अम्बिका गुरुंग
(लेखक गीतकार तथा समाजसेवी हुनुहन्छ)
नारी सृष्टिकी सर्वोत्तम कलाकृति हुन् । उनलाई अन्य प्राणीहरूझंै केवल जीवित रहन योग्य सामग्रीद्वारा मात्र होइन, विशिष्ट भावना संवेदनाहरूका साथ रचना गरिएको छ । उनको यही विशेषताले सृष्टिको भौतिक शोभामा दिव्य सौन्दर्य एवं असीम उल्लास भरिदिएको छ । नारीको विशिष्ट भाव सम्पदाबाट अभिभूत -भावविभोर) भएर हिन्दू शास्त्रले उनलाई जगन्माताको गरिमामय पदमा अधिष्ठित गराई बारम्बार नमन गरेको छ ।
या देवी सर्व भूूतेषु मातृरुपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
नारीलाई मात्र भोग-विलासको वस्तु नमानी उनको भाव-सम्पदाको समुचित आदर गर्नु, उनीप्रति श्रद्धाभाव राख्नु आजको आवश्यकता हो । परिवार संस्थाकी सूत्र संचालिका नारी नै हुन् । उनैले पत्नीका रूपमा नयाँ परिवारको श्रीगणेश गर्छिन् । जननीका रूपमा उसको विकास-विस्तार गर्छिन् । गृहिणीका रूपमा पारिवारिक सु-व्यवस्था सम्हाल्छिन् । अन्ततः गृहलक्ष्मीका रूपमा उक्त संस्थालाई रत्नहरूको खानी बनाइदिन्छिन् । जसरी देव मानवहरूको निवास स्वर्ग भनी चिनिन्छ, त्यस्तै स्वर्गको संरचना एउटा सानो घरपरिवारमा बनाउन सक्नु नारीको चमत्कार नै हो । विधाताले सृष्टि बनाए अथवा बनाएनन् यसमा शंका हुन सक्छ तर नारीमा भएको त्यो सम्भावना जसले घरपरिवारमा स्वर्गीय वातावरणको निर्माण गर्न सक्छ त्यसमा कुनै शंका छैन ।
नारी सृष्टिकै उत्कृष्टतम कृति हुन् । उनमा सज्जनता अनि सहृदयताका ती तत्वहरू भरिएका छन्, जसलाई पाएर प्राणीको अन्तरात्मा कृतकृत्य हुन्छ । आवश्यकता केवल यति छ, यी अमृतवल्लरीहरूलाई विकसित हुने र आफ्नो कौशल देखाउने अवसर दिइयोस् । तोडमोड गर्ने प्रयास नगरियोस् । तोडमोड गरेर र दबाएर-जलाए नारी मात्रै मर्दिनन्, ती सबथोक मरेर जान्छन् जुन यो सृष्टिमा सुन्दर, सुखद् अनि श्रेष्ठतम मानिन्छन् ।
नारी सृष्टिकी सौन्दर्य हुन् । उनलाई जीवन्त कलाकृतिका रूपमा हेर्न सकिन्छ । ‘स्नेह’ उनको प्रवृत्ति र ‘अनुदान’ अर्थात् दिने बानी उनको स्वभाव हो । स्रष्टाले उनमा जीवन-संचारका सबै तत्व भरिदिएका छन् अनि सृजनको अनगढ कुरूपतालाई सुगढताको सुन्दरतामा परिणत गर्न सक्ने क्षमताले नारीलाई भरिपूर्ण बनाएको छ ।
मान्छेसँग आफ्नो भनाउन योग्य जे-जति पनि छ, त्यो नारीकै अनुदान हो । ‘जीवन’ उनकै पेटबाट उब्जिन्छ । हरियाली उब्जाउने धर्तीको आफ्नै गरिमा छ तर मानव-सत्ताकी सृजनकतृ त जननी नै हुन् । खनिज र वनस्पतिहरूभन्दा मनुष्य श्रेष्ठ छ तसर्थ धर्तीभन्दा पनि जन्मदातृ जननीको महिमा वर्णन गर्न सकिँदैन । हामी पृथ्वीमा निर्वाह गर्दछौं तर नारीले त समस्त मानव सृष्टिकै सृजन र परिपोषण गर्छिन् ।
‘मानव-अण्डा’ माताकै गर्भमा सेकिन्छ । शिशुको आरम्भिक आहार ममतामयी माताकै वक्षस्थलबाट तप्किन्छ । स्नेह पिएरै अन्तरात्मा विकसित हुन्छ । यसभन्दा उत्तम पोषण, पालन र संरक्षण अरु कसैले गर्नै सक्दैन । शरीर मात्र नभई अन्तस्करणको अधिकतम निर्माण पनि आमाकै आँचलमा हुन्छ ।
