दक्षिण एसियाली देशले एसियाली खेलकुद र ओलम्पिक मात्र खेल्ने भएकाले आपसी सम्बन्ध बलियो हुन नसकेको राष्ट्रिय खेलकुद परिषद्का तत्कालिन सदस्यसचिव शरदचन्द्र शाहको तर्क थियो। खेलकुद परिषद्लमा लामो समय नेतृत्व गरेका शाहले सार्क क्षेत्रका देशबीचको सम्बन्धलाई मजबुत पार्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता गर्नु पर्ने अवधारणा राखेका थिए। लामो छलफलपछि बि.सं ३०३९ मंसिरमा दक्षिण एसियाली खेलकुद महासंघ स्थापना गरिएको थियो। महासंघमा सुरुमा पाँच देश मात्र सदस्य थिए। सुरुमा नेपाल, भारत, पाकिस्तान र श्रीलंका सदस्य बने। पछि भुटान र माल्दिभ्सले पनि सदस्यता लिए।
पहिलो साफ
दक्षिण एसियाली खेलकुल महासंघ स्थापन भएको दुई वर्षपछि पहिलो संस्करणको प्रतियोगिता आयोजना भएको थियो। पहिलो दक्षिण एसियाली महासंघ खेलकुद (साफ) को आयोजना जिम्मा नेपालले पाएको थियो (बि.सं २०६३ देखि साग नामाकरण गरिएको)। बि.सं २०४१ माकाठमाडौंमा भएको साफको पहिलो संस्करणका ७ देशले भाग लिएका थिए। साफका लागि दशरथ रंगशालाको स्वरुप परिवर्तन गरिएको थियो। साधारण प्यारापिट र भाइआइपी प्यारापिटको तल्लो भाग काटेर बार लगाइएको थियो। तत्कालिन राजा वीरेन्द्रले साफको उद्घाटन गरेका थिए।
पहिलो साफमा एथलेटिक्स, बक्सिङ, फुटबल, पौडी र भारोत्तोलन गरी पाँच खेलमा प्रतिस्पर्धा भएको थियो। जहाँ भारतले सबैभन्दा बढी पदक जित्ने क्रममा ४४ स्वर्ण, २८ रजत, १६ कास्य गरी कुल ८८ पदक हात पारेको थियो। श्रीलंका ७ स्वर्ण, ११ रजत र १९ कांस्य जितेर दोस्रो भएको थियो भने तेस्रो बनेको पाकिस्तानले ५ स्वर्ण ३ रजत र २ कासय हात पारेको थियो। आयोजक नेपालले ४ स्वर्ण, १२ कास्य र ८ रजत पदक हात पारेको थियो। बैकुण्ठ मानन्धरले नेपालका लागि पहिलो स्वर्ण म्याराथनमा जितेका थिए। पहिलो दिन नै म्याराथनको प्रतिस्पर्धा भएकाले मानन्धर नेपालका लागि पहिलो स्वर्ण जित्ने खेलाडी बनेका थिए। त्यतिबेलासम्म नेपालले अन्य आधिकारीक प्रतियोगितामा स्वर्ण जित्न सकेको थिएन।
नेपालका लागि पहिलो स्वर्ण जित्नुअघि बैकुण्ठले ३ पटक ओलम्पिक र ३ पटक एसियाली खेलकुदमा भाग लिइसकेका थिए। त्यसैले उनले सहजै रुपमा स्वर्ण जितेका थिए। बैकुण्ठको दौड हेर्न राजा वीरेन्द्र रंगशालामै पुगेका थिए। स्वर्ण जितेपछि वीरेन्द्रले उठेर ताली पिटेका घटना बैकुण्ठ अहिले पनि सुनाइरहन्छन्। पहिलो साफमा नेपालले बक्सिङबाट २ स्वर्ण जितेको थियो। दलबहादुर रानामगर र पुष्करध्वज शाहीले बक्सिङमा स्वर्ण पदक हात पारेका थिए।
फुटबल पनि स्वर्ण जित्ने क्रममा नेपालले फाइनलमा बंगलादेशलाई हराएको थियो। दशरथ रंगशालामा भएको रोमाञ्चक फाइनलमा नेपाल ४–२ ले विजयी भएको थियो। यो नेपाली फुटबलले हात पारेको पहिलो अन्तर्राष्ट्रिय पदक हो। भक्तराज राजकर्णिकार, विदुर विष्ट, विनय श्रेष्ठ, धिरेन्द्र प्रधान, किरण राई, गणेश थापा, केदार मानन्धर, कृष्ण थापा, रुपकराज शर्मा, लोकबहादुर शाही, मानबहादुर मल्ल, पवन रानामगर, राजकाजी शाक्य, श्रीराम रञ्जितकार, सुरेश बस्नेत, उमेश प्रधान र वाइबी घले नेपाली फुटबलमा पहिलो उपाधि उचाल्ने स्वर्णीम नाम हुन्।
