नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म कोहलपुर एक्सप्रेस यतिबेला हलहरुमा छ । कमेडी धारमा बनेको फिल्मप्रति मिश्रति प्रतिक्रियाहरु आइरहेका छन् ।शुक्रबार फिल्मको ओपनिङ त्यति दमदार हुन सकेन । शुक्रबार ५० प्रतिशत अकुपेन्सीबाट सुरुवात गरेको फिल्मलाई हलिउड फिल्म एभेन्जरले गर्दा धक्का लागेको छ । मल्टिप्लेक्सहरुले हिन्दी फिल्मलाई उच्च शो दिँदा यस्ले कम शो पाएको छ ।
कथाको विश्वसनीयतामाथि प्रश्न नगर्ने र चरित्र चित्रणलाई तर्कसंगत मान्ने हो भने कोहलपुर एक्सप्रेसले ‘मुड फ्रेस’ बनाउँछ । रमाइलो गराउन पात्र र प्रवृत्ति तथा प्रसंग र परिस्थितिको बान्की मिलेको छ। चलचित्र प्रदर्शन सँगै केकीले आलोचना खेप्नु परेको छ । यस अर्थमा भन्नु पर्दा उनको चलचित्र निर्माणको पहिलो गासमै ढुगां लागेको छ । उनले निर्माण गरेको चलचित्रलाई साउथ इन्डीयन सिनेमा मुम्बई एक्सप्रेसबाट कपी गरिएको आरोप लागेको छ । केकीले भने दुवै फिल्म एकपटक हेरेर मात्र टिप्पणी गर्न आग्रह गरिन् ।उनले धेरैजसो फिल्महरु कुनै न कुनै स्वदेशी वा विदेशी फिल्मबाट प्रभावित हुने उल्लेख गर्दै कोहलपुर एक्स्प्रेस पनि मुम्बई एक्स्प्रेसबाट प्रभावित भएको स्वीकारिन् । सरक्कै उतारिए को भन्ने आरोपप्रति उनको आपत्ति छ ।
कथा
गर्भको बच्चाले आफूले जस्तै दुख, कष्ट खेप्न नपरोस् भन्नका खातिर चम्पा सम्पत्ति जगेर्ना गर्न चाहन्छिन् । यसका लागि उनीसँग ‘मास्टर प्लान’ छ । त्यही अभीष्ट पूरा गर्नका लागि देवर, भाइ र अर्की युवतीलाई साथ लिन्छिन् ।मारवडी साहुका स्कुले छोरोलाई अपहरण गर्ने दाउपेच चल्छ ।चम्पाले आफ्नै संगिनी जुनकिरीलाई यसको सूत्रधार बनाउँछे । खासै कान नसुन्ने र सोझो प्रवृत्तिकी जुनकिरी चम्पाकै करकापमा बच्चा अपहरण गरेर पैसा असुल गर्ने धन्दामा राजी हुन्छिन् ।
अब रमाइलो खेल सुरु हुन्छ । अपहरण गर्न खटाइएकी जुनकिरी राम्ररी कान सुन्दिनन् । उनको सहयोगी भकभके छन् । अपहरण र असुलीको उपक्रममा दुवै एकअर्कासँग पग्लिन्छन् पनि । तर, उनीहरूको लभ-रोमान्सले कथामा कत्ति पनि ठाउँ पाउँदैन । कडा मिजासकी चम्पाको योजनामुताविक खुरुखुरु आज्ञापालन गर्नु जो छ !स्कुलमा आएका बच्चा अपहरण गरिन्छ । फिरौती मागिन्छ । जुन बच्चालाई अपहरण गरिएको हो, उसकी आमा तिर्सना बार डान्सर हुन्छिन् । तर, अपहरणमा परेका बच्चाका असली पिता को हुन् ? मारवाडी साहु ? डिआइजी ? मेयर ?तिर्सनाले बच्चाका असली पिता को हुन् भन्ने भेद खोलेकी छैनन् ।यही धमिलोमा बल्छी हान्ने आइडिया फुरेको छ, तिर्सनालाई पनि । यसरी अपहरण र असुलीमा एकपछि अर्का पात्र थपिँदै जान्छन् । अपेक्षा बढ्दै जान्छ ।फिल्मको ह्याप्पी इन्डिङ नभएसम्म चम्पालाई प्रसूति होइन, ‘अपहरण र असुली’को छटपटीले सताउँछ ।
कमजोरी
कमेडी फिल्म भएकाले फिल्मको सबै शक्ति हँसाउनमै खर्च गरिएको छ । तर, कान नसुन्ने र बोल्न नसक्ने पात्रलाई एकै ठाउँमा उभ्याएर जसरी हँसाउने चेष्टा गरिएको छ, त्यसअनुरूप उनीहरूले झेल्ने परिस्थितिलाई स्वाभाविक बनाउन सकिएको छैन ।
गर्भवती महिलाले अपहरणको तानाबाना मिलाउनु । पेटको उपचार गर्न उनको लोग्ने अस्पताल भर्ना हुनु । अपहरित फुच्चे स्वयं अपहरणको नाटकमा सहभागी हुनु । मारवाडी साहुसँग फिरौती असुल गर्नु । कुनै पनि घटनाको बनोट कसिलो नभएको मात्र होइन, विश्वसनीय समेत छैन ।
हिन्दी फिल्मको फोटोकपी उतार्ने जोडघटाउमा निर्देशक लागेका देखिन्छन् ।दर्शकलाई हँसाउने चक्करमा यति सतही कथा बुनिएको छ कि, त्यो कुनै पनि कोणबाट रसिलो र कसिलो लाग्दैन । अपहरण गर्ने र फिरौती असुल गर्ने हल्काफुल्का खेलले कोहलपुर एक्सप्रेसलाई सतही बनाएको छ ।अपहरण गर्ने, फिरौती असुल्ने, प्रहरीलाई उल्लु बनाउने काम यसरी भएको छ, मानौँ त्यो कुनै मुस्किल काम होइन । यही मूल कथाका बीचमा प्रेम-रोमान्स पनि प्रवेश गर्न खोज्छ । ऋचा शर्मा बढी नाटकीय लाग्छिन् । कतिपय पात्रको उपस्थिति भने बेकार छ ।
सबलता
फिल्ममा चित्त बुझाउने एउटै कुरा कलाकारको अभिनय हो । देख्दा सोझी तर भित्री चतुर्याइँ गर्ने स्वभावकी युवतीमा केकी सुहाएकी छिन् । खास भूमिका नभए पनि बुद्धि तामाङको उपस्थितिले दर्शक रोमाञ्चित हुन्छन् ।फिल्मभरि नै अस्पतालको शैयामा बसेका तामाङको अभिनय र संवाद रुचिपूर्ण छ । कडा मिजासकी गर्भवतीको भूमिकामा प्रियंका औसत देखिएकी छिन् ।