छालाको सुरक्षा र सनस्क्रिन-जुली प्याकुरेल

                                                                                     प्रस्तुति:जुली प्याकुरेल

गर्मी मौसममा घामबाट छाला जोगाउन धेरैलाई गाह्रो पर्छ । घरबाहिर निस्कँदा धेरै युवती र महिलाले घामबाट जोगिन आँखा मात्रै देखिने गरी अनुहारमा मास्क र पातलो सलले अनुहार ढाक्छन् । घामको डरले कतिपय दिनमा सकेसम्म घरबाट बाहिर ननिस्कन पाए पनि हुन्थ्यो भनी सोच्छन् । छालालाई घामबाट जोगाउन सनस्क्रिन लेखेकै सनब्लक चाहिन्छ भनेर व्यापक प्रचारप्रसार गरेको पाइन्छ । चिकित्सक पनि सन प्रोटेक्सन फ्याक्टर (एसपीएफ) नम्बरअनुसार सनस्क्रिनले काम गर्छ भनिरहेका हुन्छन् । जति बढी एसपीएफ उति नै बढी घामको विकिरणबाट छालाको सुरक्षा हुन्छ भन्ने आम बुझाइ छ । सनस्क्रिनको विज्ञापन पनि यसैमा केन्द्रित देखिन्छ ।

घामबाट छालाको सुरक्षाका लागि फिजिकल तथा केमिकल उपाय अपनाउन सकिन्छ । छाला ढाक्ने लुगा लगाउने, ह्याट र टोपी लगाउने, घाममा नबस्ने, हिँडदा सकेसम्म छायाँ परेको तिरबाट हिँड्ने गर्नाले पनि घामबाट छाला बचाउन सकिन्छ ।  घामबाट जोगिन एसपीएफ नम्बर बढी उल्लेख गरिएका ब्रान्डेड र महँगा सनस्क्रिन क्रिम लगाउनुपर्छ भन्ने छैन । छालालाई घामबाट जोगाउने क्षमता भएका मलम तथा क्रिम थुप्रै हुन्छन् । तर, धेरैलाई सनस्क्रिन लेखेको र महँगो क्रिमले मात्र काम गर्छ भन्ने लाग्छ ।

मेडिकल भाषामा दुई प्रकारका सन ब्लकर हुन्छन् । जसले छालालाई घामको नकारात्मक असरबाट जोगाउँछन् । फिजिकल ब्लकरवाला क्रिम छालामा सोसिँदैन भने केमिकल ब्लकरवाला क्रिम छालामा सोसिन्छ । छालामा नसोसिने खालका क्रिमले पनि घामको नकारात्मक असरबाट जोगाउँछ । छालामा सोसिने क्रिमले घामबाट हुने स्किन ड्यामेजलाई कम गर्ने काम गर्छ । सनस्क्रिनमा हुने जिंक अक्साइड र टाइटेनियम अक्साइड भएका क्रिम र लोसन लगाउँदा छालालाई घामको नकारात्मक असरबाट बचाउन सकिन्छ । कालामाइन लोसन तथा क्रिममा यी तत्त्वहुन्छन् । कालामाइन लगाउँदा पनि सनस्क्रिनले गर्ने काम गर्छ । यो सनस्क्रिनभन्दा निकै सस्तो पनि पर्छ ।

सूर्यबाट निस्किने अल्ट्राभ्वाइलेट किरणले छालामा हुने मेलानिन बनाउने कोशिकालाई हानि पु¥याउँछ । स्किन क्यान्सर यसको सबैभन्दा ठूलो असर हो । सूर्यबाट निस्किने अल्ट्राभ्वाइलेट किरणलाई सन प्रोटेक्सन फ्याक्टर (एसपीएफ) ले रोक्न सक्छ । धेरै एसपीएफ भएको सनब्लक क्रिमलाई धेरैले राम्रो सनस्क्रिन ठान्छन् । तर, अनुहारको छाला घामका कारण बिग्रिन्छ । बढी एसपीएफ भएको सनब्लक लगाउँदैमा छाला जोगिँदैन । र, छाला रोग विशेषज्ञसँग परामर्श नगरी जथाभावी ब्रान्डको सनब्लक क्रिम लगाउँदा धेरैले आफ्नो अनुहारको सुन्दरता गुमाउँछन् ।

सनब्लक क्रिम रोज्दा 

–सनब्लक क्रिम, लोसन, जेल र स्प्रेमा पाइन्छ । यसको मुख्य काम सूर्यको अल्ट्राभ्वाइलेट किरणलाई केही मात्रामा भए पनि सोस्नु र परावर्तन गर्नु हो । यसले छालालाई घाममा डढ्नबाट जोगाउँछ ।

