अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा एक रनले पराजित गर्दै इतिहास रच्न सफल भएको हो।
नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछएको नेदरल्यान्ड्सलाई ५० ओभरमा अलआउट गर्दै २ सय १५ रनमा रोकेपछि नेपालले सनसनीपूर्ण जित हासिल गरेको हो । जितको नजिक पुगेको नेदरल्यान्ड्सको अन्तिम विकेट कप्तान पारस खड्काले रन आउट गरेपछि नेपाल विजयी भएको थियो । अन्तिम बलमा नेदरल्यान्ड्सलाई जितका लागि २ रनको आवश्यकता थियो । नेदरल्यान्डका लागि वेस्ले वारेसीले सर्वाधिक ७१ रनको योगदान दिए । ड्यानियल टेर ब्राकले ३९ रन जोडे । पिटर सिलार २१ त्था विन कुपर १९ रनमा आउट भए । फ्रेड क्लासिन १३ रन, सेन स्नाटर १२ रन, एसए इडवार्डस् ९ रनमा आउट भए । पाउल भान मिकिरिन १२ रनमा नटआउट रहे ।
नेपालका लागि सन्दिप लामिछाने ३, ललित भण्डारीले २, सोम्पाल कामी, कप्तान पारस खड्का, वसन्त रेग्मी र दिपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल बनाएको थियो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए । उत्कृष्ट ब्याटिङ गरेका उनले ४६ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६१ रन जोडेका हुन् । त्यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले पनि अर्धसतक प्रहार गरे। ६९ बल खेलेका उनले दुई छक्का र ६ चौका प्रहार गरे ।
सुवास खकुरेल १९, दीपेन्द्रसिंह ऐरी १९, अरिफ शेख १६, उपकप्तान ज्ञानेन्द्र मल्ल १३, सन्दीप लामिछाने आठ, अनिलकुमार साह चार, ललित भण्डारी चार, रोहितकुमार पौडेल ६ तथा वसन्त रेग्मीले एक रनमात्र जोडे ।बलिङतर्फ नेदरल्यान्ड्सका फ्रेड क्लासेनले तीन विकेट लिए भने पिटर सिलर र माइकल रिप्पोनले दुई/दुई विकेट लिए।
दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो । योसँगै २ खेलको सिरिज १/१ को बराबरीमा सकिएको छ।