हट एण्ड स्वीट लक्ष्मी

‘लक्ष्मी आचार्य’ नेपाली संगीतमा क्रमश उक्लिरहेको नाम हो । विशेषगरी लोकगीत गायनमा सक्रिय लक्ष्मी सानैदेखि गाउने नाच्ने भनेपछि हुरुक्क हुन्थिन् । गायनसँगै मोडलिङ र अभिनयमा पनि यिनको रुचि बढ्दै गएको छ । स्वर र अभिनय धेरैले रुचाई दिएपछि लक्ष्मीमा काम गर्ने जोश जाँगर बढ्दै गएको छ ।
चट्ट मिलेको फुर्तिलो जीउडालले पनि उनलाई कलाकारितामा रुचाइएको छ । रुपसँगै गला र गलासँगै कला पनि भएकाले लक्ष्मीले गायन र अभिनयमा फड्को मारिन भने आश्चर्य नमाने हुन्छ । २०७१ सालदेखि गायनमा देखापरेकी लक्ष्मीले प्रारम्भमा शोभा थापाको शब्द तथा विजय थापाको लयमा एउटा मिठो गीत गाएकी थिइन् ।
मलाई मेरो कालुले कति माया गर्छ
रामजी स्वाडसँग युगल गाइएको यहि गीतले उनलाई संगीतप्रेमी माझ चिनायो । सर्वत्र उनको प्रतिभाको तारिफ भयो । यहि गीत समावेश एल्बम ‘नजिक नजिक सर्छन्’ पनि श्रोतामाझ लोकप्रिय रह्यो ।
असारमा रोप्ने धान चैतमा छर्ने मकै
माया गर्ने फकाई फकाई

तिमी हुँदा यो धर्ती स्वर्गजस्तो थियो
तिमीबिना यो धर्ती मसानझंै भयो ।
(शिव हमालसँग युगल)

तिन साल अमेरिका तिन साल चाइना
तिमीजस्तो पाइन म
(इन्द्र जीसीसँग युगल)

यो मोरीको घैटोमा कैले घाम लाउनी हो
(सूर्य विरहीसँग युगल)
तिम्रो दिलमा माया मिसाउन मन लाग्यो
(टंक तिमल्सिनासँग युगल)
सिटी तिम्ले वजाको मिठो
(विर्खे धामीसँग युगल)

तिम्रो मेरो माया बबाल
(सूर्य विरहीसँग युगल)
यि दोहोरी गीतले लक्ष्मीलाई छोटै समयमा नेपाली लोक गायनमा स्थापित गरायो । यति छोटो समयमा यतिका गीत गाउन पाउनु पक्कै पनि सानो कुरा होइन । स्टेज र स्टुडियोमा उनको व्यस्तता बढेको छ । गायनसँगै अभिनयलाई पनि महत्व दिएकी छिन् । आफ्नै गीतमा अभिनय गरेर देखापरेकी लक्ष्मी पछिल्ला दिनहरुमा अरुका गीतमा पनि अभिनय गर्न थालेकी छिन् । प्रशस्त देउडा गीतमा उनको अभिनय देख्न सकिन्छ । विज्ञापनमा पनि उनको अभिनय देखिन्छ । चलचित्र पाश्र्व गायनमा पनि सक्रिय छिन् । ‘गुरुमन्त्र’ नामक चलचत्रिबाट यिनले प्ले व्याक गर्न थालेकी हुन् । यि सबै क्रियाकलापले लक्ष्मीलाई नेपाली कलाकारितामा स्थापित गराएको छ ।
पिता अनन्त आचार्य र माता अमृता आचार्यकी छोरीका रुपमा कैलाली टीकापुरमा जन्मेकी लक्ष्मी अहिले स्नातक पढ्दै छिन् । स्कूले जीवनदेखिनै नाचगान र खेलकुदमा सक्रिय यिनी अहिले पूर्णत व्यवसायिक कलाकार बनिसकेकी छिन् । पश्चिम नेपालमा यिनको राम्रै लोकप्रियता छ । विभिन्न महोत्सवमा यिनी सक्रियता पूर्वक सहभागी हुन्छिन् । कलाकारिताकै लागि भनेर सरकारी जागिर पनि छोडेर आएकी लक्ष्मी अब सम्पूर्ण रुपले कलाकारितामा होमिएकी छिन् । आफूलाई परिमार्जित गर्दै सबै वर्ग तह र तप्काको प्रिय बन्ने अभियानमा उनी सक्रिय छिन् ।