इतिहास बनाउने उद्देश्यमा तेक्वान्दो खेलाडी र प्रशिक्षक

तेक्वान्दोले नेपाललाई विशेष सफलता दिलाएको छ। नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा सबैभन्दा बढी पदक तेक्वान्दोबाटै हासिल गरेको छ। दक्षिण एसियाली खेलकुद (साग) मा पनि नेपाललाई सर्वाधिक पदक तेक्वान्दोबाटै मिलेको छ।

नेपालमै भएको आठौं सागबाट तेक्वान्दोले खेलले सागमा प्रवेश पाएको हो। सागको इतिहासमा नेपाललाई सर्वाधिक २४ स्वर्ण पदक दिलाएको तेक्वान्दो यसपटक पनि घरेलु एरिनामा पुरानो साख जगाउने लक्ष्यमा छ। नेपाली तेक्वान्दो टोली अहिले लामो समयदेखि राम्रो तयारी गरिरहेको छ। नेपालले भारतमा भएको १२औं संस्करणमा भने तेक्वान्दोमा आशलाग्दो प्रदर्शन गर्न सकेको थिएन। अघिल्लो संस्करणमा नेपाल स्वर्णविहीन बनेको थियो। नेपालबाट सहभागी १३ खेलाडीमध्ये १२औंमा सात खेलाडीले रजत र तीन जनाले कांस्य जितेका थिए।

पहिलो पटक स्वर्ण जित्न नसक्नुको पीडा तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले अझै बिर्सिएका छैनन्। ‘भारतमा भएको १२औं सागमा ७ रजत जितेका थियौं। तर के गर्नु तेक्वान्दोमा स्वर्ण पदक ल्याउन सकिएन भने त्यो पदक जस्तो हुँदो रहेनछ,’ नेपाली खेलप्रेमीको भावनाबारे श्रेष्ठले भने। श्रेष्ठ यसलाई नेपाली खेलप्रेमीले तेक्वान्दोमाथि बढी अपेक्षा राखेको मान्छन्।’हामीलाई स्वर्ण जित्ने स्तरमा राख्नु सकारात्मक पक्ष हो,’ श्रेष्ठले भने, ‘नेपाली जनताको आशालाई यसपटक निसारामा परिणत हुन दिँदैनौं। नेपालका लागि बढी पदक जित्छौं।’

नेपालले साग तेक्वान्दोमा सर्वाधिक सफलता सन् १९९९ मा काठमाडौंमै सम्पन्न आठौं दक्षिण एसियाली खेलकुदमा पाएको थियो। त्यतिबेला नेपालले १४ स्वर्णमा सबै जितेर ‘क्लिन स्विप’ नै गरेको थियो। त्यसपछि नेपाली तेक्वान्दोले नवौंमा ६ स्वर्ण, १० मा दुई स्वर्ण र ११ औं संस्करणमा दुई स्वर्ण जित्यो। नेपाली तेक्वान्दो खेलाडी र प्रशिक्षक अहिले तेक्वान्दोको त्यही पुरानो साखलाई जोगाउने तयारीमा छन्। देशमै हुने प्रतियोगितामा नतिजाका हिसाबले पनि उत्कृष्ट बनाउन नेपाल तेक्वान्दो संघ लागिपरेको छ।

साग तेक्वान्दो टोलीलाई सुरुमा सातदोबाटोस्थित संघकै एकेडेमीमा राखेर लामो समयदेखि प्रशिक्षण गराईएको थियो। टोलीमा युवा र अनुभवी खेलाडी भएकोले नेपालले तेक्वान्दोबाट राम्रो नतिजा ल्याउने विश्वास गरिएको छ। नेपालले भाग लिने सबै तौलमा नेपालले पदक जित्नेगरी तयारी गरेको मुख्य प्रशिक्षक नविन श्रेष्ठले बताए। ‘घरेलु मैदानमा हुने सागलाई नतिजामुखी बनाउने हिसाबले सबैले मेहनत गरेका छौं। प्रशिक्षणमा रहेका सबै खेलाडीबाट पदकको आशा गरिएको छ। हालै चीन र मलेसियामा गरिएको बैदेशिक प्रशिक्षणले खेलाडीमा थप उत्साह बढेको छ। अघिल्लो संस्करणको पीडा भुल्न पनि यस पटक राम्रो गर्नुको विकल्प छैन,’ श्रेष्ठले भने।