दोस्रो साफ
दोस्रो साफ बंगलादेशको ढाकामा आयोजना भयो। साफ इतिहासमा कम समयको अन्तरालमा आयोजना भएको १९८५ को ढाका साफ हो। पहिलो साफ सकिएको १५ महिनापछि बि.सं २०४२मा आयोजना भएको साफमा पनि सात देश सहभागी थिए। जहाँ एथ्लेटिक्स, बक्सिङ, फुटबल, कबड्डी, पौडी, भारोत्तोलन र कुस्ती गरी ७ खेलमा प्रतिस्पर्धा भएको थियो। २० डिसेम्बरमा बंगबन्धु राष्ट्रिय रंगशालामा बंगलादेशका तत्कालिन राष्ट्रपति मोहमद इर्सादले दोस्रो साफको उद्घाटन गरेका थिए।
दोस्रो साफमा नेपालको प्रदर्शन कमजोर रह्यो। नेपालका लागि म्याराथनमा बैकुण्ठ मानन्धरले मात्र स्वर्ण जित्न सके। नेपाल पदक तालिकामा भुटान र माल्दिभ्स भन्दा अघि पाँचौ स्थानमा रह्यो। एथ्लेटिक्सका अमिरी यावद रजतमा सिमित बनेका थिए। अघिल्लो संस्करणमा स्वर्ण जितेका बक्सर पुस्करध्वज शाही पनि फाइनलमा पराजित हुँदा रजतमै सीमित बन्न पुगेका थिए। भारोत्तोलन खेलाडीहरु सुरेन्द्र हमाल, सुमसुद्दिन सिद्धिकी र मनन शिभक्तीले पनि रजतमै चित्त बुझाउन परेको थियो।
पहिलो साफमा स्वर्ण जितेको नेपाली फुटबल टिम तेस्रो स्थानमै सीमित बन्न पुगेको थियो। तेस्रो स्थानका लागि भएको खेलमा नेपालले पाकिस्तानलाई ३–२ गोलले पराजित गरेको थियो। त्यसअघिको निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो। दोस्रो साफमा नेपालले १ स्वर्ण, ९ रजत र २२ कास्य पदक हात परेको थियो। एक मात्र स्वर्ण जितेपछि नेपाली खेल पदाधिकारीको चर्को आलोचना भएको थियो। लगातार दोस्रो स्वर्ण जितेर इतिहास बनाएका बैकुण्ठलाई विमानस्थलमा स्वागत गर्दा ‘करोडौको रुपैयाँको एक स्वर्ण’ भनेर नाराबाजी भएको थियो।
तेस्रो साफ
तेस्रो साफ सन् बिं.सं २०४४ मा भारतको कलकत्तामा आयोजना गरियो। ‘साल्ट लेक’ रंगशालामा भारतका तत्कालिन राष्ट्रपति रामास्वामी वेन्कटारमनले तेस्रो साफको उद्घाटन गरेका थिए। तेस्रो साफमा पनि भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, नेपाल, भुटान र माल्दिभ्सले भाग लिएका थिए। तेस्रो साफमा एथ्लेटिक्स, बास्केटबल, बक्सिङ, फुटबल, कबड्डी, पौडी, टेबलटेनिस, भलिबल, भारोत्तोलन र कुस्ती गरी १० खेलमा प्रतिस्पर्धा भएको थियो। खोखोलाई प्रदर्शनी खेलमा राखिएको थियो।
तेस्रो साफमा नेपालले २ वटा मात्र स्वर्ण जित्न सक्यो। बैकुण्ठ मानन्धरले लगातार तेस्रो पटक म्याराथनमा स्वर्ण जितेर इतिहास बनाए। उनी नेपाल र साफमा लगातार तेस्रो स्वर्ण जित्न पहिलो खेलाडी हुन्। स्वर्णसँगै उनले म्याराथनमा नयाँ रेकर्ड पनि कायम गरेका थिए। म्याराथन २ घन्टा १५ मिनेट ०३ सेकेन्ड पूरा गरेर उनले रेकर्ड बनाएका थिए। दक्षिण एसियाली खेलकुदमा यो रेकर्ड अहिलेसम्म कुनै खेलाडी पनि तोड्न सकेका छैनन्।
कलकत्तामा बैकुण्ठसँगै बक्सर दलबहादुर रानामगरले स्वर्ण पदक हात पारे। दोस्रो साफका चुकेका रानामगरले पहिलो साफमा पनि स्वर्ण पदक हात पारेका थिए। यो साफमा नेपाली फुटबल टिम स्वर्ण जित्नबाट बञ्चित बन्यो। कलकत्ताको इडिन गार्डेनमा भएको फाइनलमा घरेलु टिम भारतले नेपालमाथि १–० को जित हात पारेको थियो। तेस्रो साफमा नेपालले ७ रजत जित्दा ३३ कास्य हात पारेको थियो। नेपाली टिम उक्त साफमा बढी कास्य पदत हात पारेको टिम बनेको थियो। सो साफमा पनि नेपालले पदक तालिकामा भुटान र माल्दिभ्सलाई मात्र पछि पार्न सक्यो।
