नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १३औं दक्षिण एसियाली खेलकुदमा रजत र कास्य पदक जित्ने खेलाडीलाई पनि पुरस्कारको घोषणा गर्न माग गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं सागमा व्यक्तिगतर्फ तीनवटै पदक जित्ने खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेका थिए। । यस्तै टिम इभेन्टमा पनि स्वर्ण जित्ने खेलाडीलाई मात्र नगद पुरस्कार घोषणा गरेका थिए। । तर रजत र कास्य पदक जित्नेलाई भने पछि नै मिलाएर पुरस्कार घोषणा गर्ने जनाएको थियो । त्यसबाट खेलाडीहरु समेत निराश बनेका थिए ।
मंगलबार संघले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कारलाई स्वागत गर्दै बाँकी रहेकालाई पनि पुरस्कार घोषणा गर्नुपर्ने माग राखेको छ । ‘वर्तमान सरकार र खासगरी सम्माननीय प्रधानमन्त्रीज्युले खेलाडीको हौसला अभिवृद्धिका लागि आकर्षक पुरस्कारको घोषणा गर्नुभएको छ । त्यसलाई हामी खेलाडी संघ स्वागत गर्न चाहन्छौं । व्यक्तिगत स्पर्धाका स्वर्ण, रजत र कांस्य विजेता खेलाडीका लागि पुरस्कार घोषणा भएपनि टिम खेलका रजत र कांस्य जित्नेलाई पुरस्कारमा प्रष्ट सम्बोधन नभएकोमा भने हाम्रो ध्यानाकर्षण भएको छ,’ संघका अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा ऐतिहासिक रुपमा साग सफल बनाएको भन्दै अब रजत र कास्य जितको खेलाडीलाई पनि पुरस्कार घोषणा गर्न आग्रह गरिएको छ । ‘ऐतिहासिक रुपमा साग आयोजना गर्नुका साथै खेलाडी र खेलकुदलाई अघि बढाउन महत्वपूर्ण काम गर्दै आएको सरकार तथा राष्ट्रिय खेलकुद परिषदलाई हामी टिम खेलका रजत र कांस्य पदक जित्नेको पुरस्कार पनि तत्काल घोषणा गरेर खेलाडीको मनोबल घट्न नदिन अनुरोध गर्न चाहन्छौं,’ विज्ञप्तिमा लेखिएको छ ।
यसअघि सरकारले घोषणा गरेको पुरस्कार समयमा नपाएको इतिहास रहेकाले अहिले घोषित पुरस्कार पनि समयै उपलब्ध गराउन आग्रह गरिएको छ । संघले भनेको छ, ‘नेपाली खेलकुदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतिक्षा गर्नुपरेका थुप्रै घटना छन् । त्यसैले यसपालि वर्तमान खेल नेतृत्वबाट विगतमा साग सकिएको एक सातामै खेलाडीलाई पुरस्कार दिने घोषणा भएझै तत्काल घोषित रकम उपलब्ध गराउन अनुरोध गर्न चाहन्छौं ।’