मछिन्द्र शीर्ष स्थानमा उक्लियो, सन्जोगको ह्याट्रिकमा थ्रीस्टारको सानदार जित

शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले सशस्त्र प्रहरीको एपीएफलाई हराएको छ र, शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा मछिन्द्रले एपीएफलाई २-१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा खेलको पहिलो हाफमा एक गोलले पछि परेको मछिन्द्रले दोस्रो हाफमा पुनरागमन गरेको थियो ।

एपीएफले ४३औं मिनेटमा रमेश डंगोलको गोलबाट अग्रता लिएको थियो । तर दोस्रो हाफको सुरुमा नै विशाल राईले मछिन्द्रलाई बराबरी गोल गरे । खेलको ७९औं मिनेटमा मछिन्द्रले पेनाल्टी पायो, जसमा रंजित धिमालले गोल गर्दै मछिन्द्रलाई महत्वपूर्ण तीन अंक दिलायो । जितपछि मछिन्द्र १० खेलबाट २२ अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा झरेको त्रिभुवन आर्मीको १९ अंक छ र उसले एक खेल कम खेलेको छ । एपीएफ भने १० खेलबाट ५ अंकसहित १३औं स्थानमा छ ।

संजोग राई शहीद स्मारक ए डिभिजन लिग २०७६ मा हृयाट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । संजोगको हृयाटि्रक मद्दतमा थ्रीस्टारले शनिबार सरस्वती युथ क्लबलाई ४-० ले पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा सरस्वतीले पहिलो हाफमा थ्री स्टारलाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा चार गोल गर्‍यो । ४८ औं मिनेटमा भारतीय खेलाडी लालराम्भराले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । त्यसपछि संयोज छाए । ५७औं मिनेटमा व्यक्तिगत गोलको खाता खोलेका उनले ६६औं र ७१औं मिनेटमा गोल गर्दै हृयाटि्रक पूरा गरे । जितपछि थ्रीस्टारले १० खेलबाट १७ अंक जोडेको छ ।