चौथो साफ
नेपाल, बंगलादेश र भारतपछि पाकिस्तान दक्षिण एसियाली खेलकुद आयोजना गर्ने चौथो देश बन्यो। पाकिस्तानले बिं.सं २०४६मा चौथो साफ इस्लामबादमा आयोजना गर्यो। यो साफमा नौ खेलमा प्रतिस्पर्धा भएको थियो। स्क्वासमा पहिलो पटक प्रतिस्पर्धा भएको थियो। यो साफमा भारतले सदा झैै पदक तालिकामा बर्चश्व जमाउदा आयोजक पाकिस्तानले दोस्रो बन्यो। भारतले ६१ स्वर्ण, ४३ रजत र २० कस्य गरी १२४ पदक हात पार्यो। पाकिस्तानले ४५ स्वर्ण, ३३ रजत र ४२ कास्यसहित कुल १२० पकद जितेको थियो।
यो साफमा पनि नेपालको प्रदर्शन खराब रह्यो। नेपालले एक मात्र स्वर्ण जित्दा पदक तालिकामा भुटान र माल्दिभ्सलाई मात्र पछि पार्न सक्यो। नेपालका लागि बक्सर चित्रबहादुर गुरुङले मात्र स्वर्ण जितेका थिए। अघिल्ला तीन संस्करण पदक कुनै न कुनै पदक जितेको फुटबलले चौथो साफमा पदक दिलाउन सकेन। फुटबलको तेस्रो स्थानका लागि भएको खेलमा नेपाललाई भारतले २–१ गोलले पराजित गरेको थियो।
पाँचौ साफ
२–२ वर्षको अन्तरालमा साफ हुने क्रम जारी रहदा श्रीलंकाले बि.सं २०४८ मा पाँचौ संस्करणको आयोजनाको जिम्मा लियो। कोलम्बोमा भएको पाँचौ साफमा १० खेलमा प्रतिस्पर्धा भयो। यो साफमा पनि भारत नै अग्र स्थानमा रह्यो। श्रीलंका पदक तालिकाको दोस्रो स्थानमा आउन सफल भएको थियो। भारतले ६४ स्वर्ण जित्दा श्रीलंकाले ४४ स्वर्ण हात पारेको थियो। अघिल्लो साफमा दोस्रो भएको पाकिस्तानले २८ स्वर्ण मात्र हात पार्न सफल भयो।
पाँचौ साफमा नेपालले २ स्वर्ण हात पारेको थियो। नेपालका लागि सुटिङमा अनिता श्रेष्ठले स्वर्ण पदक दिलाएकी थिइन्। यसैगरी नेपालले टेबलटेनिसको महिला टिम इभेन्ट्समा अर्को स्वर्ण पदक हात पारेको थियो। नेपाली टेबलटेनिस टिममा नीलम तुलाधर, पूजा थापा, सिजारिन शाह र गीता क्षेत्री थिए। त्यतिबेला नेपालले ८ रजत जितेको थियो।
छैटौं साफ
बि.सं २०५० मा छैटौं साफ ढाकामा आयोजना हुँदा बंगालदेश दोस्रो पटक साफ आयोजना गर्ने मुलुक बन्यो। छैटौं साफमा ११ खेलमा प्रतिस्पर्धा भएको थियो। भारतले आफ्नो प्रभाव निरन्तर राख्ने क्रममा ६० स्वर्ण जितेको थियो भने पाकिस्तान २३ स्वर्णमा सीमित बन्यो। श्रीलंकाले २० र आयोजक बंगलादेशले ११ स्वर्ण हात पारे। नेपालले भने एक स्वर्ण पदक मात्र जित्न सक्यो। नेपालले ६ रजत र १५ कास्यमै चित्त बुझाउनु परेको थियो।
नेपालले फुटबलमा स्वर्ण पदक हात पारेको थियो। त्यतिबेला नेपाललाई उपाधि जिताउन मणी शाहले उत्कृष्ट प्रदर्शन गरेका थिए। नेपाली म्याराडोनाको नामले चिनिने शाहले देशलाई स्वर्ण जिताउन उनले अभूतपूर्व खेल प्रदर्शन गरेका थिए बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा। त्यतिबेला फाइनल खेल सकिन दुई मिनेट बाँकी रहँदा नेपाल २-१ ले भारतसँग पछाडि परेको थियो।
