको: ‘नेपाल लोक आइडल-२०७५ ’ हुने

काठमाडौं । पहिलो पटक सर्बाधिक धनराशी पुरस्कार रहेको टेलिभिजन रियालिटी शो ‘नेपाल लोक आइडल-२०७५ ’ हुने भएको छ । स्वदेशी गीत तथा संगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाल लोक आइडल २०७५’ का लागि प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ३० लाख, रु १५ लाख र रु १० लाख पुरस्कार घोषणा गरिएको छ ।

सार्थक डिजिटल म्युजिक प्रालिको आयोजनामा हुने उक्त कार्यक्रममा आगामी साउनदेखि सातै प्रदेशमा गायक छनोट प्रक्रिया शुरु गरिने तथा नेपाली लोक संस्कृतिको जर्गेना, सम्बर्द्धन, र संरक्षण गर्ने उद्देश्यले नेपाल लोक आइडलको आयोजना गरिएको आइडलका संयोजक जीवन पन्तले जानकारी दिए ।  पहिलो चरणमा सातैवटै प्रदेशमा प्रतिभाहरुको छनोट गरिने बताउँदै संयोजक पन्तले भने, ‘हाम्रो प्रयास कठिन भएतापनि हामीहरु कुनै पनि हालतमा यो आइडललाई भव्य रुपमा सम्पन्न गर्छौं, अरु भन्दा बिरलै आफ्नो पन दिने खालको आइडल हो, यसलाई सफल पार्न सबैको साथ मिल्ने मैले आशा गरेको छु ।’

लोक संस्कृतिका आधारमा स्थानीय विज्ञ, निर्णायकद्वारा पहिलो चरणमा प्रत्येक प्रदेशबाट १०/१० जनालाई छनोट गरिनेछ भने पहिलो चरणमा सबै प्रदेशमा प्रतिभाको छनोट भएपछि ७० जनालाई काठमाडौँमा ल्याएर उच्च तहको तालीम उपलब्ध गराइनेछ । आइडलले जन्माएका प्रतिभाहरुले भविष्यमा लोक गीत–संगीतको संरक्षणका लागि आफूलाई समर्पित बनाउने विश्वास गरिएको छ ।

लोक आइडलले देश–विदेशमा हुने कार्यक्रममा नेपाली लोक संस्कृतिको संरक्षणमा भूमिका निर्वाह गर्ने तथा ’नेपाली लोक संस्कृतिमा गलत प्रहारलाई रोक्न र नेपाली लोक गीतको मर्म र भावनालाई बचाउनमा यस आइडलले थोरै भएपनि भूमिका खेल्छ, काम गर्ने मानिसहरुका खुट्टा काट्नेहरु धेरै हुन्छन्, हामीले यो आइडल कुनैपनि हालतमा सम्पन्न गरेरै छोड्छौं ।’ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सदस्य तथा गायक शिव हमालले विश्वास व्यक्त गरे । नेपाली लोक संस्कृति संरक्षण तथा लोक गीतको मर्म र भावनालाई बचाउनमा यस आइडलको महत्व रहेको आयोजकले जनाएका छन् ।