केएनपी महिला भलिबल: एपीएफ च्याम्पियन सरस्वती सर्वोत्कृष्ट, रेश्मालाई स्पेशल अवार्ड

काठमाडौँ — नेपाल एपीएफ क्लबले चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पन्छाउँदै वर्षको पहिलो उपाधि हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको फाइनलमा मंगलबार एपीएफ २५–१२, २५–१९, २५–१७ ले विजयी भयो । प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित सरस्वती चौधरीले राम्रो प्रदर्शन गरेपछि एपीएफले सहज जित दर्ता गरेको थियो । उपाधि विजेता एपीएफले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता पुलिसले १ लाखमा चित्त बुझायो ।

पहिलो सेटमा पुलिसका खेलाडीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा एपीएफले सहजै १–० को अग्रता बनायो । दोस्रो सेटमा पुलिसले बलियो पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको थियो । तर दोस्रो सेटको अन्त्यतिर पुलिसले लय गुमाउँदा एपीएफले खेलमा २–० को अग्रता लियो । तेस्रो सेटमा पनि पुलिसले दोस्रो सेटझैं प्रदर्शन दोहोर्‍याउँदै नतिजा एपीएफलाई सुम्पियो ।

प्रशिक्षक विष्ट प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक घोषित हुँदै ५ हजार रुपैयाँ हात पारे । आयोजक शेरबहादुर खडका स्मृति प्रतिष्ठानले एपीएफकै रेश्मा भण्डारीलाई स्पेसल अवार्ड प्रदान  गर्‍यो । सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।   सरस्वती र रेश्मा दुवैले घडी र १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा उच्च प्रदर्शन गर्नेमध्येको एकजनालाई शेरबहादुर खड्का स्पेशल अवार्डबाट सम्मानित गरिएको आयोजक शेरबहादुर स्मृति प्रतिष्ठानले जनाएको छ । 

प्रतियोगिता व्यक्तिगत विधातर्फ शवम् न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स र कप्तान ललितानाथ उत्कृष्ट क्वीकर घोषित भए । पुलिसकी कमला पुन उत्कृष्ट सेटर र मनिषा चौधरी उत्कृष्ट ब्लकर घोषित हुदा एपिएफकी उषा विष्ट उत्कृष्ट सर्भर  । व्यक्तिगत विधातर्फको सबै विजेताले जनही ५ हजार रुपैया प्राप्त गरे ।

त्यसअघि तेस्रो स्थानका लागि भएको खेलमा शिवम न्यू डायमन्डले पश्चिमाञ्चल भलिबल संघलाई २५–१४, २५–१६, २५–१४ को फराकिलो स्कोरमा हराएको थियो । स्पाइकर प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनमा न्यू डायमन्डले पश्चिमेली टोलीलाई खेलको सुरुआतदेखि नै दबाबमा राखेको थियो । प्रतिभा प्रतियोगिताकै उत्कृष्ट स्पाइकर हुँदै ५ हजार रुपैयाँ पनि पाइन् । न्यू डायमन्डले ५० हजार रुपैयाँ पुरस्कार पनि पायो ।

विजयी टिम तथा खेलाडीहरुलाई राखेपका सदस्यसचिव केशव कुमार विष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द, कन्सई नेरोलिक पेन्टस् (केएनपी)  का प्रतिनिधि र शिवम् सिमेन्टका प्रतिनिधिहरु पुरस्कृत गरे । बैशाख २१ गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न ६ टोलीले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए ।

व्यक्तिगत पुरस्कार


सरस्वती चौधरी एपीएफ सर्वोत्कृष्ट खेलाड

            रेश्मा भण्डारी एपीएफ स्पेसल

          प्रतिभा माली न्यू डायमन्ड स्पाइकर


सलिना श्रेष्ठ न्यू डायमन्ड डिफेन्स


मनीषा चौधरी नेपाल पुलिस ब्लकर


कमला पुन पुलिस सेटर


उषा विष्ट एपीएफ सर्भर


ललिता नाथ न्यू डायमण्ड क्विकर


ज्ञानेन्द्र विष्ट एपीएफ प्रशिक्षक