सन्तोष साहुखलले शहीद स्मारक ए डिभिजन लिगमा १०० गोल गर्ने कीर्तिमान बनाएको दिन नेपाल पुलिस र च्यासल युथ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिस र च्यासलले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । नेपाल पुलिसले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन । च्यासलका लागि दुवै गोल सन्तोष साहुखलले नै गरे ।
०६० सालमा थ्री स्टारबाट खेल्दै लिगमा डेब्यु गरेका सन्तोषले त्यही सिजन लिगमा संकटाविरुद्ध पहिलो गोल गरेका थिए ।बुधबार खेलको पाँचौं मिनेटमै नीरकुमार राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । भोला सिलवालको पासमा च्यासलका डिफेण्डर अलर्ट नभएको अवस्थामा निरले गोल गरे । तर अग्रता लामो समय टिकेन ।
१७ औं मिनेटमा सन्तोष साहुखलले च्यासलका लागि बराबरी गोल फर्काए । जारी लिगमा चौथो गोल गर्दै सन्तोषले ए डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बने ।हेमन्त थापा मगरले प्रहार गरेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले बचाउन नसकेपछि सन्तोषले देब्रे खुट्टाले गोल गरे ।४० औं मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई फेरि अग्रता दिलाए । पहिलो हाफको अन्तिममा पुलिस अग्रता बढाउने अवसर गुमायो । पुलिसका नीरकुमार राईको फ्रिकिक क्रस बारमा लागेर फर्केको थियो ।
पहिलो हाफमा पछि परेको च्यासलले दोस्रो हाफको शुरुमै गोल गर्यो । ४९ औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को स्थितिमा पुर्याए । वर्षाका कारण भिजेको मैदानमा त्यसपछि गोल हुन सकेन र खेल बराबरीमै सकियो ।बराबरीपछि पुलिसले ५ खेलबाट ८ र च्यासलले समान खेलबाट ५ अंक जोडेको छ ।