विश्वकप फुटबल, २०१८ को आर्थिक पाटो

विश्वकप फुटबल खेलकुद जगत्कै सर्वाधिक महत्वपूर्ण महामहोत्सव मात्र होइन, अर्थतन्त्र चलायमान बनाउने उत्तिकै महत्वपूर्ण पर्व पनि हो । विश्वकपले फुटबलको मात्र प्रतिनिधित्व गर्दैन, खेलकुद क्षेत्र र समग्र देशकै प्रतिनिधित्व गरेको हुन्छ । यसका असर सामाजिक, आर्थिक, पर्यटन र पूर्वाधारमा मात्रै सीमित हुँदैन, सामाजिक असर पनि उत्तिकै हुने विगतको इतिहासले प्रमाणित गरेकै विषय हुन् ।

सन् २०१० को डिसेम्बरमा भएको एउटा निर्णयले रुसलाई निकै उत्साहित बनायो । सो निर्णय अरू केही नभएर प्रत्येक चार–चार वर्षमा आयोजना गरिने विश्वकप फुटबल सन् २०१८ को संस्करण आयोजना गर्ने सुअवसर रुसलाई प्रदान गरिएको थियो । र, रुसले इतिहासमै पहिलोपटक विश्वकप आयोजना गर्ने अवसर प्राप्त गरेको थियो ।

१४ जुनदेखि १५ जुलाईसम्म चल्ने विश्वकप फुटबलको एक्काइसौँ संस्करण खेलकुद जगत्कै सर्वाधिक महत्वपूर्ण महामहोत्सव मात्र होइन, अर्थतन्त्र चलायमान बनाउने उत्तिकै महत्वपूर्ण पर्व पनि हो । विश्वकपले फुटबलको मात्र प्रतिनिधित्व गर्दैन, खेलकुद क्षेत्र र समग्र देशकै प्रतिनिधित्व गरेको हुन्छ । यसका असर सामाजिक, आर्थिक, पर्यटन र पूर्वाधारमा मात्रै सीमित हुँदैन, सामाजिक असर पनि उत्तिकै हुने विगतको इतिहासले प्रमाणित गरेकै विषय हुन् ।

विगतभन्दा यो वर्ष पनि खासै फरक नहोला । फुटबलका पारखीहरूको सबैभन्दा ठूलो चाड विश्वकपले रुसको कान्ति झन् चम्किलो पार्ने सुअवसर प्रदान गरेको छ । यसमा रुस कतिको खरो उत्रन सक्छ, त्यो भने हर्न बाँकी नै छ । निश्चय पनि रुसले सौभाग्यले मात्रै यो मौका पाएको होइन । धेरै सर्त पूरा गर्न गरेको संघर्ष पनि लामै होला । यद्यपि यो आलेखमा विश्वकप आयोजना गर्न रुसले कस्तो संघर्ष गर्नुप¥यो भन्ने भन्दा पनि यसको आर्थिक पक्ष कस्तो होला भनेर कोट्याउने प्रयास गरिएको छ ।

विभिन्न अध्ययनले विश्वकपबाट समग्र राष्ट्रको अर्थतन्त्रमा सकारात्मक असर पर्ने देखाएका छन् । उपभोक्ताको उपभोग दर वृद्धि हुने, भुक्तानी सन्तुलन कायम हुनेजस्ता अपेक्षा गरिएका छन् । विश्वकपका कारण १ देखि २ प्रतिशतसम्म अर्थतन्त्र विस्तार हुने अपेक्षा पनि सुनिने गरेका छन् । फुटबलका सौखिनका लागि विश्वकप सबैभन्दा ठूलो पर्व हो ।

