बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा रूसी साहित्यकार एन्टोन चेखबको चर्चित नाटक ‘थ्री सिस्टर्स’ मञ्चन भइरहेको छ । यो नाटक चेखबले सन् १९०० मा लेखेका थिए । सन् १९०१ मा मस्को आर्ट थिएटरमा पहिलो पटक यसको मञ्चन गरिएको थियो । पेसाले मेडिकल डाक्टर चेखब कथाकार र नाटककारका रूपमा संसारभर चर्चित छन् । उनका नाटकमा सुक्ष्म विषयवस्तुमा यथार्थवादी दृष्टिकोण पाइन्छ । यसको नेपाली अनुवाद ‘तीन दिदीबहिनी’ मेघराज अधिकारीले गरेका छन् । अधिकारीले अनुवाद गर्दा लेखकको मर्मलाई जस्ताको तस्तै समेट्ने कोसिस गरेका छन् ।
थ्री सिस्टर्स नाटकको निर्देशन तथा परिकल्पना घनश्याम श्रेष्ठले गरेका हुन् । विदेशी भाषा र परिवेशमा लेखिएको नाटकलाई नेपाली रूपान्तरणमा निर्देशन गर्नुका साथै दृश्यहरूको चलाखीपूर्ण संयोजन मञ्चमा उतार्नु कठिन छ। मञ्चको साजसज्जा, संगीत र प्रकाशको संयोजन पनि सहज छ । पात्रको अवस्था र परिवेश सुहाउँदो दृश्य र संगीतको मिश्रणले नाटक रोचक बनेको छ ।
नाटक दिवंगत जर्नेलका तीन छोरीहरू (आभा, माया र रिना)बाट सुरु हुन्छ । तीन दिदी बहिनीहरू आ–आफ्ना स्वार्थपूर्तिका लागि दौडधुप गरिरहेका हुन्छन् । खान्दानी परिवारमा जन्मेका तीन दिदीबहिनी तथा उनीहरूका एक दाजु दीपजंगबीचको परिघटनामा नाटक घुमेको छ ।
सानदार कोठामा तीन दिदीबहिनी आ–आफ्नो काममा व्यस्त छन् । दीपजंग पियानोको धुनमा मस्त छ । त्यहाँ कोही पनि खुसी र सुखी देखिँदैनन् । सैनिक अधिकृत बाबुको मृत्युपछि आभा, रिना र माया राजधानीबाहिरको एउटा सहरमा निरस र उद्देश्यहीन जीवन बाँचिरहेका छन् । उनीहरू राजधानीमा जन्मेका हुन् । सबै फेरि राजधानी नै फर्कन चाहन्छन् तर विविध कारणले राजधानी फर्कन सकिरहेका छैनन् ।कसैलाई कसैको मतलब छैन । सबै आफ्नै स्वार्थले प्रेरित छन् ।
३५ वर्षकी आभा (शान्ति गिरी)लाई आफ्नो निख्रिदै गरेको बैँस र मन मिल्ने पुरुष नभेटेकोमा खुब चिन्ता छ । माया ( सुष्मा कोइराला )अलि एकान्त प्रकृतिकी छिन् । उनी अध्ययनमा निकै रुचि राख्छिन् । गम्भीर पनि छिन् । उनले कुशप्रसाद (जीवन बराल)सँग बिहे त गरेकी छिन्, तर आफ्नो वैवाहिक जीवनसँग असन्तुष्ट छिन् । रिना ( सुनिसा बजगाईं) चञ्चले प्रकृतिकी छिन् । उनलाई जसरी पनि सहर पुग्नु छ, जहाँ खुसी र प्रेम भेटिने आशा उनमा छ ।
जेठी दिदी आभा स्कुलमा पढाउँछिन् । ३५ वर्ष बितिसक्दा पनि मन मिल्ने पुरुष साथी नभेटेकोमा उनी निराश छिन् । माहिली माया कुशप्रसादसँगको विवाहका कारण चिन्तित छिन् । उनका लागि श्रीमान् गनगने र पट्यारलाग्दो पुरुष हो । उनी एक विवाहित कर्नेलको प्रेममा परेकी छन् । यसको कुनै पनि सकारात्मक रिजल्ट नआउने उनलाई थाहा छ । कान्छी रिना कल सेन्टरमा काम गर्छिन् तर खुसी छैनन् । आफूलाई मन परेको मान्छे र जीवनका खुसी राजधानी पुगेर भेट्टाउने विश्वासमा छिन् उनी ।
अविवाहित डा. चूडामणि (श्रीओम रोदन) जीवनप्रति निरास छन् । उनी सफल डाक्टर भए पनि असफल जिन्दगी बाँचिरहेका छन् । उनी ती दिदीबिहिनीकी आमालाई प्रेम गर्थे तर, विवाह हुन सकेन । रक्सी टन्न पिउँछन् । उनलाई पनि सहर जानु छ । त्यसैको प्रतीक्षामा छन्, उनी ।