तर, यो नतिजा उल्ट्याउँदै उनले नेपाललाई स्वर्ण दिलाउन महत्वपूर्ण योगदान गरेका थिए। फाइनलमा उनले फ्रिकिकमार्फत बराबरी गोल गरेका थिए भने पेनाल्टी सुटआउटमा अर्को गोल गरेपछि नेपाल टाइब्रेकरमा ५-४ गोलले विजयी भएको थियो। त्यो गोल अहिले पनि नेपाली फुटबलमा आकर्षक मानिन्छ। उनले भारतका ७ खेलाडीले बनाएको ‘वाल’ तोड्दै फ्रिकिकमार्फत गोल गरेका थिए।
सातौं साफ
बि.सं २०५२ मा भारतले चेन्नई शरहमा सातौं साफ आयोजना गर्यो। १४ खेलमा प्रतिस्पर्धा यो साफमा भारतले १६६ स्वर्ण जितेर इतिहास बनाएको थियो। दोस्रो बनेको श्रीलंकाले १६ र तेस्रो भएको पाकिस्तालने १० स्वर्ण हात पारे।
बंगलादेशले ७ स्वर्ण हात पार्दा नेपालले ४ स्वर्ण हात पारेको थियो। सन् १९८४ पछि नेपालले ४ स्वर्ण पहिलो पटक हात पारेको थियो। त्यतिबेला नेपलाका लागि एथ्लेटिक्समा टिका बोगटीले स्वर्ण जित्दा बाँकी ३ स्वर्ण जुडोबाट आएको थियो। जुडोबाट विरबहादुर राना, जितबहादुर चौधरी र रमेश बस्नेतले स्वर्ण पदक जित्न सफल भएका थिए।
सातौं साफ आयोजना भएको चार वर्पछि नेपालले सन् १९९९ मा आठौं साफको आयोजना गर्यो। काठमाडौंमा आयोजना भएको साफमा कराते र तेक्वान्दोलाई पहिलो पटक सहभागी गराइएको थियो। यी दुवै विधामा नेपालले उत्कृष्ट प्रदर्शन गर्यो। दुवै विधामा नेपालले १४–१४ स्वर्ण हात पारेको थियो। यस्तै नेपालले बक्सिङबाट २ र पौडीको महिला टिम इभेन्ट्समा पनि स्वर्ण जित्न सफल भएको थियो।
आठौं साफ
१२ खेल समावेश भएको साफमा सधैं झैं भारतले सर्वाधिक पदक जित्ने क्रममा १०२ स्वर्ण जितेको थियो। नेपालले पहिलो पटक दोहोरो अंकमा स्वर्ण जित्ने क्रममा ३१ स्वर्ण पदक हात पारेको थियो। नेपाल अंक तालिकमा पहिलो पटक दोस्रो स्थानमा आएको थियो। नेपालले १० रजत र २४ कास्य पदक जितेको थियो। तेस्रो भएको श्रीलंकाले १६ स्वर्ण र चौथो बनेको पाकिस्तानले १० स्वर्ण हात पारेका थिए। बंगलादेशले २ स्वर्ण जित्दा भुटालने पनि साफ इतिहासमा पहिलो पटक स्वर्ण हात पारेको थियो।
साफमा नेपालका लागि करातेबाट अन्जु हाछेथु (टिम काता), विजय लामा (टिम काता), विना सुवाल (टिम काता), गोपीलाल बंजन (टिम काता), कृष्णा राई (टिम काता), प्रविना लामा (टिम काता), सोना थापा (टिम काता) र तेजु गरुङले स्वर्ण जितेका थिए। यसैगरी विनिता चौधरी, दीपक श्रेष्ठ, ध्वजमान मोक्तान, गंगराम महर्जन, जुनु राई, मीना पाठक, निता राई, प्रिति डंगोल, राजेश श्रेष्ठ, रवि महर्जन र सुरेन्द्रलाल श्रेष्ठले स्वर्ण पदक जिते।
यसैगरी तेक्वान्दोमा अशोक कुमार लामा, बन्दना श्रेष्ठ, दीपक विष्ट, कमलबहादुर क्षेत्री, किशोर श्रेष्ठ, कोशिस खड्का, प्रमिला थापा, राजकुमार राई, रविउज्वल थपलिया, रेनुका रानामागर, जितुजिमी राई, सविता राजभण्डारी, संगिना वैद्य र सीता राई स्वर्ण हात पारे।
बक्सरद्वय प्रकाश थापामगर र रामचन्द्र थापामगरले पनि घरेलु भूमीमा आयोजना भएको साफमा स्वर्ण पदक जितेका थिए। नयना शाक्य, रुबिना प्रधान, स्तुति सिंह र रुना प्रधान सम्मिलिन पौडी टिमले पनि स्वर्ण जितेको थियो। फुटबलको भने नेपाल रजत पदकमै सीमित बन्यो। सेमिफाइनलमा माल्दिभ्सलाई २–१ ले हराउँदै नेपाली फुटबल टोली छैटौँ साफपछि पहिलोपटक फाइनलमा पुग्न सफल भयो।