एउटा वयस्क पुरुष नारीको समर्पणयुक्त अनुराग पाएर अलौकिक आनन्दले भरिपूर्ण हुन्छ र पूर्ण तृप्तिको अनुभव गर्छ । सृजनकी देवी जुन घरमा पुग्छिन्, निवास गर्छिन् त्यही गृहलक्ष्मीको भूमिका सम्पन्न गर्छिन् र एउटा ढुंगा-माटोको घरमा कसरी स्वर्गको अवतरण सम्भव हुन सक्छ त्यसलाई सैद्धान्तिक एवं व्यावहारिक रूपमा प्रत्यक्ष देखाउँछिन् ।
न्ाारी उत्कृष्टताकी जीवन्त प्रतिमा हुन् । उनको शोभा, कोमलताको नयनाभिराम हुनु त विशिष्टताको आरम्भिक परिचय मात्र हो । भित्री तहमा त उनले एक से एक दिव्य तत्व लुकाइरहेकी छिन् । अभिभावकहरूलाई आफ्नी पुत्रीमा भन्दा बढी मृदुलताको दर्शन अन्यत्र हुनै सक्दैन । कन्याको पवित्रतालाई देवोपम मानिएको छ । उनको पूजा-प्रचलन सर्वदा सार्थक छ । देवत्वको जीवन्त प्रतिमाको दर्शन निर्दाेष सुकुमार कन्यामा सहजै गर्न सकिन्छ । दाजु-भाइका निम्ति उनी बहिनी हुन् । बहिनीको भ्रातृ-भावना कति निर्मल, कति सौम्य हुन्छ अनि कति उत्कृष्ट स्नेह सम्बन्ध हुनसक्छ । यसलाई प्रेमको संसारमा अनौठो उपलब्धि नै मान्न सकिन्छ । वयस्क महिला र पुरुष अति निकट, अत्यन्तै घनिष्ठ हुँदा पनि कति विशुद्ध प्रेम गर्न सक्छन् । यसको जीवन्त साक्षी एउटी बहिनी अथवा दिदी मात्र हुन सक्छिन् ।
पतिप्रति स्वेच्छाद्वारा समर्पण, उसका निम्ति सबथोक लुटाउने उत्साह हेर्दाहेर्दै बन्छ । अध्यात्म शास्त्रमा जुन ‘सर्वतो-भावेन आत्मसमर्पण’ लाई ईश्वर प्राप्तिको आधार मानिएको छ, त्यो तत्वज्ञान कसरी व्यावहारिक जीवनमा कार्यान्वित हुन सक्छ, भन्ने कुरा खोज्न चाहने हो भने कुनै पतिव्रता नारीको चित्त र चरित्रको गहिराइमा डुबेर नियाल्दा सहजै देख्न सकिन्छ । ‘प्रेम’ जसलाई ईश्वरको स्वरूप भनिन्छ, शास्त्रकारहरूले भक्ति रूपमा प्रतिपादन गरेका छन् । यो अमृत तत्वमाथि नारीले प्रवचन त गर्दिनन् तर पितृकुल र पतिकुलका सदस्यहरूका निम्ति हार्दिक अनुदान प्रस्तुत गर्दै व्यावहारिक रूपमा बताउँछिन् कि प्रेम के हो ? कसरी गरिन्छ र त्यसको कति मधुर फल यही जीवनमा चाख्न सकिन्छ । महषिर् रमण भन्छन्- ‘पतिका निम्ति चरित्र, सन्तानका निम्ति ममता, समाजका निम्ति शील, विश्वका निम्ति दया अनि जीव मात्रका निम्ति करुणा संचय गर्ने महाकृतिको नाम नै नारी हो ।’
नारी देवत्वकी प्रतिमा हुन् । कुनै पनि भगवान्को मूर्तिलाई बाहिरी आँखाद्वारा हेर्ने हो भने त्यो केवल पत्थरको टुक्रामा मात्र सीमित हुन्छ अनि त्यसलाई सिंहासनमा स्थापित गरी पूजा गर्नेहरूको बुद्धि देखेर हाँसो पनि उठ्न सक्छ तर कुनै तत्वज्ञानीलाई त्यही ढुंगाको मूर्तिको आराधनाबाट आत्मशान्ति र सिद्धि प्रतिफल प्राप्त गरेको देख्दा लाग्छ उक्त पत्थरका दुवै स्थिति सही हुन् । चर्म-चक्षुले हेर्दा त्यो निश्चय नै पाषाण खण्ड मात्र हो तर जुन तत्व ज्ञानीले प्रतिमाको अन्तरालमा मुस्कुराइरहेको दिव्य सत्ताको दर्शन र उसको सान्निध्यको प्रतिफल चमत्कारी रूपमा प्राप्त गरेको छ, त्यो भ्रम होइन । उसले पनि सत्यकै साक्षात्कार गरेको हो ।
