अघिल्लो साता तेक्वान्दो प्रशिक्षण हल पुग्दा आयशा शाक्य पूम्से को अभ्यास गरिरहेकी थिइन्। अर्को कुनामा उनका श्रीमान कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्ट ग्योरुगी का खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका थिए। यसरी श्रीमान प्रशिक्षक र श्रीमती खेलाडीको रूपमा खटिरहँदा उनीहरूका दुई सन्तान घरमै थिए। आयशा र दिपकका छ र दुई वर्षका छोरा छन्। त्यो बेला हामीले आयशालाई प्रशिक्षणको बारेमा सोध्दा जवाफमा उनले भनेकी थिइन्, ‘यो भन्दा अगाडि राष्ट्र र आफ्नो लागि खेलेँ, अब मेरो बच्चाको लागि खेल्छु।’
नभन्दै आयशाले आफ्नो अठोट पुरा गरिन्, १३औं दक्षिण एसियाली खेलकुदमा तेक्वान्दोको स्वर्ण जितेर। २९ वर्ष माथिको पुम्से विधामा र संजिवकुमार ओझासँगको जोडी विधामा उनले स्वर्ण जितेकी हुन्। सोमबार भएको प्रतिस्पर्धामा उनले भारतका प्राजाकितालाई पराजित गर्दै स्वर्ण सुनिश्चित गरिन्। स्वर्ण जितेको क्षण मैदानमै उनले आफ्ना श्रीमान दिपक विष्टलाई अंगालो हालेर रोइन्। दिपक पनि भावुक बने। उनीहरूका दुई सन्तान सो दृश्यको साक्षी बनिरहेका थिए। लगत्तै आयशाले आफ्ना दुई सन्तानलाई बोकिन्। ठूला छोराले आयशालाई ममी ‘कंग्राचुलेसन’ भनेर अंगालो हाले।
‘आफ्नो बच्चाको अगाडि प्रदर्शन गरेर बच्चाकै मुखबाट त्यस्तो सुन्दा यादगार क्षण हुँदोरैछ। मैले गरेँ,अब गरेर देखाउने पालो तिम्रो हो भनेर भन्न मन लाग्नेरैछ,’ आयशाले भनिन्। आफ्ना ६ वर्षिय छोराले पनि खेल्न सुरू गरिसकेको उनले बताइन् । सानो बच्चालाई घरमा छोडेर प्रशिक्षण गर्दा, खेल खेल्दा बच्चाहरूलाई पीडा हुने आफूले महसुस गरेको उनले बताइन्। ‘त्यसैले यो स्वर्ण म मेरो बच्चाहरूको लागि समर्पित गर्न चाहन्छु,’ उनले भनिन्।
आयशाले श्रीमानकै हौसला र प्रेरणाले आज आफूले सफलता चुमेको बताइन्। ‘२०१६कै दक्षिण एसियाली खेलकुदमा दोस्रो स्वर्ण जित्छु भनेकी थिएँ। गर्न सकिँन। उहाँले नै फेरी गर्न सक्छौ भनेर हौसला दिनुभो र आज यो सफलता मिल्यो’ मुसुक्क हाँस्दै आयशाले भनिन्, ‘त्यसैले पनि आज म भावुक भएँ । अर्को सागमा पूम्से विधामा सहभागिता जनाउने उनको धोको छ। आफू भर्खर पूम्सेमा प्रवेश गरेको भन्दै उनले अझ आफ्नो प्रदर्शन बढाएर लैजाने प्रण गरेकी छन्।‘६५ वर्ष पुगेको मान्छेहरुले पनि पूम्से खेलिरहेका छन्। म पनि स्वस्थ्यले भर दिएसम्म बुढो भइञ्जेल खेल्छु,’ उनले भनिन्।