घरेलु दर्शक र मैदानका कारण नेपालले पक्कै स्वर्ण पदक जित्छ भनी चर्चा भएको थियो। खेलको ४४औँ मिनेटमा बंगलादेशले अप्रत्याशित रूपमा नेपालविरुद्ध १–० को अग्रता लियो । मोहमद अलफाजले हाम्रो सामान्य गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए। सोहि गोलले नेपाली दर्शकलाई रुवायो र बंगलादेश १–० विजयी भयो।
नवौं साफ
बि.सं २०५७ मा पाकिस्तानको इस्लामावादमा तय गरिएको प्रतियोगिता अमेरिकामा आतंकवादी हमलापछि स्थगित भयो। ट्विनटावर ध्वस्त पारिएपछि अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्यो। त्यसको असर पाकिस्तानमा पर्दा प्रतियोगिता सारिएको थियो। त्यसपछि बि.सं २०६० नवौं साफको मिति घोषणा गरियो। तर भारत र भुटानले भाग लिन अस्वीकार गरे। त्यतिबेला अमेरिका र इराकबीच युद्ध भइरहेको थियो। जसको असर पाकिस्तानमा पनि पर्न सक्ने भन्दै भारत र भुटानले खेल्न अस्वीकार गरेका थिए।
त्यसपछि श्रीलंकालाई बि.सं २०६२ मा प्रतियोगिता गर्न प्रस्ताव गरिएको थियो। तर फेरि बि.सं २०६१ सम्म पाकिस्तानमा आयोजना गर्ने तय भयो। यसपटक भने भारत र भुटान प्रतियोगिता खेल्न तयार भए। तर माल्दिभ्सले भाग लिएन। यहि संस्करणमा अफगानिस्तानलाई आमन्त्रितका रुपमा सहभागी गराइएको थियो।
इस्लामावादमा भएको नवौं साफमा १५ वटा खेलमा प्रतिस्पर्धा भएको थियो। जहाँ भारतले आफ्नो बर्चश्व कायम राख्ने क्रममा १०३ स्वर्ण जितेको थियो। दोस्रो भएको पाकिस्तानले ३८ स्वर्ण र तेस्रो भएको श्रीलंकाले १७ स्वर्ण जितेका थिए। अघिल्लो साफमा ३१ स्वर्ण जितेको नेपालले पाकिस्तानमा ७ स्वर्णमै चित्त बुझाउनु पर्यो।
नेपालका लागि करातेबाट दीपक श्रेष्ठले स्वर्ण जितेका थियो। बाँकी ६ स्वर्ण तेक्वान्दोबाट आएको थियो। तेक्वान्दोका दीपक विष्ट, निरञ्जन श्रेष्ठ, निर्मल श्रेष्ठ, रेनुका रानामगर, रुपा साङ्दम र संगिना बैद्यले स्वर्ण हात पारेका थिए। बंगलादेशले ३ स्वर्ण जितेको थियो भने पहिलो सहभागितामै अफगानिस्तानले १ स्वर्ण हात पारेको थियो। भुटानले पनि १ स्वर्ण जितेको थियो। बि.सं २०६१ मै पाकिस्तानमा बसेको दक्षिण एसियाली स्पोर्ट्स काउन्सिलको बैठकले साफको सट्टामा दक्षिण एसियाली खेलकुद (साग) को नाममा प्रतियोगिता गर्ने निर्णय गरेको थियो।
दशौं साग
श्रीलंकामाका लागि तय दशौं साग पनि समयमै हुन सकेन। इन्डोनेशियन सुनामीले श्रीलंकमा पनि असर गर्दा दशौं साग एक वर्ष धकेलिएको थियो। बि.सं २०६३ अगस्टमा कोलम्बोमा भएको दशौं साग हिंसाको त्रासबाट भने मुक्त हुन सकेन। श्रीलंकामा चलिरहेको गृहयुद्धका कारण साग कडा सुरक्षाका बीच भएको थियो। सरकार र विद्रोही लिट्टेबीच चर्किएको युद्धका कारण भारतले सुरक्षाको विषयमा निरन्तर प्रश्न गरेको थियो। २० खेलमा प्रतिस्पर्धा भएको यो सागको पदक तालिकामा पनि भारत नै अग्रपंक्तिमा रह्यो। भारतले सर्वाधिक ११८ स्वर्ण जितेको थियो। पाकिस्तान ४६ स्वर्णका साथ दोस्रो हुँदा आयोजक श्रीलंकाले ३७ स्वर्ण पदक हात पार्यो।