नारी शारीरिक दृष्टिमा दुर्बल तर मांस-लताका दृष्टिले आकर्षक हुन्छिन् । स्थूलबुद्धि भएकाहरूले ती दुवैको दोहन र शोषण गर्ने कुरा मात्रै सोच्छन् । उनीहरूका लागि नारी भोग्य पदार्थको श्रेणीमा पर्छिन् तदनुसार त्यस्तै व्यवहार पनि चल्न थालेको छ । जसलाई ज्योतिर्मय दिव्य दृष्टि मिलेको छ, उसका लागि नारी कायामा मूर्तिमान् देवत्व झल्किन्छ, उनी आद्यशक्तिकी प्रतीक हुन् । उनी लक्ष्मी हुन्, किनभने परिवारलाई आफ्नो कर्तृत्वबाट सु-सम्पन्नताले भरिदिन्छिन् । उनी सरस्वती हुन् किनभने आफ्नो स्नेहसिक्त सद्भावनाहरूद्वारा आफ्नो सम्पर्क क्षेत्रलाई वीणाको मधुर अनि कलात्मक झन्कारले गुञ्जायमान बनाइदिन्छिन् । उनी प्रत्यक्ष दुर्गा हुन् किनभने जब उनी प्रकट हुन्छिन् तब कुनै महिषासुर पनि उनको क्रोधाग्नि सहन गर्न समर्थ हुँदैन ।
जसरी हामी एउटा पत्थरको मूर्तिमा परमात्माको अस्तित्व खोज्छौं, सामान्य नदीको जल प्रवाहमा गंगा-यमुनाजस्तो भाव श्रद्धा आरोपण गछौर्ं तदनुरूप नै त्यो तरण-तारिणी बन्न पुग्छ । अनेक किसिमका भाव संवेदनाहरू हामी आफूभित्र जगाउँछौं र त्यसलाई कुनै भौतिक चीज वा वस्तुमाथि आरोपण गरी आफूले चाहेजस्तो देख्न खोज्छौं । यसैगरी नारीप्रति सम्मान श्रद्धा, पवित्रता, करुणा, उदारताजस्ता उच्च-उदात्त भावनाहरू आरोपण गर्न सक्यांै भने निश्चय नै हामी यो संसारका जीवित-जाग्रत, हाँस्दै-हँसाउदै हार्दिकताले भरिपूर्ण अमृत वषर्ाउँदै ३ अर्ब देवीको दर्शन गर्न सक्नेछौं । पुत्री, भगिनी, माता अनि धर्मपत्नीमा देवी तत्व कति प्रचुर मात्रामा छ यसलाई भावनात्मक र बुद्धिगत दुवै परीक्षणमा उत्कृष्ट पाउन सकिन्छ ।
नारी परब्रह्मजस्तै साकार सृजनसत्ता हुन् । उनी सृजनात्मक समस्त सम्भावनाहरू आफ्नो साथ लिएरै जन्मिन्छिन् । विभिन्न योगदान दिएर सम्बद्ध व्यक्तिहरू र समस्त समाजलाई सर्वतोमुखी प्रगतिको दिशामा अग्रसर गराउँछिन् । भनिन्छ-कल्पवृक्षमा धर्म, अर्थ, काम र मोक्षका चार फल लाग्छन् । नारी प्रत्यक्ष कल्पवृक्ष हुन् । उनी पितामा वात्सल्य भाव जगाउँछिन्, उसलाई नारीप्रति पवित्रता, मृदुलता, कोमलता र ममता जगाउन गंगाजस्तै निर्मलताको प्रतिनिधित्व गर्दै सानी, प्यारी गुडिया बनेर उसको काखमा खेल्छिन् । उनी दाजुभाइलाई दिव्यता-पवित्रता प्रदान गर्छिन् । दाजुभाइका निम्ति उनको ममता, आत्मीयता, सरलता, सहृदयता तुरुन्तै पैदा हुन्छ । दाजुभाइका निम्ति उनी के सोच्छिन्, उनीहरूलाई कति चाहन्छिन्, कुन दृष्टिले हेर्छिन्, यसको सजीव चित्र बनाउन सक्ने हो भने त्यो प्रतित हुन्थ्यो । पतिलाई अपूर्णता र अतृप्तिबाट छुटकारा दिलाई पूर्ण बनाउँछिन् । उसका निम्ति उनी स्वर्गकी अप्सरा भन्दा पनि अधिक मनोरम, दाहिने हातजस्तै साथी, छायाजस्तै सहचरी र हृदयको धड्कनजस्तै जीवनदातृ हुन् अनि चौथो फल-सन्तानकी त उनी प्राण नै हुन् । नारी कामधेनु हुन्, सत्य हुन्, शिव हुन्, सुन्दर हुन् ।