२०१० मा बंगलादेशमा भएको ११औं सागमा आयशा र दिपक दुवैले तेक्वान्दोमा स्वर्ण जितेका थिए। त्यो बेला आयशाले ग्योरूगी (फाइट) मा स्वर्ण जितेकी थिइन्। यसपटक उनले पूम्से र जोडी विधामा स्वर्ण जितेकी हुन्। योसँगै उनले दुई फरक विधामा स्वर्ण जितेर कीर्तिमान बनाएकी छिन्। यसअघि भारतमा भएको १२औं सागमा आयशा रजत पदकमा सिमित थिइन्।
साग अघि उनले यसलाई खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेल हुन सक्ने संकेत गरेकी थिइन् । तर, सोमबार दोहोरो स्वर्ण पदक जितेपछि उनलाई लाग्यो, यो त मेरो अर्को यात्राको सुरुवात हुन सक्छ । ‘यसमा असफल भएको भए अर्को सोच आउन सक्थ्यो,’ उनले हास्दै भनिन्, ‘यो सफलताले त मलाई अझै सफलताका लागि लाग्न भोक जगाइदिए जस्तो भएको छ । उमेर बढ्दै जाँदा पनि खेल्न सकिन्छ भन्नका लागि पुम्से एउटा उत्तम माध्यम हो । उमेर समूहमा पुम्से खेलाइने भएकाले यसले धेरैलाई प्रेरित गरेको छ ।
’विना स्वार्थको मेहनत र तयारीले सफलता मिल्ने उनले अनुभव सुनाइन् । ‘कसैको दबाबमा होइन । मन देखि खेल्नु पर्छ । लक्ष्य बनाएर दृढ संकल्प लिएर तयारी गर्दा सफलता मिल्छ,’ उनले भनिन्, ‘जीवनमा सफलताका लागि केहि व्यक्तिगत केहि कुरा त्याग्नु पर्ने हुन्छ । एउटी आमा भएर २ सन्तानबाट टाढा बस्न सजिलो पक्कै छैन । तर मैले जे गर्छु त्यो उनीहरुको भविष्यका लागि पनि हो भनेर खेलमा लागि रहे ।’पहिलो पटक घरेलु मैदानमा खेलेर स्वर्ण पदक जित्दाको अनुभव नै बेग्लै हुने आयशाले सुनाइन् ।‘बाहिर खेल्दा हामी खेलाडीले एक अर्कालाई हुटिङ गर्ने हो । तर देशमा खेल्दा परिवार, साथीभाई देखि सबै हुने । हौसला नै बढेर आउने,’ उनले भनिन्, घरमा खेल्नुको आनन्द अर्कै हुने । मनोबल उच्च हुने ।’
आयशा र विष्ट परिवारमा अहिले पदक संख्या कुल १३ पुगेको छ । विष्टले ७ पदक जितेका छन् भने आयशाले ६ । अब आयशाको लक्ष्य पुम्सेतर्फ नै करीअर अगाडी बढाउँदै परिवारमा पदक संख्या थप बढाउनु हो । त्यसमा उमेरले कुनै वाधा नआउने उनको बुझाइ छ । ‘ पुम्सेतर्फ विश्व च्याम्पियनसिपमा ६०-६५ वर्षका खेलाडीले सहभागिता मात्र होइन, पदक नै जितेको देखें । यसले पनि मलाई निकै प्रेरणा दियो । म आफैंलाई पनि विश्वास छ की पुम्सेमा म अझै लामो समय खेल्न सक्छु,’ उनले हाँस्दै थपिन्, ‘ के थाहा श्रीमानको पदक संख्या पो तोडिन्छ की ?
