नेपाली खेलकुदका लागि ऐतिहासिक सहर हो टोकियो । जहाँ नेपालले सन् १९६४ मा ओलम्पिक यात्रा थालेको थियो । विश्व खेलकुदको कुम्भमा एक संस्करण (१९६८) छाडेर नेपालको सहभागिता निरन्तर छ । प्रदर्शन पनि उस्तै छ । टोकियो ५७ वर्षपछि फेरि ओलम्पिक आयोजना गर्दा नेपालको ओलम्पिक सुरुआत परम्परागत नै रह्यो । काठमाडौंबाट ५ हजार किमिभन्दा बढीको उडानमा टोकियो आइपुगेका दुई खेलाडी प्रारम्भिक चरणबाटै बाहिरिए ।
उद्घाटनको भोलिपल्ट शनिबार सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा ६१६.८ स्कोर गर्दै राष्ट्रिय कीर्तिमान सुधार गरिन् । ५० खेलाडी सहभागी स्पर्धा उनले ४६ औं स्थानमा रहेर टुंग्याइन् । जुडोकी सोनिया भट्टले विश्व वरीयतामा नवौं स्थानकी रुसकी इरिना डोल्गोभालाई स्तब्ध पार्ने लक्ष्य बनाएकी थिइन् । तर, उनी १ मिनेट १६ सेकेन्डमात्रै टिकिन् ।
यी दुवै खेलाडीले आमन्त्रण कोटामा ओलम्पियन बन्ने अवसर पाएका हुन् । ३२ औं गृष्मकालीन ओलम्पिकमा विश्वव्यापी सहभागितामा मौका पाएका तीन खेलाडीको चुनौती बाँकी नै छ । पौडीमा अलेक्जेन्डर शाहले पुरुष १ सय मिटर फ्रिस्टाइलमा मंगलबार र गौरिका सिंहले महिला १ सय मिटर फ्रिस्टाइलमा बुधबार प्रतिस्पर्धा गर्दैछन् । एथलेटिक्सकी सरस्वती चौधरीले महिला १ सय मिटरमा शुक्रबार दौडनेछन् ।
अधुरो चाहना
नेपाल प्रहरीमा तीन महिनाअघि भर्ती भएकी १९ वर्षीया जुडो खेलाडी सोनिया भट्टले महिला ४८ केजीमुनि स्पर्धामा कम्तीमा एक बाउट जित्दै इतिहास बनाउने लक्ष्य राखेकी थिइन् । त्यो पनि सम्भव नभए कम्तीमा चार मिनेट (पूरा समय) म्याटमा भिड्ने वा टिक्ने उनको योजना थियो । तर उनको चाहना र योजना टोकियो ओलम्पिकमा अधुरै रह्यो ।
निप्पोन बुदोकानमा भएको अन्तिम ३२ को प्रतिस्पर्धामा सोनियालाई रुसकी इरिना डोल्गोभाले १ मिनेट १६ सेकेन्डभन्दा बढी टिक्न दिइनन् । युरोपेली च्याम्पियन इरिनाले नेवाजा (म्याट) पुगेपछि २० सेकेन्ड होल्ड गर्दै ‘ओसाइकोमी इप्पोन’ मा सोनियालाई हराइन् । अर्थात् इरिनाले सोनियालाई नकआउट गरिन् ।
२३ औं सागमा कांस्य जितेकी सोनिया विश्व वरीयतामा १२७ औं स्थानमा छिन् भने इरिना नवौंमा । इरिनाले अन्तर्राष्ट्रिय प्रतियोगितामा १७ पदक जितेकी छन् । त्यसैले इरिनाविरुद्ध जित हात पार्नु वा पूरा समय टिक्नु पनि सोनियालाई सजिलो थिएन । तर उनले भागेर खेल्ने प्रयास गरिन्, सुरुमै रुसी प्रतिस्पर्धीविरुद्ध आक्रामक रूप देखाइन् । प्रशिक्षक सूर्यनारायण श्रेष्ठले भने, ‘सोनियाले तीन–चारपल्ट आक्रमण गर्न भ्याइन् । तर, सटिक भएन । ग्रिप समातेर राम्रोसँग नियन्त्रण गर्न सकिनन् । त्यसैले इरिनाले ओसाइकोमी इप्पोन गरिन् ।’ पदक दाबेदार मानिएकी इरिना पनि अन्तिम १६ भन्दा माथि उक्लिन सकिनन् । उनी चाइनिज ताइपेईकी खेलाडीसँग चुकिन् ।
जुनियरका विश्व च्याम्पियनसिपलगायत तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा एक–एक बाउट जितेकीले पनि सोनिया महत्त्वाकांक्षी भएकी थिइन् । इरिनाविरुद्ध केही सीप नचलेपछि उनी म्याटबाट रुँदै बाहिरिइन् । उनलाई ‘मिक्स जोन’ मा सम्हाल्न प्रशिक्षक श्रेष्ठ र चिकित्सक नवेशमान सिंहलाई मुस्किल परेको थियो ।
यसअघि ओलम्पिक खेलेका नेपालका चारै जुडो खेलाडी पहिलो चरणबाटै बाहिरिएका थिए । त्यसमध्ये फुपुल्हामु खत्री (रियो २०१६ ) ले मात्रै पूरा समय खेलेकी थिइन् । त्यसैले सोनियाले एक बाउट जित्ने चाहना पूरा गर्न नसके पनि कम्तीमा पूरा समय टिक्न चाहेकी हुन् ।