साग तेक्वान्दो खेलाडी 

१३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि तेक्वान्दोमा नेपालबाट यसअघि नै ३४ खेलाडी छनोट गरिएको छ। नेपाल तेक्वान्दो संघले पुम्सेमा १८ र क्यारोगीमा १६ गरी ३४ खेलाडी छनोट गरेको हो। पुम्सेमा समान नौ पुरुष र महिला तथा क्यारोगीमा समान आठ पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। सागको पुम्से महिलातर्फ १८ देखि २३ वर्षमा सीना मादेन, निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना छनोट भएका छन्।

२४ देखि २९ वर्षसम्म पार्वती गुरुङ, नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई छनोट भए। ३० वर्षमाथि एसियाली पदक विजेता आयशा शाक्य छन्। पुरुषतर्फ १८ देखि २४ वर्षमा कृष्ण तामाङ, शिशिर श्रेष्ठ, असीम राउत र दीपेन्द्र गुरुङ छन्। २४ देखि २९ वर्षसम्म कमल श्रेष्ठ, जितबहादुर बोटे र प्रेमबहादुर लिम्बू सागको छनोटमा छन्। ३० वर्षमाथि रेजिन रिमाल र सञ्जीव ओझाले प्रतिस्पर्धा गर्नेछन्।यसैगरी क्यारोगीमा महिला ४६ केजीमुनि काजल श्रेष्ठ, ४९ केजी मुनि युनिशा राई, ५३ केजीमुनि अस्किता खड्का, ५७ केजीमुनि निमा गुरुङ, ६२ देखि ७३ केजीमा मनिता शाही, ६७ केजीमुनि संगीता बस्याल, ७३ केजीमुनि अप्सरा कार्की र ७३ केजीमाथि निशा रावलले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ ५४ केजीमुनि मनोज मल्ल, ५८ केजीमुनि गोविन्द आलेमगर, ६३ केजीमुनि ज्ञानेन्द्र हमाल, ६८ केजीमुनि वीरबहादुर महरा, ७४ केजीमुनि निश्चलमान श्रेष्ठ, ८० केजीमुनि किरण आलेमगर, ८७ केजीमुनि भूपेन  श्रेष्ठ र ८७ केजीमाथि सक्षम कार्कीले प्रतिस्पर्धा गर्नेछन्।

अन्तिममा मनिताको प्रवेश 

तेक्वान्दोकी चर्चित खेलाडी हुन् मनिता शाही। अमेरिकामा बस्दै आएकी शाही साग खेल्न नेपाल आइन्। छनोट खेलमा हेवी वेटमा निशा रावलसँग पराजित भएपछि सुरुमा मनिताको साग यात्रा सकिएको थियो। सागमा छनोट भएकी इन्दिरा बस्नेतले उमेर नपुगेर खेल्न नपाउने भएपछि नेपाल तेक्वान्दो संघले मनितालाई साग टोलीमा समावेश गरेको छ। नागरिकतामा इन्दिराको उमेर साढे १६ वर्ष पुगेको छ। विश्व तेक्वान्दो महासंघ (डब्लूटीएफ)को नियमानुसार अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न खेलाडीको उमेर १८ वर्ष पूरा गरेको हुनुपर्छ। त्यसैले इन्दिराका लागि साग खल्लो बन्यो। यसको फाइदा मनितालाई भएको छ।