विश्वभरबाट विश्वकप हेर्न दर्शक रुस पुग्ने क्रम सुरु भइसकेको छ । जसका कारण रुसको राष्ट्रिय अर्थतन्त्र चलायमान हुन थालेको समाचार एजेन्सीले प्रवाह गर्न थालिसकेका छन् । विश्वकपलाई राष्ट्रिय अर्थतन्त्र विस्तार गर्ने अवसरका रूपमा लिइने भएकाले यहाँका व्यवसायीले पनि सन् २०१० देखि नै विश्वकप लक्षित योजना बनाउन थालिसकेका थिए ।

विश्वकपले निश्चय पनि आयोजक राष्ट्र र त्यहाँको खेलकुदको वा फुटबलको मात्र प्रतिष्ठा बढाउँदैन, यातायात र पूर्वाधार सुधारको काम पनि तीव्र पारेको हुन्छ । राजधानी मस्को, सेन्ट पिटर्सवर्ग, कजान, एकातेरिनवर्ग, भोल्गो ग्राड, रोस्टोभ–अन–डन, कालिनिनग्राड, निज्नी नोभ्गोरोड, सारान्स्क र सोची गरी ११ सहरमा विश्वकपका विभिन्न प्रतियोगिता आयोजना हुँदैछन् ।

यस क्रममा रुसले तीव्र गरेको पूर्वाधार र यातायात विकासबाट नलोभिने कमै होलान् । विश्वकप तयारीका लागि रुस सरकारले एउटा कोषको व्यवस्था गरेको छ । विश्वकप फुटबलको इतिहासमै सबैभन्दा धेरै खर्च गरेर हालसम्मकै सर्वाधिक भव्य बनाउने तयारी गरेको रुस सरकारले सोही कोषमार्फत आवश्यक खर्चको जोहो गरेको छ ।

टिकटको मूल्य कति ?

सन् २०१६ को जुलाई महिनामा फिफाले सन् २०१८ को विश्वकपका लागि टिकटको मूल्य तोकेको थियो । विभिन्न ४ वर्गमा विभाजन गरिएको टिकटको मूल्य विदेशीहरूका लागि १ सय ५ डलरदेखि ७ सय ५० डलरसम्म तोकिएको छ । तेस्रो श्रेणीको टिकटको मूल्य २ सय ८५ डलरसम्म, दोस्रो श्रेणीका टिकटको मूल्य ४ सय ८० डलरसम्म र पहिलो श्रेणीका टिकटको मूल्य ७ सय ५० डलरसम्म रहेको छ । रुसी नागरिकले भने छुटमा टिकट प्राप्त गर्ने फिफाले जनाएको छ । छुटमा रुसी नगारिकले प्राप्त गरेको सबैभन्दा सस्तो टिकटको मूल्य २१ दशमलव ५ डलर पर्ने बताइएको छ ।

के भन्छ रुसी केन्द्रीय बैंक ? 
के भन्छन् विश्लेषक ?

अल्पकालीन रूपमा मूल्य वृद्धि भए पनि विश्वकपले रुसी अर्थतन्त्र विस्तार गर्न सहयोग गर्ने केन्द्रीय बैंक ‘बैंक अफ रसिया’को निष्कर्ष छ । विश्वकप तयारीका लागि विभिन्न क्षेत्रका पूर्वाधार निर्माणका काममा खर्च भएकाले सकारात्मक असर देखिन थालेको केन्द्रीय बैंकले उल्लेख गरेको रोयटर्सले उल्लेख गरेको छ ।

विगत दुई वर्षदेखि ओरालो लागेको अर्थतन्त्र गत वर्ष उत्साहित हुनुका पछाडि विश्वकपकै असर भएको बैंकको दाबी छ । ‘विश्वकपका कारण होटेल, खाद्यान्न, र मनोरञ्जनजस्ता वस्तु तथा सेवामा केही मूल्य वृद्धि हुने सम्भावना छ, तर यसले केही कम्पनीलाई फाइदा पु¥याउनेछ ।’ नियामकले उल्लेख गरेको छ । रुसका केही होटेलले ५ हजार प्रतिशतसम्म मूल्य वृद्धि गरेको विश्लेषण गर्न थालिएको छ । तर, केन्द्रीय बैंकले ४ प्रतिशतसम्म मात्र मूल्य वृद्धि हुने अपेक्षा गरेको छ ।