‘आफ्नो गेम प्रदर्शन गर्ने मौका अलि कम भएकाले मैले आफैंलाई सम्हाल्न गाह्रो भयो । मैले आफ्नो कला देखाउन नपाएको अवस्था बन्यो,’ बाँकेकी सोनियाले भनिन्, ‘प्रतिस्पर्धी धेरै नै बलियो थियो । निकै अनुभवी, उमेरले सिनियर, उच्च वरीयता र अन्तर्राष्ट्रिय पदक धेरै जितेकी थिइन् । तर, मैले डराएर खेलेकी थिइनँ, आक्रामक सुरुआत नै गरेकी थिएँ ।’ दुई वर्षदेखि बायाँ घुँडामा समस्या भएकाले पनि नेवाजा (मैदानमा ढलेर गर्ने प्रतिस्पर्धा) मा गाह्रो भएको उनले बताइन् । उनी किर्गिस्तानमा भएको एसिया–ओसियाना च्याम्पियनसिप २०२१ मा पनि नेवाजामै हारेकी थिइन् ।
उनले भनिन्, ‘फुलटाइम खेल्छु नै भन्ने लागेको थियो तर सकिनँ । इरिनालाई पल्टाएर उठ्छु भन्ने लागेको थियो । एकपल्ट टेक्निक लगाएकी थिएँ । उनले ओसाइकोमी (म्याटमा थिच्ने) मा लगिन् र म त्यहाँबाट उठ्न सकिनँ ।’ सोनियाले थपिन्, ‘एक चान्स पाएको भए एक बाउट जित्ने धोको पूरा गर्छु भन्ने थियो । अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव कम भएकाले पनि मलाई गाह्रो भयो । अब सिनियरका ठूला प्रतियोगिता खेल्दै अर्को ओलम्पिकमा छनोट भएर खेल्न चाहन्छु ।
सोचेभन्दा कम स्कोर
सिरहास्थित घोर्लेनी, विष्णुपुरकी २६ वर्षीया कल्पनाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई असाका सुटिङ रेन्जमा शनिबार सुधार गरे पनि अझै चित्तबुझ्दो प्रदर्शन गर्न नसकेको बताइन् ।
‘कीर्तिमान बन्यो । ठीकै भयो । तर मैले योभन्दा राम्रो (स्कोर) सोचेकी थिएँ,’ आठ वर्षअघि नेपाली सेनामा भर्ती भएपछि नसोचिएको रूपमा सुटिङ खेलाडी बनेकी कल्पनाले भनिन्, ‘ट्रेनिङमा ६२७–२८ सम्म स्कोर गरेकी थिएँ । त्यसैले ओलम्पिकमा ६२० भन्दा बढी स्कोर गर्ने सोचेकी थिएँ । मैले सक्दो प्रयास गरेकै हो तर, सकिनँ । अर्को प्रतियोगितामा योभन्दा राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’
ओलम्पिक सुटिङमा हरेक राउन्डमा १० शट हान्नुपर्छ । ओलम्पिकमा समावेश ६ राउन्डको स्पर्धामा ६० शट प्रहार गर्नुपर्छ र यसमा कुल ६ सय ५४ पूर्णांक हुन्छ । राष्ट्रिय प्रतियोगितामा हालसम्म ६० शट प्रहार गर्ने अवसर नपाएकी कल्पनाले ६१६.८ अंक जोडेर दुई वर्षअघि १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बनाएको आफ्नै रेकर्ड सुधारेकी हुन् । उनले सागमा सातदोबाटोस्थित सुटिङ रेन्जमा ६१४.५ अंक जोडेकी थिइन् ।
दुई वर्ष ओलम्पिक छात्रवृत्तिमा रहेर तयारी गरेकी कल्पनाले पहिलो चरणमा १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१ स्कोर गरेकी उनले चौथोमा सटीक प्रहार गर्दै १०४.१ अंक जोडेकी थिइन् । पाँचौंमा १०३.४ स्कोर गरे पनि अन्त्यसम्म उनले राम्रो लय कायम राख्न सकिनन् । छैटौं चरणमा १००.७ अंकमा सीमित भए पनि उनले केही स्थानमाथि उक्लिने अवसर गुमाएकी हुन् । छैटौं चरणमा किन कमजोर ? कल्पनाले जवाफ दिइन्, ‘सक्छु, गर्छु भन्दाभन्दै त्यस्तै भयो ।’ उनी बोस्निया एन्ड हर्जगोभिना, किर्गिस्तान, श्रीलंका र शरणार्थी टिमका खेलाडीभन्दा अगाडि रहिन् । यस स्पर्धामा कम्तीमा ६२८.५ अंक जोडेका शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन् ।
कल्पनाकै स्पर्धामा चीनकी क्विन याङले रुसकी अनस्तासिया गालासिनालाई पन्छाउँदै टोकियो ओलम्पिक २०२० को पहिलो स्वर्ण पदक जितेकी हुन् । स्विट्जरल्यान्डकी निना क्रिस्टेनले कांस्य पदक हात पारिन् । प्रारम्भिक चरणमा ६२७.७ अंक जोडेकी याङले फाइनल राउन्डमा २५१.८ स्कोर गर्दै स्वर्ण हात पारेकी हुन् । पोडियममा स्थान बनाएकी अनस्तासियाले २५१.१ र निनाले २३०.६ स्कोर गरे ।