२०औं एसियन गेम्स (एसियाड) का लागि जापान प्रस्थान गर्नुअघि नेपालको अपेक्षा थियो– स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने । सरकारले सोही लक्ष्यसहित २०८० माघदेखि ‘मिसन–२६’ सुरु गरेको थियो । तर नेपाल लक्ष्यको नजिक त पुग्न सकेन । एसियाडमा २१ खेलमा १३५ खेलाडी सहभागी गराएको नेपालले जम्मा दुई कास्य पदकमा चित्त बुझाउनुपर्यो । करातेका तेञ्जिङ शेर्पा र महिला कबड्डी टोलीले नेपालको साख जोगाए । महिला कबड्डी टोलीले १९औं एसियाडमा जितेको कास्यलाई निरन्तरता दिँदा तेञ्जिङले करातेमा पहिलो पटक कास्य पदक दिलाए । तर १९औं एसियाडमा रजत पदक जितेकी करातेकी एरिका गुरुङ यस पटक पदकविहीन बनिन् । पदकको आशा गरिएका अन्य खेलबाट पनि नेपालले अपेक्षित सफलता हात पार्न सकेन ।
नेपालले एसियाडमा सहभागिता जनाउन थालेको ७५ वर्ष भइसकेको छ । तर हालसम्म एउटा पनि स्वर्ण पदक जित्न सकेको छैन । ३ रजत र २५ कास्य पदकमा नेपालको ७५ वर्ष बितेको छ । नेपालले एसियाडलाई पदक जित्नुभन्दा सहभागी हुनुलाई नै उपलब्धिको रूपमा लिनुपर्ने अवस्था छ । नेपालको प्रदर्शन हेर्दा सबैभन्दा ठूलो प्रश्न तयारीमै देखिन्छ । सरकारले दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखे पनि एसियाडको तयारीका क्रममा बजेट अभावका कारण करिब चार महिनासम्म खेलाडीको प्रशिक्षण प्रभावित भयो । एसियाड जस्तो ठूलो प्रतियोगिताका लागि वर्षौं अघिदेखि स्पष्ट योजना, निरन्तर प्रशिक्षण र पर्याप्त बजेट आवश्यक हुन्छ । तर नेपालमा मुख्य प्रतियोगिता नजिकिएपछि मात्र तयारी तीव्र बनाउने प्रवृत्ति अझै हट्न सकेको छैन ।

अन्तिम तयारीकै समयमा पनि खेलाडीले पर्याप्त खेल सामग्री र डाइट पाउन सकेनन् । उच्च प्रदर्शनका लागि प्रशिक्षण मात्र पर्याप्त हुँदैन, अन्तर्राष्टिय एक्सपोजर पनि उत्तिकै महत्वपूर्ण हुन्छ । तर कतिपय खेलाडीले एसियाडमै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेले । एसियाडको तयारीमा रहेको भारतको महिला कबड्डी टोलीले स्वदेशमै बोलाएर इरानसँग अभ्यास खेल खेल्यो । सोही टोलीसँग एसियाडमा फाइनल खेल्ने अवसर पनि जुर्यो । जसमा इरानलाई हराउँदै भारतले महिला कबड्डीतर्फ स्वर्ण पदक हात पार्यो । नेपाली महिला कबड्डी टोलीले एसियाडको तयारी भारतमा गरेको थियो । तयारीका क्रममा नेपालले भारतका स्टेट र स्थानीय क्लबहरूसँग अभ्यास खेल खेलेको थियो । एसियाडको सेमिफाइनलमा नेपालको प्रतिस्पर्धी बन्यो भारत ।

