पृष्ठभूमिः
‘निशा रावल’ नेपाली खेलवृत्तमा तेक्वान्दो खेलाडीका रुपमा परिचित छिन् । खाइलाग्दो ज्यान, शान्त स्वभाव, फरासिलो मिजास र प्रतिभा सम्पन्न व्यक्तित्वको कारण उनीसँग जोकोही प्रभावित भैहाल्छन् । विगत सात वर्षदेखि तेक्वान्दोको आफ्नो विधामा राष्ट्रिय च्याम्पियन रहँदै आएकी निशा कलिलै उमेरदेखिनै तेक्वान्दो खेलसँग रमाउँदै आएकी थिइन् । कक्षा ४ देखिनै तेक्वान्दो खेल्दै आएकी उनलाई प्रारम्भमा घनश्याम खड्काले प्रशिक्षण दिएका थिए । पछि अष्टबहादुर महर्जनबाट प्रशिक्षण लिँदै दोस्रो डन प्राप्त गरेपछि राष्ट्रिय खेलाडीका रुपमा परिचित हुन सफल भइन् ।
पारिवारिक माहौल र शिक्षादिक्षाः
चालिस र पचासको दशकमा नेपाल प्रहरी टिमबाट एथलेटिक्स खेलाडीको रुपमा प्रतियोगितामा प्रतिनिधित्व गर्ने धावक रोहित रावल निशाका पिता हुन् । पिता रोहित र माता राधिका रावलकी जेठी छोरीका रुपमा वि.स.ं २०५२ सालमा निशाको जन्म भएको थियो । घरपरिवारमै खेलकुद मैत्री वातवरण पाएपछि निशामा पनि यसको प्रभाव नपर्ने कुरै भएन । उनलाई पनि बाबुजस्तै खेलाडी बन्ने रहर त्यतिबेलै लागिसकेको थियो ।
रोहित आफू एथलेटिक्स खेलाडी भए पनि छोरीलाई तेक्वान्दो खेल्न प्रेरित गर्थे । सन् १९८६ को सोल ओलम्पिक र सन १९८८ को सोल एसियन गेममा नेपाली खेलाडीहरुले पनि पदक जित्न सकेकाले नेपालभरि तेक्वान्दोको क्रेज उचालिएको थयो । विधान लामा, नारायण राई, सीता राईहरु हटकेक नै थिए खेल जगतका । यसकै प्रभावस्वरुप रोहितले पनि छोरीलाई तेक्वान्दो खेल्न प्रेरित गरे । ५० कै दशकमा पनि सविता राजभण्डारी, संगीना बैद्य, दीपक विष्टको क्रेज उचाईमा थियो । यसको प्रभाव पनि निशामा नपर्ने कुरै भएन ।
निशा परिवारकी पहिलो सन्तान भएकाले उनको लालनपालन पनि छोराजस्तै गरियो । लवाई र हेयरकट सबै छोराजस्तै बनाइदिएर प्रारम्भदेखिनै निशालाई छोरी हुँ भन्ने महसुुस गर्न दिइएन । उनका बाल्यकालिन साथीहरु केटाकेटी बराबरी नै थिए । विशेषगरी केटाहरुसँग विभिन्न खेलकुद खेल्न उनलाई रुचि लाग्थ्यो । घर वरपरि घुम्दै डुल्दै खेलेको उनलाई अझै याद छ । सानै उमेदेखि हट्टाकट्टा ज्यानले यिनलाई साथ दिएकै थियो ।
विराट बोर्डिङ्ग स्कूलबाट शिक्षारम्भ गरेकी निशाले दिपेन्द्र प्रहरी स्कूल हुँदै तथागत मैथिली स्कूलबाट वि.सं. २०६७ सालमा एस.एल.सी उत्र्तिण गरिन् । स्कूले जीवनमै खेलकुदमा सक्रिय रहँदै विभिन्न खेलहरुमा सहभागी बन्दै विजयी वन्दै गइन् । पुलिस स्कूलको वातावरण अन्यत्रभन्दा बढि नै खेलकुदमुखी रहेकाले निशाले राम्रो वातावरण पाइन् । तेक्वान्दोको आधारभूत तालिम त्यही पाइन । जीवनमै पहिलो पटक प्रतियोगिता खेल्ने अवसर पनि त्यहीबाट पाइन् । कक्षा ५ मा पढ्दै गर्दा बागमती अञ्चल स्त्तरीय जुनियर तेक्वान्दो कम्पिटिसन खेलेर दोस्रो स्थान प्राप्त गर्न सफल भइन् । तत्कालिन तेक्वान्दो मुख्य प्रशिक्ष्क दिपराज गुरुङबाट पुरस्कार पनि पाइन् ।