नेपालले १० स्वर्ण जितेको थियो। नेपालका लागि राजेन्द्र भण्डारीले २ स्वर्ण जितेका थिए। यसैगरी करातेबाट कुशल श्रेष्ठ र सुलोचना सिजवाखाले स्वर्ण हात पारका थिए। तेक्वान्दोका दीपक विष्ट लगातार तीन स्वर्ण जित्न सफल भएका थिए। जससँगै दीपकले लगातार तीन स्वर्ण जित्ने बैकुण्ठ मानन्धरको कीर्तिमानसँग बराबरी गरेका थिए। तेक्वान्दोका लागि मनिता शाहीले स्वर्ण पदक हात पारेकी थिइन्। भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालका लागि ऐतिहासिक स्वर्ण जित्न सफल भएका थिए। यसैगरी उसुकी विना लामा खड्का र राजकुमार रसाइलीले पनि स्वर्ण जितेका थिए।
एघारौं साग
एघारौं दक्षिण एसियाली खेलकुद (साग) सन् २००९ नोभेम्बरमा बंगलादेशमा आयोजना गरिने निर्णय गरिएको थियो। तर आम निर्वाचनका कारण बंगलादेशले निर्धारित मितिमा साग आयोजना गर्न सकेन।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले २०१० जनवरीलाई सागको नयाँ मिति तय गर्यो।
ढाकामा आयोजना भएको सागमा २३ खेलमा प्रतिस्पर्धा भएको थियो। यो साग नेपालका लागि भने खराब सागका रुपमा दर्ज भयो।
उद्घाटनको अघिल्लो दिन नेपाली जुडो खेलाडी बसेको इम्पेरियल होटलमा लिफ्ट खस्दा नौ खेलाडी र एक पदाधिकारी घाइते भएका थिए। घाइते हुनेमा जुडो खेलाडी दुवु थापा र राधादेवी राई थिए। यसैगरी भारोत्तोलनका ज्ञानबहादुर श्रेष्ठ र गोपालबहादुर श्रेष्ठ पनि दुर्घटनामा परेका थिए। दुर्घटनामा पर्ने अन्य जुडो खेलाडीमा कुलमान तामाङ, पुरशुराम चौधरी, दीपककृष्ण श्रेष्ठ र रमेश मगर पनि थिए। घाइते हुँदा पनि प्रतिस्पर्धा गरेकी देवुले कास्य पदक जितेकी थिइन्।
कबड्डी संघका तत्कालिन अध्यक्ष सुनिल राजकर्णिकार र प्रशिक्षकबीच खेलस्थलमै चर्काचर्की परेको घटना नेपाली खेलकुदका लागि लज्जाको विषयमा बन्यो। अफिसियलले मैदानमै झगडा गर्दा खेलाडीलाई प्रत्यक्ष मनोबैज्ञानिक असर गरेको थियो।
राजकर्णिकारले अनावश्यक विवाद निम्त्याएको भनी खेलाडीले समेत आरोप लगाएका थिए। कबड्डीबाट विमल पोखरेल र रामनारायण राय प्रशिक्षकको रुपमा ढाका पुगेका थिए।
राष्ट्रिय खेलकुदबाट सिफारिस विमललाई राजकर्णिकारले नेपाल ओलम्पिक कमिटीको आडमा हटाएपछि विवादले उग्ररुप लिएको थियो।
नेपाल र माल्दिभ्सबीचको फुटबल खेल पनि विवादित बनेको थियो। नेपाल १–० गोलले पराजित हुँदै लिग चरणबाट बाहिरिनु अघि रेफ्रीको निर्णयको नेपालले चर्को विरोध गरेको थियो।
ढाकाको बंगबन्धु रंगशालामा रेफ्रीले विवादास्पद पेनाल्टी दिँदा खेल दुई पटक अबरुद्ध बनेको थियो। यति मात्र होइन खेल सकिएपछि पनि तनाव बढ्दा हात हालाहालको स्थिति बनेको थियो। पहिलो हाफमा रेफ्रीले पेनाल्टी दिँदा खेल ६ मिनेट रोकिएको थियो।
यो विवादमा एन्फाका तत्कालिन अध्यक्ष गणेश थापा समेत सामेल भएका थिए। खेलको अन्त्यमा नेपालका फरवार्ड जुमानु राईले लाइन्सम्यानसँग हात मिलाउन खोज्दा अर्को तनाव भएको थियो। लाइन्सम्यानले झन्डाले राईको पेटमा घोचिदिएका थिए। जसका कारण मैदान झन्डै रणभूमीमा परिणत भएको थियो।
ढाका सागमा ब्याडमिन्टन खेलको उद्घाटन समारोहमा नेपालको पुरानै राष्ट्रिय धुन बजेको थियो। यस्तै साग भिलेजमा पनि पुरानै ‘श्रीमान् गम्भीर नेपाली’ बजाइएको थियो।