‘ओलम्पियन तथा सागमा सर्वाधिक चार स्वर्ण जितेका कीर्तिमानी दीपकका यी पत्नीलाई पुम्सेको राष्ट्रिय टिममा छनोट हुँदा प्रश्न गर्नेहरू पनि थिए । ती सबै ‘शंकालु’प्रति मीठो जवाफ बन्यो उनको दुई स्वर्ण । ‘आमाको रूपमा पुनरागमन गर्दा दबाब थियो, पुरानो आयशा हुन सक्दिनँ कि भन्ने थियो । आज यो स्वर्णले सबै जवाफ दिएकी छु,’ ३२ वर्षीया आयशाले भनिन्, ‘म आफ्नै मिहिनेतले यहाँसम्म आएकी हुँ भन्ने प्रमाणित गर्नु अब अरु केही गर्नुपर्छ जस्तो लाग्दैन ।’
नेपाल तेक्वान्दो संघका सचिव तथा राष्ट्रिय तेक्वान्दो टोलीमा ग्योरोगीतर्फका प्रशिक्षक दीपकले पनि आफ्नो श्रीमती भएकै कारण आयशालाई संरक्षण मिलेको आरोप अस्वीकार गरे । ‘मेरा कारणले मात्र टिममा परेको भए उनले आज दुई स्वर्ण जित्ने थिइनन्, उनले आफ्नो क्षमता प्रस्तुत गरेरै राष्ट्रका लागि पदक जितेकी छिन्,’ दीपकले प्रस्ट पारे ।
व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्नु पूर्व आयशा केही नर्भस देखिन्थिन् । ५ देशका खेलाडी सम्मिलित यस स्पर्धामा उनले प्रदर्शन सुरुमै थियो । १० पूर्णांकमा ७.९४० अंक बनाएर उनले दिएको टार्गेट अरु देशका खेलाडीले तोड्न सकेनन् । यस स्पर्धामा भारतकी प्रजाक्ता प्रकाश एंकोलकरले ७.६४० अंकसहित रजत तथा श्रीलंकाकी गायथ्री सान्दामाली पारावहेरा मेहेन्ची अराचचीगेले ७.५५० र पाकिस्तानकी मेहरू निशाले ७.३६० अंकसहित कांस्य जिते ।
एकलमा स्वर्ण जितेको करिब ४५ मिनेटपछि युगलतर्फ सन्जिवसँगको प्रदर्शन पनि सुरुमै थियो । ८.१६० को स्कोर खडा गरेका उनीहरूलाई अरु चारै देशका टिमले जित्न सकेनन् । पाकिस्तानका मेहरू निशा र शावाज अहमदले ७.८६० अंकसहित रजत जिते । बंगलादेशका दीपुचाकमा र कोउसुम ७.८५० र श्रीलंकाका लक्ष्मामिलान्दारिगे र गायथ्रीले ७.८३० अंकसहित कांस्य जिते ।
नेपाली खेलकुदमा महिला खेलाडीको करिअर विवाहसँगै समाप्त भएका दृष्टान्त धेरै छन् । त्यसमा पनि आमा बनेपछिको समयमा करिअरमा पुनरागमन स्वय महिलाकै लागि निकै ठूलो चुनौती बन्ने गर्छ । यस अर्थमा यो स्वर्ण उनका लागि विशेष रह्यो । स्वर्ण जितेपछि निकै नै भावुक भएकी आयशाको पहिलो प्रतिक्रिया थियो, ‘यो दुई स्वर्ण मेरा दुई छोराका लागि ।’ अर्थात्, ६ वर्षीय आदिश र २ वर्षीय आधारका लागि ।
ग्योरोगीबाट पुम्सेमा परिवर्तन गर्न सहज थिएन । तर इच्छाशक्ति र मिहिनेतले जस्तोसुकै सफलता पछ्याउन पनि कठिन हुँदैन भन्ने आयशाले बुझेकी छन् । ग्योरोगीमा तीव्र गति चाहिन्छ, पुम्सेमा धैर्य अपरिहार्य छ । ग्योरोगीजस्तो किक प्रहार गरेरमा पुम्सेमा जितिँदैन । श्रीमानको साथ र प्रशिक्षकको मार्गदर्शनलाई उनले आफ्नो सफलताको श्रेय मानेकी छन् । नेपाली महिला खेलाडीका लागि उदाहरणीय काम गरेजस्तो उनलाई लागेको छ ।