पछि दीपेन्द्र प्रहरी स्कूल छोडेर तथागत मैथिली स्कूल पढ्न ललितपुर आएपछि पिता रोहितले तेक्वान्दो सिकाउन सातदोबाटोस्थित मैत्री डोजो पु¥याए । यसरी आफ्नो जीवनदाताले नै प्रोत्साहित गरिरहेपश्चात् ‘आत्मसुरक्षा’ कला पनि सिकिने र ताल परेमा राम्रो प्रगति गरिने देखेपछि निशामा पनि खेलाडी बन्ने जोश बढ्दै गयो । मन लगाएर सिक्न थालिन् । राम्रो प्रगति हुँदै गयो । कक्षा आठमा पढ्दै गर्दा उनी एकाएक काठमाडौंमा हुन लागेको ‘पाँचौ राष्ट्रिय खेलकुद २०६५ मा छनौट भइन् । जिल्ला, क्षेत्र सबै जितेर राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न पुगेकी निशा यस प्रतियोगितामा दोस्रो बन्न सफल भइन् । १३ वर्ष कै उमेरमा राष्ट्रिय खेलकुदमा सफलता पाउनु पक्कै सानो कुरा थिएन । २०६७ सालमा एस.एल.सी उत्तिर्णपश्चात् उनी पूर्णरुपले खलमै समर्पित भइन् । राष्ट्रिय प्रतियोगिताको ढोका खुुलिसकेकाले उनमा जोशजागरको कमी थिएन ।
राष्ट्रिय च्याम्पियन तथा अन्तर्राष्ट्रिय सहभागिता
काठमाडौं र मोफसलमा हुने राष्ट्रियस्तरका, क्षेत्रियस्तरका दर्जनौं प्रतियोगितमा सहभागी बन्दै विजयी बन्दै हिँडेपछि यिनको मनोबल उच्च थियो । धनगढीमा २०६८ सालमा सम्पन्न छैठौं राष्ट्रिय खेलकुदबाट यिनी राष्ट्रिय च्याम्पियन खेलाडीका रुपमा परिचित बनिन् । विराटनगरमा २०७२ सालमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा पनि विजयी बनेपछि त यिनी अझ चर्चित बन्न पुगिन् । यसै प्रतियोगिताले यिनको सम्भावना र आयाम बढाउँदै लग्यो । अन्तर्राष्ट्रिय प्रतियोगिताको ढोका पनि खुल्यो । राष्ट्रियस्तरमा सफलता पाएपछि हरेक खेलाडीलाई अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी बन्ने सोच आउँछ । निशामा पनि आयो ।
स्कूले जीवनमै राष्ट्रिय प्रतिस्पर्धामा उत्रेकी निशाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय सहभागिता नेपालमै आयोजना भएको ‘दोस्रो माउन्ट एभरेष्ट इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनशिप २०७१’ मा गरेकी थिइन् । यसै प्रतिस्पर्धाको सफलताले एसियाडमा पुग्न पनि उनलाई सजिलो भयो । आन्तरिक प्रतिस्पर्धा जित्दै उनले कोरियामा सम्पन्न भएको ‘इन्चोक एसियन गेम २०७१’ मा पनि भिड्ने मौका पाइन । प्रतिस्पर्धात्मक खेलमा पराजित भए पनि राम्रो ¥याङ्किङ बनाउन सफल भइन् । एसियन वरियतामा उनी समग्रमा पाँचै स्थानमा पुग्न सफल भइन । पदक नजिते पनि यो नतिजाले उनको खेलकुद जीवनमा नयाँ आयाम ल्याइदियो । यसको लगत्तै कोरियामै सम्पन्न “जेन्जु ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०७२’ मा निशाले दोस्रो स्थान प्राप्त गर्दै रजत पदक जित्न सफल भइन् । त्यस्तै हङकङमा २०७३ सालमा सम्पन्न ‘२० औं सिरिज तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण जितेर पुनः अन्तर्राष्ट्रिय सफलता पाइन् ।
ओलम्पिक सहभागिता