उक्त खेलमा भारतसँग पराजित हुँदै नेपाल कास्य पदकमा सीमित बन्यो । त्यसमा ठूला टोलीसँग अभ्यास खेल खेल्दा बढ्ने आत्मविश्वास भारतले देखायो । बलिया देशसँग नखेलेको अनुभव नेपाली टोलीमा झल्कियो । यसले नेपालको अन्तर्राष्ट्रिय तयारी र पदकका दाबेदार राष्ट्रको तयारीबीचको ठूलो अन्तर देखाउँछ।अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्दा बलिया राष्ट्रसँग नियमित प्रतिस्पर्धा र म्याच एक्सपोजर आवश्यक हुन्छ । केवल प्रतियोगिता सुरु हुनुअघि वैदेशिक प्रशिक्षण वा केही अभ्यास खेल खेलाएर उच्चस्तरीय प्रदर्शनको अपेक्षा गर्नु पर्याप्त हुँदैन भन्ने पाठ यो एसियाडले पढाएको छ ।
२०औं एसियाडका लागि अधिकांश खेलमा तल्लो तहदेखि व्यवस्थित रूपमा खेलाडी छनोट गरिएन । उपलब्ध खेलाडीबाटै टोली तयार पार्ने प्रवृत्ति दोहोरियो । यदि दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै भएको भए त्यहाँ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोट गरेर एसियाडका लागि तयार पार्न सकिन्थ्यो।राष्ट्रिय प्रतियोगिता खेलाडी पहिचान, छनोट र प्रतिस्पर्धात्मक तयारीको महत्वपूर्ण आधार हो । त्यसैले राष्ट्रिय खेलकुदमा हुने ढिलाइले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा समेत प्रत्यक्ष असर पार्छ भन्ने पुष्टि यो एसियाडले गरेको छ । नेपालले अब एसियाड जस्ता प्रतियोगितामा सहभागितालाई मात्र उपलब्धि मान्ने कि पदकलाई लक्ष्य बनाएर रणनीति बनाउने भन्ने विषयमा स्पष्ट हुन आवश्यक छ ।

पदकको सम्भावना निकै कम भएका खेलमा ठूलो स्रोत खर्च गर्नुभन्दा पदकको सम्भावना भएका खेललाई पहिचान गरेर पर्याप्त बजेट, प्रशिक्षण, अन्तर्राष्ट्रिय एक्सपोजर उपलब्ध गराउनु आजको आवश्यकता हो । कुन खेलमा किन सहभागिता गराउने र कुन खेलमा सहभागिता नगराउने भन्नेबारे सरकार स्पष्ट हुन जरुरी छ । विश्वका सफल खेलकुद राष्ट्रले खेलाडीमा सानै उमेरदेखि लगानी गर्छन् । प्रतिभा पहिचान, ग्रासरुट प्रशिक्षण, नियमित प्रतियोगिता र दीर्घकालीन योजनामार्फत खेलाडी उत्पादन गरिन्छ । नेपालमा भने यस्तो व्यवस्था अझै कमजोर छ ।
बाल्यकालमै प्रतिभा पहिचान गरी निरन्तर प्रशिक्षण र अवसर दिने काममा सरकार तथा खेल संघहरू चुकिरहेका छन् । नेपाली खेलकुदको यो अवस्थासम्म आइपुग्न धेरै खेलाडीले व्यक्तिगत प्रयास र संघर्षबाट ठूलो योगदान दिएका छन् । तर व्यक्तिगत प्रयासले मात्र अन्तर्राष्ट्रिय पदकको दिगो आधार निर्माण गर्न सकिँदैन । त्यसका लागि राज्यको दीर्घकालीन लगानी र संस्थागत प्रणाली आवश्यक हुन्छ । नेपालको अर्को समस्या सरकार र खेल संघबीचको कमजोर समन्वय हो । कुन संघले के गतिविधि गरिरहेको छ, कुन खेलाडीको प्रदर्शन कस्तो छ, कुन खेलमा कति लगानी आवश्यक छ र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि कस्तो तयारी भइरहेको छ भन्ने विषयमा सरकारले प्रभावकारी अनुगमन गर्नुपर्छ । खेल संघ र सरकारबीचको असमझदारीका कारण पदक दाबेदार रहेको पब्जी टोली छनोट भएर पनि यो एसियाडमा सहभागी हुनबाट वञ्चित हुनुपर्यो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीको तयारी र सुविधाको विषय पनि पुनर्विचार गर्नुपर्ने देखिन्छ । सरकारी कर्मचारी तथा प्रतिनिधि विदेश भ्रमणमा जाँदा दैनिक उल्लेख्य भत्ता पाउने व्यवस्था हुँदा खेलाडीले भने सीमित दैनिक भत्तामै खाने, बस्ने र तयारी गर्नुपर्ने अवस्था यो एसियाडमा बन्यो । खेलाडीलाई देशका लागि पदक जित्न पठाउने हो भने उनीहरूको खाने, बस्नेदेखि प्रशिक्षण, औषधि उपचारको सुविधालाई प्राथमिकतामा राख्नैपर्छ । खेलाडी छनोटदेखि ग्रासरुट विकास, नियमित राष्ट्रिय प्रतियोगिता, अन्तर्राष्ट्रिय एक्सपोजरसम्मलाई एउटै योजनामा जोड्नुपर्छ । विकास भएका प्रविधिलाई भित्र्याएर खेलाडीको प्रशिक्षणलाई प्रभावकारी बनाउनुपर्छ ।
-रिखिराम जिसी