इन्दिरा बाहिरिएसँगै संघले महिलातर्फ ६२, ६८ र ७३ केजीको आन्तरिक छनोट खेल गराएर मनितालाई साग टोलीमा समावेश गरेको मुख्य प्रशिक्षक नवीन श्रेष्ठले बताए। ‘मनिता पदकको सम्भावना बोकेकी खेलाडी हुन्। उनले पुनः छनोट खेलबाट टोलीमा स्थान बनाउँदा पदकका हिसाबले नेपाललाई फाइदा हुनेछ’, प्रशिक्षक श्रेष्ठले भने। तेक्वान्दोकी सफल खेलाडी मनिताले २००६ को दोहा एसियाडमा कांस्य जितेकी थिइन्। उनले १०औं सागमा स्वर्ण र ११औं सागमा रजत पदक जितेकी थिइन्।

अघिल्लो सागमा स्वर्ण जित्न नसकेको पीडा भुलाउन नेपालले कडा मिहिनेत गरेको प्रशिक्षक श्रेष्ठले बताए। ‘खस्किएको जस्तो देखिएको तेक्वान्दोले यसपटकको सागमा साख फर्काउनेछ,’ श्रेष्ठले भने। सागका लागि विगत ३ महिनादेखि प्रशिक्षण गर्दा अन्तर्राष्ट्रिय एक्पोजर पाएकाले नेपालले राम्रो खेल्ने उनको दाबी छ।

२ महिना स्वदेशमा प्रशिक्षण गरेपछि नेपाल खेलाडीहरु एक महिनाको प्रशिक्षणका लागि चीन, इन्डोनेसिया र मलेसिया पुगेका थिए। पुम्से टिमले इन्डोनेसिया र मलेसियामा प्रशिक्षण गरेका थिए। ग्योरुगी टिम चीन भ्रमणमा गएको थियो। पुम्से टिमले इन्डोनेसियामा भएको प्रतियोगितामा भाग लिएको थियो। त्यहाँ कास्य पदक हात पारेको प्रशिक्षक श्रेष्ठले बताए। त्यसपछि नेपाली टिमले इन्डोनेसिया राष्ट्रिय टिमसँग अभ्यास गरेको थियो।

‘इन्डोनेसिया राष्ट्रिय टिम एसियाली खेलकुदको स्वर्ण विजेता भएकाले उनीहरुसँग नेपाली टिमले प्रशिक्षण गर्दा फाइदा पुगेको छ,’ श्रेष्ठले भने।इन्डोनेसियाबाट फर्किएपछि नेपाली टिमले मलेसियाको राष्ट्रिय टिमसँग अभ्यास गरेको थियो। ग्योरुगी टिमले चिनको सियान स्पोर्ट्स युनिभर्सिटीमा अभ्यास गरेको थियो। त्यस दौरान ग्रान्डस्लाम र चाइना ओपनमा भाग लिएको नेपालले १ रजत र ४ कास्य जितेको थियो।

एक महिनाको वैदेशिक प्रशिक्षणले खेलाडीमा हौसला बढेको श्रेष्ठले बताए।नेपालले यसपटको सागमा भारतलाई मुख्य प्रतिद्वन्दी मानेको थियो। तर भारतले तेक्वान्दोमा प्रतिस्पर्धा नगर्ने भएपछि नेपालले स्वर्ण संख्या बढाउने प्रशिक्षक श्रेष्ठले बताए। ‘कम्तिमा पनि १० देखि १२ स्वर्ण जित्नेछौं,’ श्रेष्ठले भने, ‘भारत नआएपछि स्वर्ण संख्या बढ्नेछ।’योङ डाल क्वान, नवीनकुमार श्रेष्ठ, टिकाप्रसाद लिम्बु, दीपक विष्ट, संगिना वैद्य ,नोर्बु लामा, हिराबहादुर थापाको प्रशिक्षणमा तेक्वान्दो टिम प्रशिक्षणरत छ । यसपटक राम्रो सफलता दिलाएर इतिहास रच्ने दाउमा खेलाडी र प्रशिक्षक रहेका छन् ।