गायिका ज्योतिलाई मेयरको गुन्यूचोलो उपहार

गायिका ज्योतिलाई जुम्लामा  व्यापार महोत्सवको अवसरमा गुन्यूचोलो उपहार मिलेको छ ।यहाँ सञ्चालन भइरहेको प्रादेशिक औद्योगिक व्यापार मेलामा आफ्नो प्रस्तृति गर्न आएकी गायिका मगर  छाडा पहिरनमा प्रस्तुत भएपछि गुन्यु–चोली उपहार दिइएको हो । चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालले चर्चामा आइरहने गायिका ज्योति मगरलाई नेपाली परम्परा झल्किने गुन्यु–चोली उपहार दिएकी छिन् ।

स्टेजमा चढेपछि ग्ल्यामररुपमा छोटा लुगामा देखिएर दर्शकलाई आफूतिर तान्ने गरेकी गायिका ज्योति मगरले  गुन्यूचोलो  उपहार ग्रहण गर्दै  मेयर सेजुवालको उपहारले नारीले नै नारीलाई दमन गरेको प्रतिक्रिया दिइन् ।उनले भनिन्, ‘मान्छे स्वतन्त्र छ, आफूले रुचाएको पहिरन लगाउन पाउनुपर्छ । अहिलेको जमाना त्यो वेलाको बाजेको पालाको जमाना होइन । यस्तो उपहारले आफूलाई अपमान महसुस भएको छ। एउटा नारीले नारीको सम्मान गर्न नसक्दा समाजमा महिला हिंसाका घटना बढ्ने गरेको जिकिर गायिका मगरको थियो । उनले छोटो पहिरनले कुनै फरक नपार्ने, तर मान्छेको सोच सकारात्मक हुन आवश्यक रहेको बताउँदै मेयर सेजुवाललाई भनिन्, ‘मेयरज्यू ! मान्छेको सोच सकारात्मकतिर बदल्न प्रयत्न गर्नुहोला ।

गायिका ज्योति मगरको पहिरन र स्टेज प्रस्तुतिलाई लिएर आलोचना हुने गरेको छ ।  मेयर कान्तिका सेजुवाल पनि उनको लवाइप्रति असन्तुष्ट भइन् । त्यसैले जुम्ला आएको वेला ज्योतिलाई यहाँका महिलाको प्रमुख पहिरनको रूपमा रहेको गुन्यु चोली उपहार दिएको उनले बताइन् ।  गुन्यु–चोली उपहार दिएको बारे प्रस्ट पार्दै मेयर सेजुवालले भनिन् ‘ज्योतिलाई सामाजिक सद्भाव फैलाउन प्रेरणा मिलोस् ।  ज्योतिको कलाकारिताको म कदर गर्छु, तर उनको छाडा पहिरन र प्रस्तुति समाजमा अलि पाच्य नहुने अश्लीलता फैलाउने खाले हुने गरेको छ ।’मेयर सेजुवालले आगामी दिनमा कलाकारिताका नाममा अश्लीलता फैलाउनेभन्दा पनि महिलाका वेदना, दुःख समेटिएका गीत गाउन तथा प्रस्तुति प्रर्दशन गर्न सुझाब दिइन् ।