यस्तै आयोजकले नेपालको राष्ट्रिय झण्डा पनि गलत आकारको राखेका थिए। नेपालको झण्डा फर्फराउने क्रममा चारकुने कपडामा प्रिन्ट गरेको झण्डा फर्फराइएपछि नेपाली खेलाडीहरुले आपत्ति जनाएका थिए। त्यसपछि झण्डा फेरिएको थियो।
राष्ट्रिय गान र झन्डा गलत प्रयोग गरेपछि आयोजकले माफी नै माग्नु परेको थियो।
नेपालका राजेन्द्र भण्डारीले म्याराथनमा स्वर्ण जिते पनि विवादबाट मुक्त हुन सकेन। राजेन्द्रले विश्वकीर्तिमानी समयमा म्याराथन दौड पूरा गरे पनि आयोजक कमिटीको गल्तीका कारण उनको समयले आधिकारिकता पाएन।
४२ किलोमिटरको म्याराथन ३५.१९५ किलोमिटर खेलाउँदा विवाद उत्पन्न भएको थियो। जसका कारण राजेन्द्रले विश्वकीर्तिमानी समयमा दौड पूरा गरेका थिए।
विवादले घेरिएको सागमा नेपाल आठ स्वर्ण जितेर पाँचौ भएको थियो। नेपालका लागि दीपक विष्ट (तेक्वान्दो), आयशा शाक्य (तेक्वान्दो), विनिता महर्जन (उसु), आङबाबु लामा (उसु), सुनिल लामा (कराते), गंगा अधिकारी (कराते), विनोद शाक्य (कराते) र राजेन्द्र भण्डारी (म्याराथन) ले स्वर्ण पदक पारेका थिए।
तेक्वान्दोका दिपक विष्ट लगातार चार संस्करणमा स्वर्ण पदक जितेर सागका दक्षिण एसियाकै एकमात्र खेलाडी बन्न सफल भए।
त्यसअघि दिपकले श्रीलंकामा भएको दशौं सागमा लगातार तेस्रो स्वर्ण जित्दा बैकुण्ठ मानन्धरको नाममा रहेको कीर्तिमान बराबर गर्न सफल भएका थिए।
यो सागमा पनि भारतले आफ्नो बर्चश्व कायम राख्ने क्रममा ९० स्वर्ण जित्यो। दोस्रो बनेको पाकिस्तानले १९ र तेस्रो भएको आयोजक बंगलादेशले १८ स्वर्ण पदक हात परे।
श्रीलंकाले १६ स्वर्ण जितेर चौथो र ८ स्वर्ण जितेको नेपाल पाँचौ बन्यो। अफगानिस्तानले पनि ७ स्वर्ण जित्न सफल भयो। भुटान र माल्दिभ्स भने फेरि पनि स्वर्णबिहिन बने।
१२औं साग
१२औं दक्षिण एसियाली खेलकुद (साग) अक्टोबर २०१२ मा दिल्लीमा आयोजना हुने तय भएको थियो। तर भारतीय ओलम्पिक कमिटीले फेब्रुअरी २०१३ मा साग गर्ने प्रस्ताव गर्यो।
२०१२ को लन्डन ओलम्पिकलगत्तै साग गर्दा आयोजना गर्दा आर्थिक भार पर्ने दिल्ली सरकारले बताएपछि खेल २०१३ का लागि सारिएको थियो।
यहि बीचमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले राजनीतिक हस्तक्षेप भएको भन्दै भारतीय ओलम्पिक कमिटीलाई प्रतिबन्ध लगायो। जसका कारण साग नै स्थगित भयो।
सन् २०१४ मा भारतलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले प्रतिबन्ध फुकुवा गर्यो।
सन् २०१५ भारतीय ओलम्पिक कमिटी र खेलकुद मन्त्रायलले सन् २०१५ को नोभेम्बरको अन्त्यमा गुवाहाटी र सिलोङमा १२औं साग गर्ने निर्णय गरेको थियो। तर फेरि साग २०१६ को फेब्रुअरीका लागि सारियो।
प्रत्येक २-२ वर्षको अन्तरालमा आयोजना हुनु पर्ने सागको १२औं संस्करण ६ वर्ष धकेलिएको थियो। ३२ वर्षको अवधिमा १२ संस्करण मात्र आयोजना हुन सक्यो।
यो सागमा कराते सहभागी नगराइदा नेपाललाई ठूलो घाटा परेको थियो। सन् १९९९ मा नेपालमा भएको आठौं संस्करणपछि पहिलो पटक सागमा करातेलाई समावेश गरिएको थिएन।
चार संस्करणमा करातेले २० स्वर्ण जितिसकेको थियो। कराते समावेश नहुँदा ६ वर्षदेखि तयारी गरिरहेका नेपाली खेलाडी निराश बनेका थिए। कतिपय खेलाडी पलायन समेत भए।
