काठमाडौं म्याराथन :कान्छीमाया र नरेन्द्र च्याम्पियन

काठमाडौं म्याराथनको उपाधिमा कान्छीमाया कोजुले ह्याट्रिक गरेकी छन् । शनिबार बिहान भएको म्याराथनमा कान्छीमायाले महिलातर्फ लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गरेकी हुन् । नेपाल एपीएफ क्लबकी धाविका कान्छीमायाले निर्धारित दुरी दुई घन्टा ५७ मिनेट २७ सेकेन्डमा पूरा गरिन् । यसअघि दुई संस्करणको च्याम्पियन उनको यो समग्रका पाँचौं काठमाडौं म्याराथन उपाधि हो । आर्मीकी सरिता वासी दोस्रो भईन् । सिरताले निर्धारित दुरी तीन घन्टा १९ मिनेटसात सेकेन्डमा पूरा गरिन् । निर्जला ताम्राकार तेस्रो भईन् । निर्जलाले तीन घन्टा ४५ मिनेट ४७ सेकेन्डमा दौड पूरा गरिन् ।

१३औं संस्करणको यस म्याराथनमा पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले वर्चस्व जमाएको छ । पुरुषमा आर्मीका नरेन्द्रसिंह रावल च्याम्पियन भए । नरेन्द्रले निर्धारित दुरी दुई घन्टा ३३ मिनेट १० सेकेन्डमा पूरा गरे । आर्मीकै वेदबहादुर सुनारले दुई घन्टा ३४ मिनेट २० सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो र आर्मीकै ज्ञानप्रसाद भट्टराईले दुई घन्टा ३४ मिनेट ४५ सेकेन्डमा दौड सक्दै तेस्रो भए । म्याराथन विजेताले उपाधिसँगै ५० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी हाफ म्याराथनमा पनि आर्मीका खेलाडीले वर्चस्व जमाए । पुरुषमा आर्मीका राजन रोकाया पहिलो, आर्मीकै हरि कुमार रिमाल दोस्रो र रामजी बस्नेत तेस्रो भए ।  महिलामा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने पहिलो, आर्मीकै सानुमाया कार्की दोस्रो र नेपाल पुलिस क्लबकी रेखा बिष्ट तेस्रो भए । हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजारहजार र सात हजार रुपैयाँ पुरस्कार पाए । दशरथ रंगशबालाबाट सुरु भएको म्याराथन शहरका विभिन्न स्थान हुँदै पुनः दशरथ रंगशालामा आएर सकिएको थियो ।

५ किलो मिटर खुला तर्फ पुरुषमा एपिएफका अजित कुमार यादवले निर्धारित दुरी १७ मिनट १९.७१ सेकेन्डमा पुरा गर्दै जित हात पारे । सेनाका गजेन्द्र राईले उक्त दुरी १७ मिनट ३०.६३ सेकेन्डमा पुरा गर्दै दोश्रो र शिब रायले १७ मिनट ५३.२२ सेकेन्डमा पुरा गर्दै तेश्रो भए । महिला तर्फ सेनाकी सरस्वती भट्टराईले बाजी मारिन् । उनले निर्धारित दुरी २२ मिनिट ०३.४१ सेकेन्डमा पुरा गरिन् । यस्तै दोश्रो स्थानमा रहेकी पुलिसकी बिर्सना कुमालले २३ मिनट ०९.३० सेकेन्ड र तेश्रो स्थानमा रहेकी पुलिसकै काजल बिष्टले २३ मिनट ३१.१० सेकेन्डमा पुरा गरे ।

५ किलोमिटर मास्टरमा धर्म महर्जनले स्वर्ण हात पार्दा भिम बहादुर गुरुङ्गले रजत र कपिल भट्टराईले कास्य पाए । महिला तर्फ अनु चित्रकारले स्वर्ण पाईन् । बिजयी खेलाडीहरुले १० हजार ६ हजार र ४ हजार सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।

५ कि.मि. छात्र तर्फ गोल्डेन फ्युचर सेकेन्डरी स्कुलका समिर रसाईलीले स्वर्ण, नेपालय एजुकेसन फाउन्डेशनका अमृत बोटले रजत र एभरेष्ट बोर्डिङ्गका नारायन कुमार कसवाले कास्य पाए । छात्रा तर्फ विजेशवरी ज्ञान मन्दिरका खेलाडीहरुले तीनै स्थान कब्जा गरे । सुलोचना बलामीले स्वर्ण, रचना रानामगरले रजत र सुनिता श्रेष्ठले कास्य पाए । उनीहरुले ५ हजार ३ हजार र २ हजार प्राप्त गरे ।

ह्विल चेयरको तीन कि.मि. दौडमा पुरुष तर्फ कृष्ण राज चौधरी प्रथम, सन्देश चौधरी द्वितीय र नरबहादुर दाहाल तृतिय भए । यस्तै महिला तर्फ यामी झाक्री प्रथम, सर्मिला थोकर द्वितीय र ज्योती अर्याल तृतिय भए । उनीहरुले नगद ५ हजार, तीन हजार र दुई हजारका साथै मेडल प्रमाण पत्र प्राप्त गरे ।

यस्तै फेमिली रन तर्फ ३ कि.मि.को दौडमा पहिलो स्थानमा अवस्ती कार्की, भगवान कार्की र अप्सरा महतले पहिलो स्थान प्राप्त गरे । दोश्रो स्थानमा प्राप्तीआचार्य र चादनी कार्की तथा तेश्रो स्थानमा लेगिना घिमिरे र सुश्मिता तिमलस्निाले हात पारे ।

प्रो स्पोर्टस्को आयोजनामा भएको प्रतियोगितामा बिजयी खेलाडीहरुलाई प्रदेश नं. ३ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका सचिव शिव कुमार वाग्ले, पूर्व सशस्त्र प्रहरीबलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, ओलम्पियन बैकुण्ठ मानन्धर, क्याथी ड्रागनका अभित श्रेष्ठ, डाईनिङ्ग पार्कका आभाष पाण्डे लगायतले पुरस्कार वितरण गरेका थिए ।