एनआरटीको विजयी शुरुवात

न्यूरोड टिम (एनआरटी)ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी शुरुवात गरेको छ । सरोज तामाङले दुई गोलसँगै एनआरटीले सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले हराएको हो । एनआरटी गत वर्ष लिगको पुछारमा थियो । त्यही कारण यो सिजन सुरु हुँदा एनआरटीको दुई अंक ऋणात्मक थियो । मंगलबारको जितसँगै त्यो ऋण कटाएर एनआरटीले एक अंक जोडेको छ ।
सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले ४०औं मिनेटमा जुनियर ओंगेको गोलबाट अग्रता लिएको थियो । एनआरटीले दोस्रो हाफमा तीन गोल थप्यो । ६९ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका सरोज तामाङले ८१ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । एनआरटीका लागि ९० औं मिनेटमा जोर्डन जुनियर निडेम्बाले गोल गर्दै फराकिलो जित दिलाए ।
पुलिस र हिमालयन शेर्पाबीचको खेल बराबरी

शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस र हिमालयन शेर्पा क्लबले बराबरी खेलेर अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार भएको खेलमा पुलिस र शेर्पाले गोलरहित बराबरी खेलेका हुन् ।
दुवै टिमले केही अवसर पाएपनि गोल गर्न भने सकेनन् । भेट्रान फरवार्ड जुमाई राईको कप्तानीमा पुलिस शेर्पाविरुद्ध खेलेको हो । यस्तै मिडफिल्डर भोला सिलवाल, राष्ट्रिय टिमका अजित भण्डारी, रवि शंकर पासवान, तेज तामाङ अनि राष्ट्रिय टिमबाटै खेलिसकेका फरवार्ड सुमन लामा टिममा रहे पनि पुलिसले हिमालयन शेर्पाविरुद्ध गोल गर्न सकेन ।उता मान बहादुर तामाङको कप्तानीमा रहेको हिमालयन शेर्पामा विश्वास श्रेष्ठ, किशोर गिरी, रवि थापा जस्ता खेलाडी रहेका छन् । बराबरीपछि दुवै टिमले एक-एक अंक जोडेका छन् ।