३ खेलमा प्रतिस्पर्धा भएको १२औं सागमा आयोजक भारतले एक छात्र राज गर्यो। १८८ स्वर्ण जितेको भारतले इतिहासकै बढी पदक जित्यो। दोस्रो भएको श्रीलंकाले २५ स्वर्ण जितेको थियो। पाकिस्तान १२ स्वर्ण जित्दै तेस्रो र अफगानिस्तान ७ स्वर्ण जितेर चौथो भयो।
अफगानिस्तानले यो सागमा अन्तिम प्रतिस्पर्धाको रुपमा भाग लिएको थियो। साग छाडेर अफगानिस्तानले मध्य एसियाको प्रतियोगितामा भाग लिने बताएको थियो। यद्यपी अफगानिस्तानले १३औं सागमा पनि सहभागिता हुन इच्छा देखायो। तर नेपाल ओलम्पिक कमिटीले मार्सल आर्ट बाहेकका खेलमा मात्र सहभागी हुन दिने बताएपछि आगामी मंसिर १५ देखि हुने साग अफगानिस्तान सहभागी छैन।
१२औं सागमा नेपालले ३ स्वर्ण जित्न सक्यो। नेपालले थप २३ रजत र ३३ कास्य हात पारेको थियो। उसुकी निमा घर्तिमगर र जुडोकी फुपुल्यामु खत्रीले स्वर्ण जिताएका थिए। १६ वर्षे निमाले नेपालका लागि पहिलो स्वर्ण दिलाएकी थिइन्।
नेपालले २१ वर्षपछि सागमा जुडोबाट स्वर्ण जितेको थियो। सन् १९९५ को सातौं सागदेखि नेपालले जुडोबाट स्वर्ण जित्न सकेको थिएन। नेपालका लागि ऐतिहासिक स्वर्ण जिताएकी फुपु हाल प्रतिबन्धमा छिन्। टोकियो ओलम्पिकको प्रशिक्षणका लागि जापान रहेको बेला उनी खबर नै नगरी नेपाल फर्किएको जुडो संघले आरोप लगायो। जससँगै संघले २ वर्षका लागि प्रतिबन्ध लगायो। प्रतिबन्धका कारण फुपु १३औं सागका सहभागी छैनन्।
यस्तै नेपालले फुटबलमा घरेलु टिम भारतलाई २-१ गोलले पराजित गर्दै २३ वर्षपछि स्वर्ण जितेको थियो। तेस्रो पटक साग फुटबलमा स्वर्ण जितेको नेपालले अन्तिम दिन भएको फाइनल खेलमा सनसनीपूर्ण जित हात पारेको थियो। त्यसअघि नेपालले साग फुटबलमा सन् १९८४ र १९९३ मा स्वर्ण जितेको थियो।
३ वटा मात्र स्वर्ण हात पारेको साग नेपालका लागि २३ वर्षकै खराब सागका रुपमा परिणत भएको थियो। नेपालले सन् १९९५ को मद्रास सागपछि कम स्वर्ण जितेको थियो। सन् १९९५ मा नेपालले ४ स्वर्ण जितेको थियो। त्यसअघि सन् १९९३ को ढाका सागमा नेपालले १ एक स्वर्ण जितेको थियो।
सन् १९९९ पछि तेक्वान्दोबाट नेपाल पहिलो पटक स्वर्ण बिहीन बन्न परेको थियो। तेक्वान्दोका ७ खेलाडी फाइनल पुगेर पनि पराजित भएका थिए।
१२औं सागमा नेपालका लागि महिला खेलाडीले बढी पदक जिते। नेपालले जितेको कुल ६० पदकमा महिलाको नाममा ३७ पदक रह्यो। नेपालले जितेका तीन मध्ये २ स्वर्ण जित्ने खेलाडी महिला थिए।
यस्तै नेपालले रजत र कास्य पनि महिला नै अघि रहे। महिला खेलाडीले १५ रजत र २० कास्य जितेका थिए। पुरुषले ८ रजत र १४ कास्य पदक हात पारेका थिए।
उसुको १२ पदक मध्ये ५ रजत र १ स्वर्ण महिलाले जिते। जुडोमा पनि महिलाकै प्रदर्शन अब्बल रह्यो। जुडोकी फुपुले स्वर्ण जित्दा २ रजत र ३ कास्य महिला खेलाडीले हात पारे। जुडोबाट नेपालले ९ पदक जितेको थियो।
तेक्वान्दोका ७ रजत मध्ये ५ रजत जित्ने महिला खेलाडी थिए। यस्तै पौडीमा नेपालले जितेका चार पदक नै गौरिका सिंहको नाममा रह्यो। उनले १ रजत र ३ कास्य जितेकी थिइन्। महिला फुटबल टिम र ट्रायथलनकी रोजा केसीले रजत जिते। महिलाका खोखो, भलिबल, स्क्वास, ब्याडमिन्टन र कबड्डी टिमले कास्य पदक हात पारे।