प्रत्येक खेलाडीले आफ्नो खेल जीवनमा ओलम्पिक खेल्ने सपना बुनेका हुन्छन् । चाहे त्यो सपना पूरा होस् या नहोस् तर पक्कै देख्छन् । सपना देख्नेहरु भविष्यमा सपनालाई साकार पार्ने प्रयत्नमा जुट्छन् र अन्त्यमा साकार पारेरै छोड्छन् । सो सवालमा निशा अलि भाग्यमानी देखिएकी छिन् । ओलम्पिक खेल्ने रहर त उनमा पनि नभएको हैन तर यसलाई उनले असम्भव ठान्दै आएकी थिइन् । तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिता र सफलताले उनलाई ओलम्पिक छेउ पु¥याउँदै थियो । उनको टक्करमा नेपाली खेलाडी कोही देखिएनन् । फलस्वरुप ‘एसियन ओलम्पिक क्वालिफाइड’ मा नेपालले उनलाई प्रतिस्पर्धा गर्न २०७३ सालम फिलिपिन्स पठायो । उनले त्यहाँ प्रतिस्पर्धा गरे पनि ओलम्पिक छनौट हुन सकिनन् । निराश भएर आइन् । सकेको मेहनत र खेल त देखाएकी नै थिइन तर उनको केही जोर चलेन ।
भाग्यमा भएको कुरा मेटेर मेटिन्न भने झैं उनले ओलम्पिक खेल्न वाइल्ड कार्ड पाइन् । कोरियामा सम्पन्न एसियन गेममा प्राप्त गरेको ५ आंै नम्बरको एसियन ¥याक्ककै कारण यो ‘वाइल्ड कार्ड’ पाएकी थिइन । यसरी एकाएक आशै नगरिएको सफलता पाउँदा उनमा हर्षको सीमा नै रहेन । यसले खेलमा उत्साह जाग्यो उनलाई । ओलम्पिककै लागि उनले कोरियन प्रशिक्षक जा हो लि र नेपाली प्रशिक्षक संगीना वैद्यसँग प्रशिक्षण लिएर आफूलाई फिट बनाइन । तेक्वान्दो खेलका लागि रहेका चारवटा कोटामध्ये एउटा नेपालकी खेलाडीले पाउन सफल भएको थियो । त्यसमा निशा परेकी थिइन् । हेभिवेटमा प्रतिस्पर्धा गर्ने निशा आइओसीले प्रदान गर्ने छात्रवृत्ति अन्तर्गत पनि प्रशिक्षण गर्दै आइरहेकी थिइन् । रियो ओलम्पिकको आफ्नो प्रतिस्पर्धी चाइनिज खेलाडीसँग तीन राउण्ड राम्रोसँग खेलेर सम्मानजनक हार पाए पछि उनी दुःखी भइनन् । २०७३ साल भदौ ४ गते उनको खेलजीवनकै अविश्मरणिय दिनको रुपमा रहेको छ । जुन दिन उनले जीवनमा पहिलो पटक ओलम्पिक प्रतिस्पर्धा गरेकी थिइन ।
रियो ओलम्पिकपश्चात् निशाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा २८ औं समर युनिभरसाइड, इचोन कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिप, वल्र्ड तेक्वान्दो च्याम्पियनसिप जस्ता गेममा आफूलाई सहभागी गराइन् । कुनै पदक नजितेता पनि यी खेलमार्फत आफूलाई अब्बल राख्दै आएकी छिन् ।
योगदान र मूल्यांकन
आफ्नो पढाइ र अमूल्य समय खेलकुदमा प्रदान गर्नु पक्कै सानो कार्य हैन । खेलकुदकै विकास र विस्तार भनेर निशाले आफ्नो अन्य करियर र पढाई त्यागेकी छिन् । नेपाल र नेपालीको शान÷मानका खातिर देश÷विदेशमा राष्ट्रिय झण्डा बोकेर हिडँेकी छिन् । पदक जितेर हुन्छ की राम्रो खेलकौशल देखाएर देशको इज्जत राखेकी नै छिन् । शरीरले साथ दिएसम्म खेलाडी, त्यसपछि प्रशिक्षक बनेर खेलकुदकै सेवा गर्ने उनको उद्देश्य छ । आफनो घरको दालभात खाएर यसरी राष्ट्रसेवामा लाग्नु पक्कै पनि सानो कुरा होइन । उनको योगदानको उचित कदर र मूल्याकंन आउने दिनमा कसरी हुन्छ हेर्न बाँकी नै छ ।