विश्वकपको तयारीका लागि सरकारको खर्च चुलिएका कारण अपेक्षित उपलब्धि भने हासिल गर्न गाह्रो भएको तर्क विश्लेषकले गर्न थालेका छन् । विश्वकपले अल्पकालीन रोजगारीका अवसर सिर्जना गर्ने भए पनि यसको दीर्घकालीन फाइदा लिन नसकिने उनीहरूको तर्क छ ।

‘सन् २०१८ को अप्रिलदेखि सेप्टेम्बर महिनासम्म करिब शून्य दशमलव २ प्रतिशत मात्र आर्थिक सुधार हुने यसको धेरै फाइदा होटेल, रेस्टुरेन्ट, सभाहलले मात्र लिन सक्छन्,’ रुसी आर्थिक विश्लेषक सेरगेई द्रोविसेभस्कीले उल्लेख गरेका छन् । विश्वकपको म्याच सकिएपछि लगत्तै यसका नकारात्मक असर देखिन सुरु गर्ने अर्का विश्लेषक दिमित्री कुलिकोभको तर्क छ ।

सन् २०१८ को विश्वकपले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने फुटबलको सर्वोच्च निकाय फिफाको तर्क छ । ‘फुटबल मात्र नभएर समग्र अर्थतन्त्रको विस्तारमा समेत योगदान र यस्तो योगदान रुसी अर्थतन्त्रमा मात्र नभएर विश्व अर्थतन्त्र नै विस्तारमा विश्वकपले योगदान गर्छ,’ फिफा अध्यक्ष जिआनी इन्फान्तिनोको तर्क छ ।

कति बिके टिकट ?

फिफाको आधिकारिक वेबसाइट (फिफाडटकम–टिकट)मा १७ अप्रिल अर्थात् अन्तिम चरणको टिकट बिक्री हुनुभन्दा पहिलेको तथ्यांकअनुसार १६ लाख ९८ हजार ४९ वटा टिकट बिक्री भएका छन् । यीमध्ये धेरै टिकट आयोजक राष्ट्रका फ्यानले किनेका छन् । यसैगरी, दोस्रो नम्बरमा अमेरिका परेको छ । धेरै टिकट बिक्री भएका १० राष्ट्रमध्ये अमेरिकाबाहेक अन्य विश्वकपमा सहभागिता जनाएका राष्ट्र हुन् । धेरै टिकट बिक्री भएका १० देशको सूची यसप्रकार छ ।

सन् २०१४ मा ब्राजिलमा विश्वकप आयोजना हुँदा करिब २ लाख टिकट अमेरिकाबाट मात्र बिक्री भएका थिए । अघिल्लोपटकको तुलनामा यस वर्ष आधाभन्दा पनि कम मात्र टिकट बिक्री भएका छन् ।

पर्यटक आगमन र आम्दानी

यस वर्षको विश्वकपमा कम्तीमा पनि पाँच लाख विदेशी पर्यटक रुस पुग्ने अनुमान गरिएको छ । त्यहाँ पुग्ने पर्यटकले टिकट खरिदका लागि मात्र खर्च गर्दैैनन् । होटेल, लज, रेस्टुरेन्ट र मनोरञ्जनका अन्य क्षेत्रमा समेत यी पर्यटकले उल्लेख्य रूपमा खर्च गर्छन् ।