‘मेरो चाहना सबैको उदाहरणीय बन्ने थियो । आज त्यो दिन आएको जस्तो लागेको छ । जो विवाह र बच्चा भएपछि आफ्नो सबैथोक सकिएजस्तो मानेर घरमा बसिरहनुभएको छ । उहाँहरूलाई तपाईहरू आफूलाई मन लागेको काम गर्नुस्, इच्छा र चाहना भयो भने कसैलाई पनि उमेर र शारीरिक अवस्थाले छेक्दैन भन्न चाहन्छु,’ उनले थपिन् ।
‘त्यतिबेला मैले दुवै प्रतियोगिता हारेको थिएँ । तौल धेरै तर उचाइ कम भएकै कारणले मैले जितिरहेको खेल हार्दा धेरै नै निराशा भएकी थिएँ । त्यसैले अब चाहिँ म सक्दिनँ, अब करिअर सकिए जस्तो भएको थियो,’ उनले भनिन् ।
त्यसको तीन वर्ष आयशा तेक्वान्दोबाट टाढा भइन् । ग्योरोगीमा फर्कन सक्ने सम्भावना देखिनन् । पहिलादेखि नै मन परेको पुम्सेलाई ओलम्पिक मान्यता थिएन । एसियाली खेलकुदलगायत बृहत् प्रतियोगितामा पुम्सेलाई पनि आधिकारिकता दिएपछि आयशाले आफूलाई अर्को अवसर आएको महसुस गरिन् । त्यसको सुरुआत गत वैशाखमा प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदबाट भयो । त्यसको एक महिनाअघिमात्रै उनी प्रशिक्षणमा फर्केकी थिइन् । राष्ट्रिय खेलकुदमा आर्मीलाई आयशाकै उमेरसमूहमा खेल्ने खेलाडीको खाँचो थियो । आर्मीका प्रशिक्षकसमेत रहेका श्रीमान दीपकको प्रस्तावमा उनी विधा परिवर्तन गरी करिअरको ‘सेकेन्ड इनिङ्स’का लागि तयार भइन् । र, स्वर्ण जितिन् पनि ।
सागमा दुई फरक विधाबाट स्वर्ण जितेपछि उनलाई पहिलेभन्दा अहिलेको स्वर्ण स्वादिलो लागेको छ । उनको खुसीमा रमाउने थपिएका छन्, दुई छोराहरू । ‘१२ औं साग २०१६ मा मैले जुन लक्ष्य लिएर भारत गएको थिएँ, त्यो सपना अधुरै रह्यो । दुई छोरा जन्मिएपछि अहिले त्यो स्वर्णको सपना पूरा भएको छ । त्यसैले यो झनै महत्त्वपूर्ण छ,’ ३२ वर्षीया उनले थपिन् ।
दीपकलाई आफ्नो समयमा स्वर्ण जित्नुभन्दा आयशाको अन्तिम प्रदर्शन हेर्न कठिन भयो । ‘मैले लामो करिअर बिताएँ, सागमा ४ वटा स्वर्ण जितें, १२ औं सागमा म उसकै प्रशिक्षक पनि थिएँ,’ उनले भने, ‘तर आजजस्तो कठिन कहिल्यै भएन ।’
दीपकका अनुसार यो सफलताका लागि आयशाले एउटी आमाको रुपमा धेरै त्याग गरेकी छन् । दूधे छोरा छाडेर महिनौं वैदेशिक प्रशिक्षणमा बिताउने बाध्यात्मक परिस्थिति पार गरेकी छन् । यही सागका लागि पनि इन्डोनेसिया र मलेसियाको वैदेशिक प्रशिक्षणबाट फर्किएपछि १० दिनअघि एकपल्ट छोरालाई भेटेका थिए, यी आमाबाबुले ।