एकै खेलमा साम्बाको १२ गोल,शर्मिलाको ह्याट्रिक

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले महिला राष्ट्रिय लिगमा गोलको वर्षा गरेको छ। सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफले चौदण्डीगढी नगरपालिका उदयपुरमाथि २२-० को फराकिलो अन्तरको जित हात पारेको हो। लगातार छैटौं खेलमा जित हात पारेको एपिएफका लागि उत्कृष्ट लयमा देखिएकी सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले १२ गोल गरिन्। साम्बाले पहिलो हाफमा पाँच गोल गरिन् भने दोस्रो हाफमा ७ गोल गरिन्।

उनले खेलको ५, ३२, ३३, ३४, ३८, ४७, ५५, ६२, ६३, ७२, ७९ र दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेकी थिइन्। साम्बाले  यसअघिमा चार खेलमा तीन ह्याट्रिक गरेकी थिइन्। एपिएफका लागि अनु लामाले ५ गोल गरिन् भने अनिता बस्नेतले ह्याट्रिक पूरा गरिन्। सरु लिम्बु र रेनुका नगरकोटीले थप १-१ गोल गरे। लिगको शीर्ष स्थानमा रहेको एपिएफले लगातार ६ जित निकाल्दै १८ अंक जोडेको छ।अंकबिहीन चौदण्डीगढी अंक तालिकाको पुछारमा छ। जारी प्रतियोगितामा एपिएफले अहिलेसम्म ६ खेलमा ४३ गोल गरिसकेको छ भने कुनै पनि गोल खाएको छैन।

महिला राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लबले सहज जित हात पारेको छ। आर्मीले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा विराटनगर महानगरपालिकालाई ७-० गोलले पराजित गर्‍यो। आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् भने विमला चौधरीले दुई गोल गरिन्। रिश्मी घिसिङ र विमला विकले एकएक गोल थपे। शर्मिलाले खेलको ४५ मिनेट, पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेट र ६१ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेकी थिइन्।

विमलाले ३६ र ८५ मिनेटमा गरी दुई गोल गरिन्। विमला विकले ७१ मिनेट र रश्मिले ६७ मिनेटमा गोल गरे। जितपछि आर्मीका प्रशिक्षक राजु तामाङले सुरुवातमा मिडफिल्डमा समस्या देखिएकाले गोल हुन नसकेको बताए। ३६ मिनेटमा पहिलो गोल गरेसँगै आर्मीको आत्मविश्वास बढेको उनको भनाइ छ। विराटनगरका प्रशिक्षक पारस चौधरीले आर्मीलाई बराबरीमा रोक्ने प्रयास गरेको बताए। तर पहिलो गोल खाएसँगै आफ्नो रणनीतिले काम नगरेको उनको भनाइ छ। जितसँगै आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। आर्मीले ५ खेलबाट १० अंक जोडेको छ। शीर्ष स्थानको एपिएफको १५ अंक छ भने तेस्रो स्थानमा झरेको पुलिसको ८ अंक छ। विराटनगर ५ खेलबाट ७ अंक जोड्दै चौथो स्थानमा छ।