विश्वकपमा सहभागी भएका राष्ट्रका समर्थक–दर्शकले साधारण पर्यटक–दर्शकभन्दा कम्तीमा दुई गुणाभन्दा बढी खर्च गर्ने विगतले देखाएको छ । आवास, खाना, मनोरञ्जन र सभा–समारोहलगायत अन्य सबै शीर्षकमा गरी विश्वकपमा पुग्ने प्रत्येकले औसतमा ५ देखि ८ हजार डलरसम्म खर्च गर्ने अनुमान गरिएको छ ।

लागत

यस वर्षको विश्वकपमा करिब १३ अर्ब अमेरिकी डलर खर्च हुने र त्यसमध्ये सरकारका विभिन्न कोषले ७० प्रतिशत तथा निजी लगानीकर्ता र व्यवसायीले करिब ३० प्रतिशत खर्च गर्ने अनुमान गरिएको छ । यो रुसको एक वर्षको अर्थतन्त्रको १० प्रतिशतभन्दा पनि बढी हो । सन् २०१७ मा विश्व बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१६ मा रुसको अर्थतन्त्र १२ खर्ब डलरभन्दा केही मात्र बढी थियो ।

सन् १९९८ मा फ्रान्समा आयोजना गरिएको विश्वकप फुटबलमा करिब २ अर्ब डलर लगानी गरिएको वित्तीय सेवा प्रदायक संस्था नोर्डिआ मार्केट्सले उल्लेख गरेको छ । यसैगरी, सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकप फुटबलको लागत २ अर्ब २५ करोड डलरभन्दा बढी रहेको थियो भने सन् २००६ मा जर्मनीमा आयोजना गरिएको विश्वकपमा करिब साढे २ अर्ब डलर लगानी भएको अनुमान गरिएको छ ।

यसैगरी, सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न भएको विश्वकपको लागत करिब ४ अर्ब डलर पुगेको थियो । उता सन् २०१४ मा ब्राजिलमा आयोजित विश्वकपमा यो लागतमा करिब ३ गुणा वृद्धि भएर १२ अर्बको हाराहारीमा पुगेको तथ्यांक छ ।

ऐतिहासिक बढी खर्च गर्ने भनिए पनि सन् २०१४ र सन् २०१० को बीचमा भएको तीव्र वृद्धि भने यस वर्ष नहुने भएको देखिएको छ । यस वर्षका लागि अनुमान गरिएको १३ अर्ब डलर लागत अघिल्लोपटकको भन्दा १ अर्ब डलरभन्दा केही बढी मात्र हो ।

सन् २०१३ देखि सन् २०१७ सम्म रुसले प्रत्येक वर्ष करिब २ अर्ब डलर विश्वकप तयारीका लागि खर्च गर्दै आएको छ । योमध्ये करिब ३० प्रतिशत अर्थात् ४ अर्ब १० करोड डलरभन्दा बढी खेलकुदका पूर्वाधार निर्माण तथा तयारीका लागि खर्च हुने आकलन सोही कम्पनीले गरेको छ । करिब ६ अर्ब ८० करोड अर्थात् अपेक्षित कुल लागतको ५० प्रतिशतभन्दा बढी यातायात पूर्वाधार सुधारका लागि खर्च हुने जानकारी दिइएको छ ।

अन्य रकम भने सेवा क्षेत्रको विकासका लागि खर्च गर्ने योजना उसको छ । अर्को महत्वपूर्ण कुरा सन् २००२ को विश्वकप आयोजना गरेकाले नै जापानको यातायात क्षेत्रमा व्यापक ठूलो फड्को मारेको विश्लेषण गर्ने गरिएको छ ।

यसले के स्पष्ट हुन्छ भने आयोजक राष्ट्रको अन्य सूचकभन्दा यातायात क्षेत्रका विकास तुलनात्मक रूपमा बढी हुने गरेको उदाहरण छन् । यसका साथै आन्तरिक रोजगारी बजार पनि चलायमान बनेको छ । विश्वकप तयारीका लागि ठूलो संख्या कामदार परिचालन गरिएका छन् ।

 प्रस्तुति : तीर्थराज निरौला