सावित्रा भण्डारी साम्बाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि विभागीय टोली एपीएफले महिला राष्ट्रिय लिगमा लगातार दोस्रो जित हात पारेको छ । साम्बाले ह्याट्रिकसहित चार गोल गरेपछि लिग अन्तर्गत आइतबार भएको खेलमा एपीएफले विराटनगर महानगरपालिका मोरङलाई ७-० ले पराजित गरेको हो । एपीएफले पहिलो खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई पनि ६-० ल नै पराजित गरेको थियो ।
लगातार दोस्रो जितपछि ६ अंक जोडेको एपीएफ शीर्ष स्थानमा उक्लेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफका लागि साम्बाले चार गोल गर्दा अनिता केसीले दुई तथा सरु लिम्बुले एक गोल गरिन् । साम्बाले पहिलो हाफमा दुई र दोस्रो हाफमा पनि दुई गोल गरिन् । एपीएफले पहिलो हाफमा ३ र दोस्रो हाफमा ४ गोल गरेको थियो ।
खेलको नवौं मिनेटमै अनिता केसीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । सावित्राले २५औं र ४२औं मिनेटमा गोल गरेपछि एपीएफले पहिलो हाफमा ३-० को अग्रता बनायो । सावित्राले ७४औं मिनेट र खेलको अन्तिम समयमा गोल गरिन् । यस्तै सरु लिम्बुले ७२औं मिनेटमा गोल गरिन् । अनिताले ८०औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।
विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएकाे खेलमा विमला चाैधरीकाे ह्याट्रिक मद्दत वालिङ नगरपालिकालाई ७-०ले पराजित गरेकाे हाे । आर्मीका लागि दीपा राई, शर्मिला थापा, भुजुङ्गा राई र हेमा चौधरीले एक एक गोल गरेका थिए ।
तीन विदेशी खेलाडीसहित मैदान उत्रिएपनि वालिङले गाेल गर्न सकेन । १४ औं मिनेटमा विमला चौधरीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । २८ औं मिनेटमा दीपाले आर्मीले अग्रता दोब्बर पारिन् । ४४ औं मिनेटमा शर्मिलाले गोल गर्दा आर्मी पहिलो हाफमा ३-० काे अग्रता लियाे । दोस्रो हाफमा पनि आर्मीले चार गाेल थप्याे । खेलको ६६ औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले ४-० को अग्रता बनायाे । विमलाले ७५ औं मिनेटमा ह्याट्रिक पुरा गरिन् ।
८९ औं मिनेटमा हेमाले र खेलको इन्जुरी समयमा भुजुङ्गाले गोल गर्दै आर्मीलाई ७-० को फराकिलाे जित दिलाईन् । पहिलाे जितपछि आर्मीले २ खेलमा ४ अंक जोडेको छ । आर्मीले पहिलो खेलमा पुलिस क्लबसँग गोलरहित बराबरी खेलेकाे थियाे । पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १-१ गोलको बराबरी खेलेको वालिङकाे याे पहिलाे हार हाे । वालिङले २ खेलमा १ अंक जोडेको छ
आर्मीका प्रशिक्षक राजु तामाङले अट्याकिङ थर्डमा राम्राे खेलेकाे र शुरुमै गाेल हुँदा जित सहज भएकाे बताए । टिममा अझै सुधार गर्नुपर्ने ठाउँ रहेकाे उनले बताए । यस्तै वालिङका प्रशिक्षक दीलिप थापाले विदेशी खेलाडी भएपनि अझै तालमेल राम्राे नमिलेकाे बताए । उनले एकजना वपदेशी खेलाडी ट्रेनिङमा घाईते भएकाेले आज नखेलेकाे बताए । विदेशी खेलाडी टेक्निकल्ली राम्राे रहेकाे र उनीहरुबाट सिक्न सकिने दीलिपले बताए ।