जब नाटकमा कर्णेल आशुतोष ( घिमिरे युवराज)को प्रवेश हुन्छ तब नाटकले अर्को मोड लिन्छ । उनको आगमनसँगै माया उनको प्रेममा पर्छिन् । त्यसको खास कारण वैवाहिक जीवनप्रतिको चरम असन्तुष्टि र सहर जाने सुषुप्त चाहना हुन्छ । रिना पनि कर्णेल आशुतोषसँग आएका समीर (विकास जोशी)सँग सहर जानका लागि बिहे गर्ने योजना बनाउँछिन् । उनी सुन्दरी छिन् र उनले सोचेको प्रेमी र प्रेम पनि अर्को किसिमको हुन्छ ।
तीन दिदी–बहिनीको एकजना माइती हुन्छन्, दीपजंग (श्याम खड्का )। उनी एकान्त र पियानोप्रेमी हुन्छन् । तर, उनको जीवनमा निकिता (आन्ना देउजा)को प्रवेश भएपछि उनी परिवर्तन हुन्छन् । घर बैंकमा धितो राखेर तास खेल्छन् । मान्छेमा हुने अस्थिरपनाको एउटा उदाहरण हुन्, उनी ।त्यो सानो सहरमा सहर मात्र होइन, सारा पात्र निरास छन् । जीवनप्रतिको एक किसिमको उद्वेग बोकेर बाँचिरहेका छन् ।
दीपजंगले गाउँकी केटी निकितासँग बिहे गरेपछि उनीहरूको परिवारमा समस्या सुरु हुन्छ । निकिता र तीन दिदीबहिनीको फरक सोच, फरक जीवनशैलीका कारणले परिवारमा सधैं नयाँनयाँ दबाब र समस्या आइलाग्छन् । हरेक पल द्वन्द्व छ । निकिताले परिवारमा हैकम जमाउँदै जान्छे र दिदीबहिनीको व्यक्तिगत स्वतन्त्रता र परिवारभित्रको सहज वातावरण भताभुंग पारिदिन्छे ।
ऊ आफैं पनि खेलकुद परिषद्को अध्यक्ष नीलकण्ठसँगको पे्रममा छे । उसले दीपजंगलाई पनि बेवास्ता गर्छे, उनीहरूको प्रेम पनि समस्यामा परेको छ । कलेजको प्रोफेसर बन्ने सपना देखेको दीपजंग घरायसी लफडा र जुवाको लतमा फसेको छ । उसले कुनै पनि गतिलो काम गर्न नसकेकोमा पश्चातापको जिन्दगी बाँचिरहेको छ।
तीन बहिनीसँग प्रेम, यौन र पारिवारिक सम्बन्धका कारण धेरै मानिस जोडिन आइपुग्छन् । तीन दिदीबहिनीका कारण अरू विभिन्न पात्र पनि भेला हुन्छन् । पात्रअनुसारका फरकफरक स्वभाव छन् । अति यथार्थभित्रको विसंगत घटना नाटकमा देख्न सकिन्छ । नाटकमा धेरै ठूलो घटना घटेको छैन । सबै पात्र आफ्नो लक्ष्य र सपनाभन्दा फरक जिन्दगी बाँचिरहेका छन् ।
सबैको सोच, लक्ष्य, चाहनाको भारीको तौल फरक–फरक छन् । तर, उनीहरू एउटै बाटोमा हिँड्न बाध्य छन् । अर्को कुरा त के छ भने प्रेम, यौन र व्यक्तिगत स्वार्थका कारण तीन दिदी–बहिनीसँग अनेक मानिस जोडिन आइपुग्छन् । अनेकन पात्रको भेला हुन्छ, रंगमञ्चमा । तर, ती सबै यति पृथक छन् कि दर्शकले उनीहरूबाट फरक–फरक स–साना मानवीय संवेदना अनुभूत गर्न पाउँछन् ।बाहिरबाट हेर्दा सामान्य रूपमा चलेको जस्तो लाग्छ यो परिवारको दैनिकी । तर पात्रहरूमा विस्तारै जीवनप्रति असन्तुष्टिको जालो फैलँदै गएको छ । सामान्य लाग्ने सम्बन्ध जटिल बन्दै जान्छन् र परिवारको संरचना नै भताभुंग हुन्छ । आधुनिक जीवनशैली अपनाएका नाटकका पात्रहरू संघर्षबाट थाकेका छन् । उनीहरू हरेक कुरामा दोधारमा देखिन्छन् ।
अभिनय जीवन्त छ ।केही दोहोरिरहने घटनाले दर्शकलाई पट्यार लाग्छ । केही घटना काल्पनिक लाग्छन् । संवादप्रधान रहेकाले नाटक बोझिलो लागिरहन्छ । दृश्यमा भन्दा संवादमा कलाकारको ध्यान केन्द्रित हुनु स्वाभाविक देखिन्छ ।