यही सन्दर्भमा एउटा अत्यन्तै राम्रो साधनात्मक पक्ष छ कि हर पुरुष हर नारीलाई ईश्वरको पवित्रतम् शक्तिको प्रतीक मानोस् र उनलाई माता, बहिनी एवं पुत्रीको प्रगाढ श्रद्धायुक्त दृष्टिले हेरोस् । धर्मपत्नी पनि भोग्या होइनन्, सहधर्मिणी र सहचरी हुन् । घनिष्ठतम आत्मीयताको भावनाले उनलाई असीम पे्रम दिन सकिन्छ । आवश्यकताअनुसार सन्तानोत्पादन पनि गर्न सकिन्छ । यसका लागि आफ्नो र पत्नीको स्तर गिराउनु आवश्यक छैन । ठीक यही पवित्र दृष्टि नारीले पनि पुरुषको आध्यात्मिकताप्रति राख्नुपर्छ । नारीले पनि पुरुषलाई पिता, दाइभाइ तथा पुत्रको दृष्टिले हेरून् र पतिप्रति अभिन्न सहचर, सहयोगीजस्तो उदात्त भावना राखून् । आजको समयमा नारी र पुरुषबीच चलिरहेको वासनात्मक अपवित्र चिन्तनका कारण नै समाजमा अनेक थरीका विकृति एवं विसंगतिहरू फैलिएका छन् । मानसिक निकृष्टतालाई पवित्र उत्कृष्टतामा बदल्ने प्रयत्न नै भावनात्मक तपस्या हो । यो तपमा जो जति सफल हुन्छ, उसले उति नै आफूमा ईश्वरीय दिव्य शक्तिको जाज्वल्यमान अवतरण अनुभव गर्नेछ ।
भूल त्यहाँबाट सुरु भयो, जहिलेदेखि नारीलाई पुरुषको अभिन्न अङ्ग नमानी उपभोग्य साधन मान्ने कु-कल्पना कसैको मस्तिष्कमा उठ्यो । विशृंखलता आखिर पुरुषले नै सुरु गरेको हो । यसलाई पुरुष जातिले स्वीकार गर्नैपर्छ । माता र सन्तानमा को कसको उपभोक्ता ? यसको उत्तर कठिन छ ।
नारी पनि मनुष्य नै हुन् । फेरि किन उस्तै अन्याय, अत्याचार ? किन उही शोषण ? पशुलाई जस्तो यातना र दबाबको आतंक ? केवल शारीरिक कमजोरीका आधारमा ? अब त्यस्तो आतंकवादी प्रवृत्ति र अनीतिपूर्ण परम्पराको अन्त्य हुनैपर्छ । नारीले पनि के सम्झनुपर्छ भने दबाब स्वीकार्य छैन । अनीतिसँग सम्झौता गर्नु हुँदैन । संघर्षका लागि साधना नभए पनि असहमति र अस्वीकृतिको ज्योति निभ्न दिनु हुँदैन । यसैगरी पुरुषले पनि नारीलाई शोषणमा होइन, सहयोग गर्दा नै लाभ हुन्छ । उनलाई दबाएर राख्दा त्यति ठूलो स्वार्थ सिद्ध हुँदैन जति सुविकसित भएर अनुदानको रत्न-राशि उपलब्ध गर्नुमा हुन्छ । जुन दिन पुरुष वर्गले यो कुरा बुझ्ने र सम्भिmने छ, त्यस दिनदेखि उसलाई भाग्योदयको नयाँ अनुभव हुन थाल्नेछ ।
नारी आफ्नो महान् अनुदान योगदानको प्रत्युपकार चाहन्नन् । उनको माग यति मात्र हो कि मनुष्य जातिमा जन्म लिनुको कारण जुन मानवीय अधिकार उनलाई स्रष्टाले दिएको छ, त्यसको अपहरण नगरियोस् । उनलाई केवल न्याय चाहिएको छ । उनलाई उचित सम्मान दिएर मानव समाजको सभ्य सदस्य मान्ने व्यवस्था हरेक पुरुषले गर्न सके, असन्तोष र असहयोगका कारण अदृश्य किन्तु रोमाञ्चकारी जुन क्षति सहनुपरेको छ, त्यसबाट सहजै मुक्ति मिल्नेछ । समाज र देशको सर्वतोमुखी प्रगतिको द्वार खोलिनेछ ।