–सनब्लक छनोट गर्दा एसपीएफसँगै सनस्क्रिनमा यूभीएको कम्बिनेसन हेर्न आवश्यक छ । त्यसै गरी, जिंक अक्साइड, टाइटेनियम डाइअक्साइड, एक्मसुले र अक्सिबेजान पनि हुन जरुरी छ । यूभीए र यूभीबी दुइटै सही सनस्क्रिन हुन् ।

–ब्रान्डेड सनस्क्रिन राम्रो त होला तर सबैका लागि उपयुक्त हुँदैन । त्यसैले छाला रोग विशेषज्ञसँग परामर्श गरी सनस्क्रिन छनोट गर्नुपर्छ ।

–नियमित प्रयोग गर्न एसपीएफ १५ देखि ३० सम्मको सनब्लक क्रिम लगाउनु राम्रो हुन्छ । एसपीएफ नम्बर धेरै हुँदैमा मात्र सनस्क्रिन राम्रो हुँदैन भन्ने कुरा बुझ्नुपर्छ ।

कसरी लगाउने सनस्क्रिन ?

अन्य औषधिजस्तै सनब्लकको पनि डोज हुन्छ । डोज नपु¥याई दिनमा एक पटक मात्र लगाएर छालालाई घामको नकारात्मक असरबाट जोगाउन सकिँदैन । अनुहारमा कम्तीमा एक चम्चा सनस्क्रिन लगाउँदा राम्रो हुन्छ । अनिवार्य रूपमा दिनको तीन पटक सनब्लक लगाउँदा मात्र यसले छालाको सुरक्षा गर्न सक्छ ।

छालाको सुरक्षाका लागि हरेक दुई घण्टामा सनक्रिम प्रयोग गर्नुपर्ने हुन्छ । घाममा देखिने शरीरका सबै भागमा लगाउनुपर्ने हुन्छ । कतिपयले सनस्क्रिन घाममा निस्कँदा मात्र लगाउनुपर्छ भन्ने ठान्छन् । तर, राति सुतेर उठेपछि उज्यालोमा जानुअघि पनि सनस्क्रिन लगाउनुपर्छ । अँध्यारोबाट उज्यालोतिर जाँदा छालामा हुने असर कम गर्न पनि यो क्रिम उपयुक्त हुन्छ ।

घरबाहिर निस्किनुअघि १०–१५ मिनेट पहिले सनस्क्रिन लगाउनुपर्छ । दुई तीन घण्टा बाहिर भएपछि फेरि सनस्क्रिन लगाउनुपर्छ । घाममा बढी काम गर्नुपर्ने मान्छेले सनस्क्रिन लगाउनुर्छ र कम्प्युटरका अघि धेरै समय रहनेका लागि पनि सनस्क्रिन लगाउनु जरुरी छ । स्विमिङ गर्नेले वाटरप्रुफ सनस्क्रिन प्रयोग गर्दा राम्रो हुन्छ ।

चिसोमा सनस्क्रिन

चिसो मौसममा तातो घाम त बरदान समान भइहाल्यो । तर यही घामले तपाइ हाम्रो छालालाई भने नकारात्मक असर पारिरहेको हुन्छ नै । त्यसबाट जोगिने उपाय सनस्क्रिन नै हो ।  चिसो मौसममा युवी रेडिएसनको रेडियो तरंगको प्रभाव बढी हुन्छ । जब बादल लागेको हुन्छ, घामको किरण देखिन्न । तर यस्तो किरण हामीसम्म आइरहेको हुन्छ जो छालाका लागि फाइदाजनक हुन्न ।

सन स्क्रिन भन्नासाथ गर्मीमा मात्र लगाउने भन्ने लाग्न सक्छ । तर हैन जाडोमा पनि यस्ता रेडिएसनबाट जोगिन सनस्क्रिन प्रभावकारी हुन्छ ।  यसका लागि घरबाट बाहिर निस्कनु २० मिनेट अगाडि सनस्क्रिन लगाउनु राम्रो मानिन्छ । सन स्क्रिन अनुहारमा मात्र लगाउने हैन । कपडाले नछोपिने छालाको भागमा लगाउनु राम्रो मानिन्छ । चिसो मौसममा सकेसम्म शरीरका अधिकांश भाग ढाकिने कपडा लगाउनु राम्रो । यसले चिसोबाट छाला पनि जोगाउँछ सँगै हानिकारक किरणको नकारात्मक प्रभाव पनि कम हुन्छ ।

सन स्क्रिनको चयन गर्दा यसको गुणस्तरमा भने ध्यान दिनु राम्रो । महँगा सनस्क्रिन मात्रै राम्रो हुन्छ भन्ने पनि हुन्न । सन स्क्रिन किन्दा यो बनेको मिति र प्रयोग गर्ने अवधि हेर्न बिर्सनु हुन्न । आफ्नो छालालाई कस्तो सन स्क्रिन लगाउनु राम्रो हो भन्ने जान्न चिकित्सकको सुझाव लिनुपर्छ । सबै सन स्क्रिन सबै प्रकारको छालाका लागि राम्रो मानिन्न ।